कोरोना बीमाको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप्नु पर्ने, मारमा नेपाल रि

  २०७९ कार्तिक १६ गते १५:२५     विकासन्युज

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि सबै कम्पनीहरुले पैसा थप्नुपर्ने भएको छ । सरकारले दिएको रकममा थप रकम थप्नु पर्ने भन्दै बीमा समितिले कम्पनीहरुलाई पत्राचार गर्ने भएको हो ।

त्यसको लागि समितिले कात्तिक १६ गते बुधबार नै प्रत्येक निर्जीवन बीमा कम्पनीलाई पत्र काट्ने तयारी गरिरहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

‘सरकारबाट कोरोना बीमाको एक अर्ब रुपैयाँ आएको छ, त्यसमा थपथाप गर्नुपर्यो भनेर कम्पनीहरुलाई आज पत्राचार गर्दैछौं,’ सिलवालले विकासन्युजसँग भने ।

सरकारले दशैं लगत्तै कोरोना बीमाको दावी भुक्तानीको लागि आफ्नो दायित्व वापतको एक अर्ब रुपैयाँ बीमा समितिमा पठाएको थियो । जुन पैसा हालसम्म पनि वितरण हुन सकेको छैन । सरकारबाट पूर्ण रुपमा रकम निकासा नभएको र पहिलो चरणमा दिएको एक अर्ब रुपैयाँ सबैलाई वितरण गर्न नपुग्ने भएकोले भुक्तानीमा ढिलाई भएको समितिले जनाएको छ ।

सोही कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्न समितिले थप गृहकार्य गरिरहेको छ । जसको लागि कम्पनीसँगै पुनर्बीमा कम्पनी र बीमा समितिले समेत रकम थप्न आवश्यक रहेको र रकम थपथाप गरेपछि भुक्तानी गर्न थालिने अध्यक्ष सिलवाल बताउँछन् ।

कसले कति थप्नुपर्छ ? भन्ने विकासन्युजको प्रश्नमा सिलवालले प्रत्येक कम्पनीहरुले २५ प्रतिशत रकम थप्नु पर्ने बताए ।

‘सरकारले पठाएको पैसामा ५५ प्रतिशत मानेर कम्पनीहरुले २५ प्रतिशत रकम थप्नुपर्छ, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत हाल्नुपर्छ, ८ प्रतिशत पैसा हामी (समिति) हाल्दिन्छौं,’ प्रष्ट पार्दै उनले भने ।

यो अनुसार सबैले पैसा थप्दा सरकारले निकासा गरेको एक अर्बमा थप ८१ करोड रुपैयाँ थपिने समेत सिलवालले बताए । उक्त रकम ‘फष्ट कम फष्ट सर्भिस’ को नीतिअनुसार बीमितलाई वितरण गरिने उनको भनाई छ । सो अनुसार दावी पाउन बाँकी रहेका बीमितहरुमध्ये पहिला दावी गर्नेले भुक्तानी पनि शुरुमै पाउने भएका छन् ।

साथै, यो विषयलाई टुङ्गो लगाउनको लागि समितिले कात्तिक १७ गते बिहीबार सबै कम्पनीहरुसँग बैठक बस्ने तयारी गरिरहेको छ । समितिकाे प्रस्ताव अनुसार जाँदा कम्पनीहरूकाे नाफामा नकारात्मक असर पर्नेछ । सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीलाइ असर गर्नेछ ।

त्यस्तै, समितिले बाँकी रकम यथाशिघ्र निकासा गराउन समेत अर्थमन्त्रालयसँग निरन्तर लबिङ गरिरहेको अध्यक्ष सिलवालले बताए ।

कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी दिएका थिए । त्यसमध्ये ५१ हजार ६६९ जना बीमितले कूल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको दावी भुक्तानी भइसकेको छ । र, बाँकी रहेको एक लाख १३ हजार ३९० जना बीमितलाई १० अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दावी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.