कता हराए पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा ?

<p>काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रका रुपमा चिन्ने धेरै छन् । डा. खतिवडामा शक्तिकेन्द्रलाई प्रभावित पार्न सक्ने खुबी र क्षमता भएको व्यक्तिका रुपमा पनि धेरैले चिन्छन् । त्यसैले पनि उनले धेरै संघर्ष गर्नु पर्दैन । संघर्ष यस मानेमा कि उनले अन्यको जस्तो फिल्डमा मरिमेटी काम गर्नु [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रका रुपमा चिन्ने धेरै छन् । डा. खतिवडामा शक्तिकेन्द्रलाई प्रभावित पार्न सक्ने खुबी र क्षमता भएको व्यक्तिका रुपमा पनि धेरैले चिन्छन् । त्यसैले पनि उनले धेरै संघर्ष गर्नु पर्दैन । संघर्ष यस मानेमा कि उनले अन्यको जस्तो फिल्डमा मरिमेटी काम गर्नु पर्दैन । उनले चाहेको काम वा पद पाउनकै लागि सम्बन्धित निकाय वा व्यक्तिलाई मोहनी लगाउन सक्ने उनमा क्षमता रहेको उनी निकटहरु बताउँछन् ।

माथिका विषयकाे पुष्टि उनले पाएको पद र संघर्षको तुलना गर्दा पनि प्रष्ट पार्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थमन्त्री हुनुले पनि उनको शक्तिकेन्द्रलाई प्रभावित फार्न सक्ने खुवी प्रष्ट हुन्छ । उनको राजनीतिक यात्रा त्यति धेरै लामो छैन । तर, उनले संघर्ष र राजनीतिक हानथापविनै अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय हाँक्ने सुवर्ण अवसर पाए ।

वि.स. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ती गरेको थियो । योजना आयोगको उपाध्यक्षको भूमिका निर्वाह गर्दागर्दै खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर बने । गभर्नरको पदावधी सकिएको केही समयपछि नै खतिवडालाई ०७२ सालमा ओली नेतृत्वको सरकारले पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायो । बामगठबन्धनको तर्फबाट ओलीको नेतृत्वमा सरकार बनेपछि तिनै खतिवडालाई पहिला अर्थमन्त्रीमा नियुक्ति गरेर पछि राष्ट्रपतिमार्फत् राष्ट्रिय सभा सदस्यको सपथ ग्रहण गराइयो ।

राजनीतिक पृष्ठभूमी नभएको व्यक्ति नेपाल सरकारको अर्थमन्त्री भएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी भित्र एक किसिमको मतभेद पनि सिर्जना भएको थियो । तर, उनी ओलीले रुचाइएको पात्र भएकै कारण पदमा टिकिरहे । पछि संवैधानिक रुपमा अर्थमन्त्रीमा रहिरहन नसक्ने अवस्था भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाए । त्यसलगत्तै उनलाई फेरि अमेरिकाको राजदुत बनाए । नेपाल सरकारको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री भई ७औं मर्यादा क्रममा रहेर काम गरिसकेका खतिवडा १२ औं मर्यादा क्रमको राजदूूतमा सिफारिस हुँदा धेरैले आश्चर्य मात्र मानेन् डा. खतिवडा पदकै लागि जे र जस्तो पनि गर्न सक्ने रहेछन् भन्ने स्वयम् उनैले पुष्टि गरे ।

हुनत त्यस अघि पनि उनी पदकै लागि कुनै मर्यादा क्रम नहेर्ने व्यक्तिका रुपमा परिचित भइसकेका थिए । नेपाल सरकारको अर्थमन्त्रीबाट बाहिरिएको १० दिनमै उनी मन्त्रीसरहको सेवा र सुविधा पाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहाकार नियुक्त हुँदा मात्र होइन ८ औं मर्यादा क्रममा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेकोे व्यक्ति नेपाल राष्ट्रबैंकको ११ औं मर्यादा क्रममा नियुक्त भएर काम गर्नुले पनि उनी पदकै लागि कतिसम्म गर्छन् भन्ने कूरा पनि विगतका विभिन्न घटना क्रमहरूले पनि उनलाई प्रष्ट्याइसकेको थियो । अर्थमन्त्रीबाट राजीनामा दिएको २७ दिनपछि उनी फेरि अमेरिकाकोे राजदुुतमा सिफारिस भए । जुन नेपाल सरकारको मर्यादाक्रममा १२औं नम्बरमा पर्छ । जुन उनी नेतृतवमा रहेको मर्यादा क्रमको हालसम्मको तलको मर्यादाक्रम हो ।

अध्यक्ष ओलीका विश्वासपात्र हुनु नै खतिवडाका लागि एकपछि अर्को महत्वपूर्ण पद सुरक्षित हुने आधार भएको धेरैको बुझाइ छ । अहिले देश चुनावी माहोलमा होमिएको छ । नेताहरु जनताको घरदैलोमा व्यस्त छन् । जित आफ्नो पक्षमा पार्नका लागि नेताहरुले आफ्नो एजेण्डा लिएर जनतामाझ जान थालिसकेका छन् । तर, अर्थमन्त्री समेत भइसकेका एमालेका नेता डा.खतिवडा अहिले गुपचुप छन् ।

एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकमा सिट बाँडफाँड पनि गरिसकेको छ । एमालेमा कतिपय चर्चित अनुहारले पनि टिकट पाएका छैनन् भने कतिपय समानुपातिकमा परेका छन् । तर, पूर्व अर्थमन्त्री खतिवडाको नाम न प्रत्यक्षमा नत समानुपातिकमा । निर्वाचनमा आम जनतामा जाने, चुनौती मोल्ने र संघर्ष गर्ने विषय बिना नै लाभको पद पाउने शुनिश्चित भएपछि खतिवडाले उम्मेद्वारीको रुपमा आफूलाई अगाडि बढाउन नखोजेको एमाले स्रोत बताउँछ ।

एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० जनाको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ । त्यस्तै एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३९ स्थानमा उम्मेद्वारी दिएको छ । लामो समयदेखि राज्यको विभिन्न निकायको उच्च तहमा एमालेको तर्फबाट नियुक्ति भएर लाभ लिँदै आएका खतिवडा आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुन चाहेनन् वा उनलाई एमालेले उम्मेद्वार बनाएन ? उनी न कुनै नेताको उम्मेदवारी दर्तामा देखिएका छन् नत कुनै जनताको घरदैलोमा व्यस्त देखिन्छन् । आखिर कता हराए डा. युवराज खतिवडा ?

Share News