सेबोनले २ वटा वस्तु विनिमय बजार सञ्चालन गर्न दिने, आवेदन माग

  २०७९ असोज २ गते ८:५८     विकासन्युज

काठमाडौं । वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निवेदन खुला गरेको छ । सेबोनले आइतबार एक सूचना प्रकाशन गरी वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्ने बताएको हो ।

मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षण समेतलाई दृष्टिगत गरी हाललाई दुईवटा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति दिने बोर्डले बताएको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्ने उद्देश्यले कानून बमोजिम सीमित दायित्वको संगठित संस्था संस्थापना गर्नु अघि बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था रहेको सेबोनले जनाएको छ ।

वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुर्याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरता कायम गर्न, लगानीकर्ताहरूलाई लगानीको वैकल्पिक उपकरण प्रदान गर्ने लगायतका उद्देश्यले लगानीकर्ता मैत्री, प्रतिस्पर्धात्मक एवं अन्तार्राष्ट्रिय स्तरको प्रविधि र क्षमतायुक्त वस्तु विनिमय बजार सञ्चालन गर्न आवश्यक भएको सेबोनले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४, वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ र वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ बमोजिम ४५ दिनभित्र निवेदन पेस गर्न बोर्डले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.