बीमा कम्पनीका क्रस होल्डरले लघु बीमामा लगानी गर्न नपाउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर

  २०७९ भदौ ७ गते १४:०१     विकासन्युज

काठमाडौं । लामो प्रयासपछि बीमा समितिले लघु बीमाको लाइसेन्स खुला गर्ने भएको छ । समितिले ‘लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९’ जारी गर्दै लघु बीमा व्यवसायको लागि लाइसेन्स खुलाउने प्रकृया अघि बढाएको हो ।

यो निर्देशिका गत साउन ३१ गते बसेको समितिको सञ्चालक समितिले स्वीकृत गरेको हो । जुन तत्काल लागू हुने समितिले जानकारी गराएको छ ।

उक्त निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्ता पुँजी समितिले तोके बमोजिमको हुने बताइएको छ । तर, समितिले चुक्ता पुँजी कति हुनुपर्छ भनेर हालसम्म तोकेको छैन । र, लघुबीमाको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनु पर्ने छ ।  साथै, चुक्ता पुँजीको संरचनामा संस्थापक समूहको कम्तीमा ५१ प्रतिशत र सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको कम्तीमा ३० प्रतिशत हुनु पर्ने व्यवस्था छ । साथै, कर्मचारीलाई चुक्ता पुँजीको ५ प्रतिशतसम्म छुट्याउनु पर्ने उक्त निर्देशिका उल्लेख छ ।

प्रस्तावकले लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्ने गरी छुट्टाछुटै आवेदन दिनु पर्ने छ । यदि संस्थापकले कुनै बीमा कम्पनीमा लगानी गरेको भए उक्त कम्पनीको नाम, लगानीको प्रतिशत र सञ्चालन समितिमा प्रतिनिधित्व गरिरहेको भए सो समेत खुलाउनु पर्ने छ ।

प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न नपाउने व्यवस्था छ ।

लघुबीमा कम्पनी खोल्नु अघि कम्पनीले बीमा समितिबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि मात्रै कानून बमोजिम दर्ता गर्नको लागि निवेदन दिनुपर्ने हुन्छ । सो निवेदन दिँदा कम्पनीले आफ्नो उद्देश्यहरु खुलाउनु पर्ने छ । इच्छकले दुर्गम, ग्रामीण लगायत न्यून आय भएका समुदायलाई लक्षित गरी उनीहरुलाई सहुलियत दरमा लघुबीमा सेवा दिनुपर्ने छ । न्यून आय भएका परिवारको पहिचान गर्न स्पष्ट मापदण्ड तयार गरिनु पर्ने समेत समितिले जनाएको छ ।

लघु उद्यमशीलताको विकास गर्नको लागि स्थापित निकायहरुसँग समन्वय गरी लक्षित वर्षको सम्पत्ति तथा जीवनमा आइपर्ने जोखिमको सुरक्षा गर्ने गरी बीमालेख जारी गर्नुपर्ने छ । लघुबीमा कम्पनीले स्थानीय स्तरमा विद्यमान सामुदायिक संस्था, बचत तथा ऋण सहकारी लघुवित्त कारोबारमा संलग्न संस्थाहरुसँग आवद्ध जनतालाई समेट्ने गरी लघुबीमाका बीमालेख बिक्री गर्नुपर्ने छ ।

के-के कागजात पेश गर्नु पर्छ ?

इच्छुकले प्रस्तावित प्रबन्धपत्र र नियमावली, सम्भावयता अध्ययन प्रतिवेदन, संस्थापकको व्यक्तिगत विवरण, संस्थापक कालो सूचीमा नरहेको वा कालोसूचीबाट हटेको तीन वर्ष पुरा भएको कागजात पेश गर्नुपर्ने छ ।

त्यस्तै, संस्थापकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको कर्मचारी सेवा शर्त, बीमाशुल्क निर्धारण गर्ने आधारहरु, बीमा जोखिमांकन, ग्राहक सेवा, बीमा दावी भुक्तानी र बजार प्रवद्र्धन लगायतको विवरणहरु पेश गर्नुपर्ने छ । त्यसैगरी, कम्पनीको संस्थापकमध्ये कम्तीमा एक तिहाईले स्नातक तहको पास गरेको हुनुपर्ने छ ।

यसरी गरिन्छ मूल्याङ्कन 
समितिले दर्ता हुन आउने कम्पनीको मूल्याङ्कन विभिन्न आधारमा गर्ने छ । जसमा लघुबीमा व्यवसाय गर्ने सम्बन्धमा विश्लेषणसहितको व्यवसायिक कार्ययोजना, विदेशी लघुबीमा कम्पनीसँगैको साझेदारीमा व्यवसाय गर्ने, प्रडक्ट डिजाईन तथा व्यवसाय विकाससँगै संस्थागत लगानी र लघुबीमा व्यवसायसँग सम्बन्धित आवश्यक विविध पक्षलाई मुल्यांकन गरिने समितिले जनाएको छ ।

यस्तो छ निर्देशिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.