शिखर, सगरमाथा र नेकोबीच बीमाशुल्कमा प्रतिस्पर्धा, पछ्याउँदै राष्ट्रिय बीमा र सिद्धार्थ

  २०७९ साउन २६ गते १८:१५     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । विभिन्न सूचकमा एक आपसमा प्रतिस्पर्धी देखिएका यी कम्पनी बीमाशुल्क आर्जनमा पनि प्रतिस्पर्धीको रुपमा देखिएका हुन् ।

बीमा समितिको २०७९ असार मसान्तसम्मको तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ३९ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले २७ लाख ८८ हजार १८ वटा बीमा पोलिसी जारी गरी सो मात्राको प्रिमियम उठाएका हुन् ।

जसमध्ये सबैभन्दा बढी संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । समीक्षा अवधिमा शिखरले ५ अर्ब रुपैयाँ बढीको प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ८५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । र, क्रमशः दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

बीमाशुल्क आर्जनमा चौथो र पाँचौ स्थानमा राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ इन्स्योरेन्सबीच दह्रो टक्कर देखिन्छ । यी कम्पनीले क्रमशः २ अर्ब ६४ करोड र २ अर्ब ६१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

समितिका अनुसार अधिकांश कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । तर दुई कम्पनीको भने एक अर्बभन्दा कम बीमाशुल्क रहेको छ । जसमा नेशनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले क्रमशः ९० करोड ६६ लाख र ९० करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.