सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’ तयार, लगानीकर्ताका सुझावपछि मात्रै लागू गर्ने

  २०७९ साउन २६ गते ९:३०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ । बोर्डका अनुसार सेयर रोक्का सम्बन्धी निर्देशिका तयार भएर अब त्यसको अन्तिम रुप दिन बाँकी छ ।

बोर्डका प्रवक्ता रुपेश केशीले मर्जर तथा प्राप्तिको समयमा हुने सेयर कारोबार रोक्काको बारेमा बन्न लागेको नयाँ निदेशिका अन्तिम चरणमा पुगेको बताए ।

‘हाम्रो टोलीले यसमा काम गरिरहेको छ, अब फाइनलाइज्ड गर्ने क्रममा छौं,’ उनले विकासन्युजसँग भने । तर, यसलाई लागू गर्नुभन्दा अघि विज्ञ लगानीकर्ताको राय सुझाव लिने तयारीमा पनि बोर्ड रहेको छ ।

‘अब कारोबार कति दिन रोक्का गर्ने, कहिलेदेखि खुला गर्ने भन्नु भन्दा पनि यता लगानीकर्तालाई अफ्ठ्यारो पनि नपरोस्, कारोबार खोल्दा लगानीकर्तालाई भोलि मर्का पनि नपरोस् भन्ने हिसावले उहाँहरुसँग राय सुझाव लिने क्रममा छौं,’ उनले भने ।

बोर्डका अध्यक्ष रमेश कुमार हमालले भनेको समयमा भने बोर्डले उक्त निर्देशिका ल्याउन सकेन । अध्यक्ष हमालले गत साउन १२ गते बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्का सम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताएका थिए ।

‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, दुई सातामा लागू गर्छौं, यसमा विभिन्न विषयहरु हेर्नुपर्ने भएकाले यसमा हतार गर्नु हुँदैन,’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भनेका थिए ।

हाल निर्देशिका अन्तिम चरणमा रहेको भनिएपनि अब लगानीकर्ताहरुसँग राय सुझाव लिने भएपछि थप समय लम्बिने बुझिन्छ । तर, बोर्डका प्रवक्ता भने त्यति लामो समय नलाग्ने बताउँछन् ।

‘अब चाँडै नै हामीले हाम्रो भर्सनमा लगानीकर्ताको राय सुझाव लिन्छौं, सम्भवत ५/७ दिनमा उहाँहरुबाट सुझाव आउला, राम्रो सुझाव आयो भने त्यसलाई एड्रेस गरेर अघि बढ्छौं, धेरै समय नलाग्ला,’ उनले थप प्रष्ट पार्दै भने ।

लगानीकर्तासँग सम्बन्धित नै विषय भएको हुनाले अहिले हतारमा ल्याउनु भन्दा दीर्घकालसम्म लगानीकर्ताको हित हुने हिसाबले ल्याउँदा सबै सरोकारवालाहरुलाई फाइदा हुने उनको भनाइ छ ।

यो विषयमा लगानीकर्तासँग राय सुझाव लिने भनेको बोर्डले हालसम्म कुन मोडालिटीबाट सुझाव लिने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन । सम्भवतः कुनै कार्यक्रम मार्फतभन्दा पनि सूचना निकालेरै लगानीकर्ताबाट सुझाव लिने सम्भावना धेरै रहेको प्रवक्ता केशी बताउँछन् ।

अध्यक्ष हमालले पनि अब केही दिनभित्रै निर्देशिका जारी हुने बताए । अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारी भइरहेको बताउँदै उनले २/३ दिनभित्रै निर्देशिका सार्वजनिक हुने बताए ।

‘अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारीमा छौं, भोलि वा पर्सी सर्वसाधारणको सुझावको लागि निर्देशिकाको ड्राफ्ट सार्वजनिक गर्छौं, उहाँहरुको सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिन्छौं,’ उनले विकासन्युजसँग भने ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै त्यसको सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो ।

‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै बोर्डले सेयर कारोबार रोक्का सम्बन्धीको टोली बनाएको हो । जसमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.