प्रिमियममा आईपीओ जारी गर्दै एक दर्जन कम्पनी, कुनको मूल्य कति ?

  २०७९ साउन १० गते १४:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनी धितोपत्र बजारमा आकर्षित हुन थालेका छन् । त्यसमा पनि अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम थपेर बजारमा आईपीओ जारी गर्ने कम्पनीको संख्या तुलनात्मक रूपमा बढ्दो छ ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) मा हालसम्म विभिन्न ३१ कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति मागेका छन् । जसमा विभिन्न ३ कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएका छन् । अधिकांश कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरेपनि सेवोनमा भने ३ कम्पनीले मात्रै अनुमति मागेका हुन् ।

सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग, घोराही सिमेन्ट, नेपाल विद्युत प्राधिकरण, सोनापुर मिनरल्स एण्ड आयल, हिमालयन रि इन्स्योरेन्स, कान्तिपुर टेलिभिजन नेटवर्क प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा छन् । बीमा क्षेत्रका आईपीओ निष्काशन गर्न बाँकी रहेका विभिन्न ५ कम्पनी पनि प्रियिमयमा निष्काशन गर्ने तयारीमा छन् । बीमा कम्पनीहरुमा आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफको आईपीओ आउन बाँकी छ ।

रिलायबल नेपाल लाइफले भने प्रिमियममा आईपीओ निष्काशन गर्नका लागि अनुमति माग्दै सेवोनमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा सेयर निष्काशनको अनुमति मागेको छ । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कानश गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यस्तै, सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न असार २८ गते सेवोनमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा योग्य संस्थापक लगानीकर्ताहरुले न्यूनतम ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

यता रिलायन्स स्पीनिङ्गले पनि बुक बिल्डिङ्ग मार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गर्न सेवोनसँग अनुमति मागेको छ । यदि कम्पनीले अनुमति पायो भने योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य भित्रर रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यस्तै, घोराही सिमेन्टले पनि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारी गरिहरेको छ । कम्पनीले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको उक्त सेयरको प्रिमियम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्तालाई प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा निष्काशन गर्नेछ । तर कम्पनीले हालसम्म सेवोनको अनुमतिका लागि आवेदन दिएको छैन् ।

नेपाल विद्युत प्राधिकरणले पनि प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्राधिकरणलाई प्रिमियममा सेयर जारी गर्ने व्यवस्था गरेको थियो । सम्भवतः प्राधिकरणको चुक्ता पूँजीको ३० प्रतिशत सेयर निष्काशन गर्ने तयारी छ ।

सोनापुर मिनरल्स एण्ड आयलले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ करोड कित्ता सेयर निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित सोनापुर पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो ।

त्यस्तै, हालै मात्र सञ्चालमा आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीले पनि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाले नै प्रिमियम मूल्यमा सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ ।

त्यस्तै, कान्तिपुर टेलिभिजन नेटवर्कले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले १ सय रुपयैयाँ अंकित मूल्य दरमा प्रिमियम मूल्य थप गरेर ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

हालसम्म अरुण भ्याली, शिवम् सिमेन्ट, रुरु जलविद्युत परियोजना लगायतका कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरिसकेका छन् भने विभिन्न कम्पनीले प्रिमियम मूल्यमा एफपीओ पनि जारी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.