नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका कर्मचारीको हैसियत बराबर, जागिर छोड्न चाहनेलाई भिआरएस सुविधा

  २०७९ असार १६ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका कर्मचारीको हैसियत बराबर हुने सहमति भएको छ । दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएसँगै बैंकका कर्मचारीको पदीय हैसियत पनि बराबर हुने सहमति भएकाे हाे ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।

स्वाप रेसियाे तलमाथि भएपनि दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत भने समान हुने बताइएको छ । मेगा बैंकका सञ्चालक तथा मर्जर समितिका सदस्य गोपाल खनालले दुवै बैंकका कर्मचारीको सेवा सुविधा यसअघिकै हुने र पदीय हैसियत पनि बराबर हुने बताए । दुई बैंकबीच कर्मचारीको समायोजनको विषय खासै समस्या नरहेको उनको भनाइ छ ।

‘अहिले कर्मचारीको जुन सेवा सुविधा र पद छ त्यसैलाई कायमै राख्ने सहमति भएको छ, हामीले स्ववेच्छिक अवकास प्याकेज (भिआरएस) सुविधा पनि ल्याउँछौं, काम छोड्न चाहनेहरुलाई पनि सो सुविधाले सहज हुन्छ, अन्य बैंकहरुमा देखिएको जस्तो विवाद हाम्रोमा छैन,’ खनालले विकासन्युजसँग भने ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे र सीईओमा ज्योति पाण्डे हुने भएका छन् । त्यस्तै, वरिष्ठ डेपुटी सीईओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् ।

त्यस्तै, आगामी ६ महिनाभित्रमा एकीकृत कारोबार सक्ने गरी मर्जर प्रकृया अघि बढाइने बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि हिमालयन बैंकसँग मर्जमा जाने प्रकृया अघि बढाएको थियो । तर उक्त सम्झौता भाडिएर हिमालयनसँग डिमर्ज भएपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको सम्झौता गरेको हो ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब रुपैयाँ हुनेछ ।

4 comments on "नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका कर्मचारीको हैसियत बराबर, जागिर छोड्न चाहनेलाई भिआरएस सुविधा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.