निक्षेपका नाममा कमिसनको चक्कर, बार्गेनिङमै बित्छ बैंकका सीईओहरूको समय

  २०७९ असार १५ गते १६:५७     सन्तोष रोकाया

काठमाडौं । गत शुक्रबार एक संस्थाका कार्यकारी निर्देशक निक्षेपको विषयमा कुरा गर्न एक वाणिज्य बैंकमा पुगे । उनले आफुसँग भएको निक्षेप राख्ने विषयमा सो बैंकको प्रमुख कार्यकारी अधिकृतसँग लामै छलफल गरे ।

अहिले तरलताको अभाव भइरहेको बेला बैंकका सीईओले पनि सो संस्थाको निक्षेप आफ्नो बैंकमा राख्नका लागि उनीसँग निकै आग्रह गरे । उनीहरूबीच निक्षेप राख्ने र निक्षेपमा पाइने ब्याजदरको विषयमा पनि कुरा मिल्यो ।

तर, अन्तिममा निक्षेप राख्ने भनेर बैंकमा पुगेका सो संस्थाका कार्यकारी निर्देशकले बैंकसँग निक्षेप राखेवापत ठूलो कमिसन मागे । बैंकका सीईओले उनले मागे जति कमिसन दिन नसक्ने भनेपछि सो बैंकमा निक्षेप नराख्ने भन्दै ती कार्यकारी निर्देशक बैंकबाट बाहिरिए ।

स्रोतका अनुसार ती व्यक्ति बचतकर्ताको रकम राख्ने एक संस्थाका प्रमुख हुन् । उनले पछिल्लो समय विभिन्न बैंकमा गएर निक्षेप वापतको कमिसन पाउनु पर्ने बार्गेनिङ सीईओहरुसँग गरिरहेका छन् ।

बैंकहरूले तरलताको समस्या खेपिरहेका बेला अहिले विभिन्न व्यक्तिहरु बैंकमा आएर यति रकम निक्षेप दिन्छु कमिसन कति पाइन्छ भन्ने लगायतको बार्गेनिङको विषयले वाणिज्य बैंकहरुमा तरंग छाएको छ ।

एक वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतका अनुसार अहिले अधिंकाश बैंकका सीईओ तथा डीसीईओहरुको समय उनीहरुसँग बार्गेनिङमै बित्ने गरेको छ । बार्गेनिङका लागि बैंक पुग्ने मात्रै होइन बैंकका सीईओ तथा डीसीईओहरु पनि संस्थागत निक्षेपकर्ताको मै पुगेर निक्षेप दिन आग्रह गरिरहेका छन् ।

‘निक्षेप राख्छु कति कमिसन पाइन्छ भन्ने व्यक्तिहरुको आवतजावत बैंकमा धेरै छ, खासगरी त्यस्तो बार्गेनिङ गर्ने संस्थागत निक्षेपकर्ताहरु नै बढी छन्, ब्याजदर कति पाइन्छ भन्दा पनि कमिसन कति पाइन्छ भन्ने विषयमा उनीहरु बढी बहस गर्छन्,’ एक बैंकका डीसीईओले भने ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्न निर्देशन दिइरहेको बेला बैंकहरूबीच निक्षेप बढाउने र कर्जा कम गर्ने रणनीतिमा लागेका छन् । राष्ट्र बैंकले नै बैंकहरुलाई अब कर्जा नबढाउन मौखिक निर्देशन दिइसकेको छ ।

‘राष्ट्र बैंकले नाफा र कर्जा नबढाउनु साउनदेखि नियमन कडा हुन्छ भनेर मौखिक निर्देशन दिइसकेको छ, अहिले बैंकहरु जसरी भएपनि असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गरी सक्ने रणनीतिमा लागिरहेका छन्, त्यसैले पनि कमिसन दिएर भएपनि निक्षेप भित्र्याउने प्रतिस्पर्धामा बैंकहरु छन्,’ उनले भने ।

राष्ट्र बैंकले अहिले बैंकहरुलाई कर्जा लगानीमै कडाइ गरेको छ । बैंकहरूलाई पुरानो ऋण असुलीमा पनि कठिनाइ भइरहेको छ ।

‘अहिले पुरानो ऋण पनि उठिरहेको छैन, ऋणीहरू पनि ऋण तथा सावाँ ब्याज नै तिर्न मानिरहेका छैनन्, यसले समस्या बैंकमा भइरहेको छ, निक्षेप पनि पाइँदैन, भएकाहरुले पनि ठूलै कमिसन माग गर्दा बैंकहरुलाई दबाब सिर्जना भएको छ,’ ती डीसीईओले भने ।

नेपाल राष्ट्र बैंकका अनुसार असार १३ गतेसम्म वाणिज्य बैंकमा कुल ४४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४१ अर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । १३ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८९.२६ प्रतिशत कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.