काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउनुकाे विभिन्न कारण देखाएकाे छ । नेपाल आयल निगमले सोमबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी पेट्राेलियम पदार्थकाे मूल्य अन्तर्राष्ट्रिय रुपमै बढेकाे, स्वचालित मूल्य प्रणाली अवलम्बन लगायतका कारणले उच्च रूपमा मूल्य बढाएकाे बताएकाे हाे ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निरन्तर ठूलो घाटामा गएकाले मूल्य समायोजनमा जानुपर्ने कारणले एकैपटक बढाउनुपर्ने बाध्यता आएकाे बताए ।
उनले पछिल्लो मूल्यवृद्धि पछि पनि निगमको मासिक अझै ४ अर्ब ८१ करोड घाटा हुने बताए । उनले पछिल्लो मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर १३.५१, डिजेलमा १६.९५ र एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने धारणा राखे ।
यस्तै, उनले निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्यमा बिक्री गर्ने बताए । ‘अहिले पनि पेट्रोल, डिजल र मट्टितेलमा निगमले घाटा बेहोर्दै उपभोक्तालाई बिक्री गरिरहेको छ, साउनदेखि परल मूल्यमै बिक्री हुन्छ, उद्याेगी र घरायसी प्रयाेगकाे ग्यासकाे मूल्य पनि फरक हुनेछ,’ उनले भने ।