काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । देउवाले आइतबार फोन मार्फत अधिकारीलाई सो निर्देशन दिएका हुन् ।
लगानीकर्ताले पुँजीबजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराए लगत्तै प्रधानमन्त्री देउवाले गर्भनर अधिकारीलाई फोन गरेका हुन् । लगानीकर्ताको अबस्था गम्भीर भैसकेको भन्दै प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुको माग तुरुन्त सम्बोधन गरिदिन गर्भनरलाई फोनबाटै निर्देशन दिएका हुन् । साथै, लगानीकर्ताहरु फलोअपको लागी जेठ २३ गते नेपाल राष्ट्र बैंक जाने समेत गर्भनरलाई जानकारी गराए ।
नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र सदस्यहरुले प्रधानमन्त्री देउवालाई भेटी पछिल्लो सेयर बजारको अवस्था, सेयर बजारमा परेको दवाव, ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी लगायतको बारेमा अवगत गराएका थिए ।
संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले बजार सुधारका लागि ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गरिनुपर्ने माग छ ।

त्यस्तै, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडीमा नै कायम गर्न माग गरेका छन् ।
त्यसैगरी, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्न लगानीकर्ताको माग छ ।
र, पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत लगानीकर्ताको माग छ ।