यस्तो बन्नेछन् नगरकोषले बनाउने बहुतले १५ पार्किङ, ५ करोड बढी खर्च हुने अनुमान

  २०७८ माघ ११ गते १०:५४     राजिव न्याैपाने

काठमाडौं । नगर विकास कोषले काठमाडौं उपत्यका बहुतले मेकानिकल पार्किङ निर्माणमा ९० प्रतिशत लगानी गर्ने भएको छ । जसमध्ये १० प्रतिशत लगानी सम्बन्धित स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूले गर्नुपर्ने कोषले जनाएको छ ।

उपत्यका भित्र सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्नको लागि उक्त पार्किङ बनाउने योजना कोषले अगाडि सारेको नगर विकास कोष आयोजना विकास महाशाखाका प्रमुख राजेश कुमार भोछिभोयाले बताए ।

उनका अनुसार सो पार्किङ निर्माण गर्नको लागि सम्झौता र टेन्डर भएपछि मात्र निर्माण सुरु भएर लागेको खर्च अनुसार रकम उपलब्ध हुनेछ ।

पार्किङ निर्माण गर्नको लागि ८ प्रतिशत व्याज दरले कुल लगानीको ९० प्रतिशत रकम कोषले दिने भएको हो । ठाउँ अनुसार फरकफरक पार्किङ बन्ने पनि भोछिभोयाले जनाए ।

‘हाल कुनै पनि संस्था वा निजी क्षेत्रले प्रस्ताव पेश गरेका छैनन्, प्रस्ताव पेश भएर सबै नियम पुरा भई निर्माण कार्य सुरु भएपछि लागेको खर्च अनुसार रकम उपलब्ध गराउँदै जान्छौं,’ उनले भने ।

९० प्रतिशत लोन पार्किङ निर्माण सम्पन्न भएको १८ वर्ष भित्र चुक्ता गरी सक्नु पर्ने नगर विकास कोषले जनाएको छ । कोषका अनुसार उपत्यका भित्र बहुतले मेकानिकल पार्किङ बनाउनका लागि एक वर्ष अगाडिबाट योजना बनाएको थियो ।

पार्किङ निर्माणको काम छिटो हुन्छ भनेर इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी सम्झौता) बाट कोषले काम अगाडि बढाउने भएको छ । पार्किङ निर्माण डिजाइन सम्बन्धित संस्थाले नै गर्नुपर्ने भोछिभोयाले बताए ।

‘लगानी गर्नको लागि कोषलाई कुनै पनि समस्या छैन, योजना आयो भने ठाउँ र जग्गा हेरेर काम अगाडि बढ्ने छ, पार्किङ बनाउनको लागि सबै भन्दा बढी इच्छुक हुने नगरपालिका हुन्, नगरपालिकासँग पर्याप्त जग्गा छैन, उपत्यका भित्र जग्गाको समस्याका छ, यसको कारणले केही समस्या छन्,’ उनले भने ।

पार्किङ निर्माण आवश्यक सामानहरू बाहिरबाट मगाउनु पर्छ, पार्किङ निर्माणको आवश्यक सामाग्रीहरु निर्माण गर्ने कम्पनीले नै जुटाउनु पर्ने र बाहिरबाट समान ल्याउँदा भन्सार छुट गर्न नसक्ने, पार्किङ निर्माणको लागि अनुदान रकम मात्र कोषले दिने जनाएको छ ।

‘उपत्यका भित्र सवारीको चाप बढ्दो छ, पार्किङ गर्ने कुनै पनि स्थान छैन, खुला ठाउँमा पार्किङ गरेर धेरै मानिसहरू हिँड्छन्, पार्किङ नहुँदा सवारीको चापले जाम हुने गरेको छ, यस्तो अवस्था भएकाले पार्किङ निर्माणको अवधारण कोषले ल्याएको भोछिभोयाले,’ विकासन्युजलाई भने ।

पार्किङको निर्माण सुरु भएको एक वर्ष भित्र सकिसक्नु पर्ने पनि कोषले जनाएको छ । पार्किङ निर्माण भएपछि निश्चित शुल्क पनि लाग्नेछ । पार्किङ निर्माणको लागि नेपाल सरकारको नियम पुरा गरी निजी क्षेत्र, स्थानीय तह र संघसंस्थाले कस्तो तरिकाले काम गर्ने भनेर नियम पनि कोषले बनाएको भोछिभोयाले जनाए ।

सरकारसँग मिलेर नगर विकास कोषले यो काम अगाडि बढाएको हो । कोषले पार्किङ बनाउने कुरामा अर्थमन्त्रालयमा छलफल गरेको छ, यो पार्किङ निर्माण गर्नको लागी सरकारले नै कोषलाई अनुदान स्वरुप रकम दिएर काम सुरु गर्ने भएका हौं,’ उनले भने ।

पार्किङ निर्माणको आवश्यक तयारी गरे पछि नगर विकास कोषलाई पनि सरकारले अनुदान स्वरुप रकम दिने छ । उक्त दिएको लोन कोषले उपत्यका भित्र पार्किङ निर्माण गर्नको लागि खर्च गर्न लागेका हो । बहुतले मेकानिकल पार्किङ निर्माणको लागि सहरी विकास मन्त्रालयले सहयोग गर्ने भएको भोछिभोयाले जनाए ।

कोषले २०७८ माघ १० गते बहुतले मेकानिकल पार्किङ आयोजनामा लगानीका लागि प्रस्ताव आह्वान गरेको थियो । कोषले एक सूचना जारी गर्दै कम्तीमा ८ आना भन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरेको छ ।

कोषले थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार लगायतका ठाउँहरुमा पार्किङ बन्नेछ ।

यस्तै, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ ।

त्यसका लागि इच्छुकले लिखित कागजातहरुसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ । कोषले प्रस्ताव पेश गर्नको लागि आव्हान गरेको ४ दिन भएको छ ।

सो दिन भित्रमा ४ वटा निजी क्षेत्र र भक्तपुर नगरपालिकाबाट पनि पार्किङ बनाउने कुरा आएको राजेश कुमार भोछिभोयाले बताए । उनका अनुसार कोषमा बहुतल्ले मेकानिकल पार्किङ मात्र आएका छ, तर प्रस्ताव भने पेश भएको छैन ।

उपत्यकामा १५ वटा पार्किङ

काठमाडौं उपत्यका भित्र मात्रै ५ करोड रुपैयाँ बजेट बराबरको १५ वटा पार्किङ बनाउने योजना कोषको योजना रहेको भोछिभोयाले बताए । सूचनामा उल्लेखित स्थानमध्ये १५ वटा पार्किङ कोषले निर्माण गर्न लागेको हो ।

भोछिभोयाले अनुसार एक वटा पार्किङ ६० वटा गाडी र ३० वटा मोटरसाइकल अट्न सक्ने क्षमताको हुनेछ ।

उपत्यका बाहिरका स्थानीय तहले पनि पार्किङ बनाउनको लागि कोषमा प्रस्ताव पेश गर्न सक्ने भोछिभोयाले बताए । उनका अनुसार पार्किङ मात्र नभई सिटिहल लगायतका पूर्वाधारका सबै काममा नगरका विकास कोषले रकम दिने छ ।

हाल कोषले बनेपा, बुटवल उपमहानगरपालिकामा पनि पार्किङ निर्माणको अध्यान गर्दै छ । त्यो पालिकामा भन्दा पहिला उपत्यका भित्र नै बढी फोकस गरेर पार्किङ निर्माणको अवधारण अगाडि सारेका उनले जनाए ।

नगर विकास कोषको उद्देश्य भनेको नै सहरमा पूर्वाधार विकास गरी सफा सहरको रूपमा विकास गर्नु हो, यो उद्देश्य अन्तर्गत सहरमा पार्किङ नहुँदा उपत्यका भित्र धेरै जाम हुने समस्या आयो, त्यस पछि हामीले बहुतले मेकानिकल पार्किङ बनाउन निजी क्षेत्रलाई आह्वान गरेका हौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.