काठमाडौं । आन्तरिक राजस्व विभागले स्रोतमै करकट्टी गर्नुपर्ने व्यवस्थामा विपरित जसको नाममा कर कटाइएको हो, सो करदाताको खातामा इटीडीएस गरेकै हुनुपर्ने व्यवस्था लागू गरेको छ ।
यसअघि भुक्तानी दिने व्यक्ति वा फर्मले भुक्तानी दिदा लाग्ने कर कटाएर भुक्तानी दिनुपर्ने व्यवस्था थियो । तर, विभागले चालु आर्थिक वर्षदेखि भुक्तानी गर्नेले मात्रै नभई भुक्तानी प्राप्त गर्ने करदाताको प्यानमा इटीडीएस भएकै हुनुपर्ने नियम लागू गरेको हो । भुक्तानीको बेलामा स्रोतमै कर कट्टी भएको विवरण प्राप्त हुने तर कर कटाइएको करदाताको खातामा इटीडीएस नहुने क्रम बढेपछि इटीडीएस भएको भेरिफाई हुनुपर्ने व्यवस्था लागू गरिएको विभागका निर्देशक राजुप्रसाद प्याकुरेलले जानकारी दिए ।
‘कुनै व्यक्ति वा फर्मले अर्काे व्यक्ति वा फर्मलाई १५ प्रतिशत कर कटाएर भुक्तानी दिएको रहेछ भने भुक्तानी पाउने फर्म वा व्यक्तिको खातामा सो कर रकम इटीडीएस भएको देखिनु पर्छ, यसअघि भुक्तानी दिने फर्म वा व्यक्तिले करकट्टी गरेर जम्मा गरिदिएको प्रमाण पेश गरे हुने व्यवस्था थियो,’ निर्देशक प्याकुरेलले भने ।
नयाँ व्यवस्थाले स्रोतमै करकट्टी गर्नुपर्ने कर कानुनको प्रावधानको उल्लघन नहुने पनि उनले बताए ।
‘स्रोतमै करकट्टी गर्ने भन्ने त हो तर, कर कटाएर भुक्तानी लिने फर्म वा व्यक्तिलाई पनि मैले तिरेको रकम कर कार्यालयमा जम्मा भयो कि भएन भनेर जिम्मेवार हुनुपर्छ भनेर कानुनमा भनिएको छ, त्यसैले दुबै पक्षलाई जिम्मेवार बनाउन खोजिएको हो,’ निर्देशक प्याकुरेलले भने ।
यो व्यवस्था चालु आर्थिक वर्षदेखि व्यापारिक कारोबारहरुमा लागू गरिएको उनले जानकारी दिए । तर, आफ्ना कामदार, कर्मचारीहरुलाई गरिएको भुक्तानीको हकमा भने यस्तो व्यवस्था अझै पनि लागू भएको छैन ।