नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले दिए राजीनामा, संचालकसँग कुरा मिलेन

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । उनले तिहार विदाकै अवधिमा हिजो (आइतबार) पदबाट राजीनामा दिएका हुन् । प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । बीमा समितिमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट प्रसाई समिति छोडेर नेपाल लाइफको डेपुटी प्रमुख कार्यकारी अधिकृत बनेर [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । उनले तिहार विदाकै अवधिमा हिजो (आइतबार) पदबाट राजीनामा दिएका हुन् ।

प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । बीमा समितिमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट प्रसाई समिति छोडेर नेपाल लाइफको डेपुटी प्रमुख कार्यकारी अधिकृत बनेर आएका थिए । करिब १ वर्ष डेपुटी प्रमुख कार्यकारी अधिकृत बनेपछि प्रसाईलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

संचालक समितिमा कुरा नमिलेपछि उनले राजीनामा दिएका बताइएको छ । गत भदौमा संचालक समितिका केही पदाधिकारीसँग उनको विवाद भएको थियो । सो विवादयता संचालक समितिले उनलाई हटाउने तयारी गरेको थियो भने उनले पनि पदबाट बाहिरिन खोजेका थिए ।

संचालक समिति र व्यवस्थापनबीच रणनीतिक विषयमा फरक अवधारणा आएपछि आफूले राजीनामा दिएको प्रसाईले बताए ।

‘त्यस्तो धेरै केही समस्या होइन, संचालक समिति र व्यवस्थापनबीच रणनीतिक विषयमा फरक मत भयो, यस्तो भएपछि म बाहिरिँदा नै उत्तम हुन्छ भन्ने लागेर मैले हिजो राजीनामा दिएको हूँ,’ प्रसाईले विकासन्युजसँग भने ।

प्रसाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भएपनि सेल्स कमिटीमा भने थिएनन् । उनलाई संचालक समितिले सेल्स हेर्नु पर्दैन भनेर अन्य जिम्मेवारी दिएको थियो । प्रसाईको कार्यकालमा कम्पनीले सेयर बजारमा लगानी गरेर १ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । नेपाल लाइफका केही पुराना प्रडक्ट बन्द गरेर नयाँ प्रडक्ट ल्याउने योजनामा प्रसाई थिए ।

Share News