११ वाणिज्य बैंकको लाभांश विश्लेषणः सबैभन्दा बढी प्रतिफल हिमालयन बैंकको, कम चार्टर्डको

  २०७८ कार्तिक ८ गते १२:२४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले गत वर्षसम्मको कारोबारका आधार कमाएको रकमबाट प्रदान गर्ने लाभांश घोषणा गरिरहेका छन् । बैंकहरुले दिएको लाभांशबाट अहिलेको सेयर मूल्य अनुसार कति प्रतिफल पाइन्छ भन्ने विश्लेषण यहाँ गरिएको छ ।

चालु आर्थिक वर्षमा ११ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । जसअनुसार सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३.५ प्रतिशत, हिमालयन बैंकले २६ प्रतिशत, कुमारी बैंकले ८.६७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।

यस्तै, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सानिमा बैंकले १७.८९ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३.०६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । लाभांश घोषणा गरेका बैंकहरुको औसत लाभांश दर भने १५.६९ प्रतिशत छ ।

बुकक्लोज अघिको बजार मूल्यलाई आधार मान्दा लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकका सेयरधनीलाई भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेका कारण सेयर कारोबार रोकिएकोले पनि हिमालयन बैंकका सेयरधनीले बढी प्रतिफल प्राप्त गरेको देखिएको हो । सेयर कारोबार नरोकिएको भए हिमालयन बैंकको सेयर मूल्य पनि बढेर सो बैंकका सेयरधनीले पाउने प्रतिफल कम हुने देखिन सक्थ्यो । यद्यपि, यो केबल अनुमान मात्रै हो ।

बैंकहरुले लाभांश घोषणा गरिसकेपछि बुक क्लोज भएकाहरुको हकमा भने बुक क्लोज हुने दिनको बजार मूल्य र अन्य बैंकहरुको हकमा कात्तिक ७ गतेको सेयर कारोबार बन्द हुँदाको समयमा कायम भएको मूल्यका आधारमा लाभांश प्रतिफल हिसाव गरिएको हो । यस्तो हिसाव अनुसार हिमालयन बैंकका सेयरधनीले सबैभन्दा बढी अर्थात ५.३७ प्रतिशत प्रतिफल पाएका छन् ।

यस्तै, सिटिजन्स बैंकका सेयरधनीले ४.०२ प्रतिशत, ग्लोबल आईएमई बैंकका सेयरधनीले ३.६१ प्रतिशत, कुमारी बैंकका सेयरधनीले ३.२८ प्रतिशत, माछापुच्छ्रे बैंकका सेयरधनीले ३.८४ प्रतिशत र नेपाल बंगलादेश बैंकका सेयरधनीले ३.९४ प्रतिशत प्रतिफल पाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सेयरधनीले सबैभन्दा कम अर्थात २.४६ प्रतिशत प्रतिफल पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.