बेष्ट फाइनान्स सहि ट्रयाकमा, सेयर मूल्य १० प्रतिशतले वृद्धि

  २०७८ कार्तिक ७ गते १४:२८     विकासन्युज

काठमाडौं । लामो समयदेखि संकट भोग्दै आएको बेष्ट फाइनान्स ट्रयाकमा आएको छ । फाइनान्सको खराव कर्जा ५ प्रतिशत भन्दा कम भएको छ । अब फाइनान्सका व्यवसाय विस्तारका सबै क्रियाकलाप नियमित रुपमा सञ्चालन हुने भएका छन् ।

४ वर्षअघि जनरल फाइनान्स र सिनर्जी फाइनान्स मर्ज भएर बनेको बेष्ट फाइनान्सको तत्कालिन वित्तीय अवस्था खराव थियो । समस्याग्रस्त जनरल फाइनान्समा गैरआवासीय नेपालीहरुको समूहले लगानी गरेपछि दुई फाइनान्स मर्ज भएका थिए ।

फाइनान्सले पहिलो त्रैमासमा १२ करोड ११ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा फाइनान्स ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा थियो । फाइनान्सले असोज मसान्तसम्ममा १३ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

पुरानो खराब कर्जा असुलीसँगै फाइनान्सको खराब कर्जा अनुपात घटेको छ । असोज मसान्तमा खराब कर्जा अनुपात ४ प्रतिशतमा झरेको छ । असार मसान्तसम्ममा कुल कर्जाको १४.२६ प्रतिशत खराब थियो ।

तरलताको अभावका बीचमा पनि फाइनान्सको सीडी रेसियो ८० प्रतिशत छ । फाइनान्समा निक्षेप ३ अर्ब ९ करोड रुपैयाँ छ भने कर्जा सापटी २ अर्ब ३७ करोड रुपैयाँ छ । सेयरमा लगानी ६९ करोड रुपैयाँ छ ।

पुँजी पर्याप्तता अनुपात २५ प्रतिशत छ । फाइनान्सले स्प्रेडदर ४.५३ प्रतिशत कायम राखेको छ । फाइनान्सको बेसरेट करिब साढे १० प्रतिशत छ । सुधारिएको वित्तीय विवरण फाइनान्सले आइतबार प्रकाशित गरेको छ । वित्तीय विवरण प्रकाशित भएकै दिन फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

गत बिहीबारको अन्तिम कारोबार ४०१ रुपैयाँमा भएको थियो । आइतबार पहिलो कारोबार ४०९ रुपैयाँमा भयो । अन्तिम कारोबार ४४१ रुपैयाँमा कारोबार भएको छ । मध्यान्नमा फाइनान्सको सेयर किन्ने अडर १ लाख ५९ हजार २२६ कित्ता छ । तर बिक्रेता कोही पनि छैनन् ।

कम्पनीको सेयर गत साउनमा प्रतिकित्ता ६३० रुपैयाँसम्ममा कारोबार भएको थियो । असोजमा ३७५ रुपैयाँसम्म झरेको थियो ।

कम्पनीको आर्थिक अवस्थामा सुधार भएकोले कात्तिकमा सेयर मूल्यमा सकारात्मक प्रभाव परेको हुनसक्ने कम्पनीका सहायक महाप्रबन्धक शैलेन्द्रबादे श्रेष्ठले बताए । साथै, सेयर मूल्यमा प्रभाव पार्ने खालकाे नयाँ निर्णय कम्पनीले नलिएकाे उनले जानकारी दिए ।

यस फाइनान्सको सेयर पुँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ छ ।

विगत एक दशक भन्दा बढी सेयरधनीलाई लाभांश दिन नसकेको यो कम्पनीको संचित नोक्सान भने अझै २७ करोड २५ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको संचित नोक्सानी पूर्ति हुने र आगामी आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश दिने अवस्थामा पुग्ने विश्वास गरिएको नायव महाप्रबन्धक श्रेष्ठले बताए ।

गत पुस १ गतेदेखि बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बैंकर्स उमेशसिंह भण्डारी छन् । उनको नेतृत्वमा फाइनान्स सहि ट्रयाकमा अगाडि बढिरहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.