कमल, राजेन्द्र, सुधिरपछि इच्छाराजको नजिरः रातारात अर्बपति बनाउँदै जेल पठाउँदै घरजग्गा व्यवसाय

  २०७८ असोज १९ गते १३:२४     विकासन्युज

काठमाडौं । अनामनगरमा अहिलेको भाटभटेनी सुपरमार्केट रहेको स्थानमा २०६८ सालतिर एउटा सानो भवन थियो । सो भवनमा तत्कालिन किष्ट बैंकको केन्द्रीय कार्यालय थियो । सो बैंकको प्रबन्ध संचालक थिए कमल ज्ञवाली ।

ज्ञवालीकै पहलमा तत्कालिन किस्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी किस्ट बैंक बनेको थियो । सशस्त्र विद्रोह गरिरहेको माओवादी शान्ति प्रक्रियामा आएपछि काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा घरजग्गाको मूल्य आकाशिएको थियो ।

ज्ञवाली आफै र उनको टीम घरजग्गा खरिद गर्ने, प्लटिङ गरेर बिक्री गर्ने जस्ता कार्यमा संलग्न थियो । उनले नेतृत्व गरेको किस्ट बैंकले पनि घरजग्गा कारोबारमा राम्रै लगानी गरेको थियो ।

घरजग्गाको मूल्य असाध्यै बढेपछि बैंकिङ क्षेत्र हल्लियो । तरलता अभावको चरम अवस्था सिर्जना भयो । यस्तो परिस्थिति देखिएपछि तत्कालिन गभर्नर विजयनाथ भट्टराईको पालामा २ पुस २०६६ मा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको २५ प्रतिशतभन्दा बढी लगानी घरजग्गा क्षेत्रमा गर्न नपाउने निर्देशन राष्ट्र बैंकबाट आयो ।

राष्ट्र बैंकको यस्तो निर्देशनपछि केही बैंक तथा वित्तीय संस्था धरमराउन थाले । घरजग्गा क्षेत्रमा बढी लगानी गरेको, बैंकका प्रबन्ध संचालकदेखि अन्य अधिकारीहरु पनि घरजग्गा व्यवसायमै संलग्न भएकोले किस्ट बैंक समस्यामा पर्नु स्वभाविक थियो । किस्ट बैंक समस्याग्रस्त घोषणा भयो, बैंकका प्रबन्ध संचालक ज्ञवालीमाथि कर्जा दुरुपयोग गरेको लगायतका अभियोग लाग्यो । ज्ञवाली भागे । किष्ट बैंक तत्कालि प्रभु विकास बैंकसँग मर्जरमा गयो । किष्टको नामोनिसान सकियो । बैंकिङ कसुरको अभियोग लागेका ज्ञवाली भागेर बनारस पुगेका भएपछि पक्राउ परे, जेलमा हालियो ।

किष्ट बैंक समस्यामा पर्नुअघिसम्म ज्ञवाली भन्ने गर्थे- नेपालको सबैभन्दा ठूलो बैंक किष्ट बन्नेछ, किष्ट बैंकको सन्दर्भमा सिंहदरबार र बालुवाटारमा छलफल हुनेछ, शाखा निरीक्षणको लागि राष्ट्र बैंकका मान्छेहरु हेलिकोप्टरमा जानु पर्नेछ ।

यति महत्वाकांक्षी ज्ञवाली र उनले व्यवस्थापकीय नेतृत्व गरेको किष्ट बैंक घरजग्गा व्यवसायमा आएको मन्दीसँगै सकिए ।

तत्कालिन किष्ट बैंकको संचालक समिति अध्यक्ष बनेका थिए अर्का घरजग्गा व्यवसायी राजेन्द्र शाक्य । उनी गुण कोअपरेटिभका अध्यक्ष थिए भने गुण सिनेमा हल संचालन गरिरहेका थिए । घरजग्गा व्यवसायबाट रातारात धेरै आम्दानी हुन थालेपछि शाक्यले गुण एयरलाइन्स संचालनमा ल्याएका थिए ।

तर, २०६६ को राष्ट्र बैंकको सर्कुलरपछि घरजग्गा व्यवसायमा मन्दी आयो । शाक्य पनि फरार भए । उनलाई गुण कोअपरेटिभको बचतकर्ताको रकम हिनामिना गरेको आरोप पनि लागेको थियो ।

सोही समयमा घरजग्गा व्यवसायमा प्रभाव जमाउन सक्ने अर्का व्यवसायी थिए, सुधिर बस्नेत । उनी ओरेन्टल कोअपरेटिभका अध्यक्ष थिए । विभिन्न स्थानमा जग्गा किनेर हाउजिङ बनाउने तथा जग्गा नै प्लटिङ गरेर बिक्री गर्ने कार्यमा बस्नेत संलग्न थिए । तर, राष्ट्र बैंकको २०६६ पुसको सर्कुलरपछि घरजग्गा व्यवसायमा आएको मन्दीले बस्नेत पनि प्रभावित भए । उनी पनि भागे । अर्बाैको सम्पत्ति बेवारिसे जस्तै बन्यो । ओरेन्टल सहकारीमा रकम राख्ने धेरैको रकम फस्यो । बचतकर्ताको रकम हिनामिना गरेको अभियोग बस्नेत माथि पनि लाग्यो ।

यद्यपि, शाक्यले रिकभर भएर गुण एयरलाइन्स पुन संचालन गरेका छन् । ओरेन्टल ग्रुपका अध्यक्ष बस्नेत पनि ललितपुरको ग्वार्काेमा रहेको आफ्नो महत्वाकांक्षी परियोजना भेगास सिटी निर्माण गरेर बचतकर्ता र बुकिङकर्ताको रकम फिर्ता गर्ने अभियानमा जुटिरहेका छन् ।

अहिले ज्ञवाली, शाक्य र बस्नेत जस्तै गरी डुब्नेको सुचिमा आइपुगेका छन् सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल बैंक संचालक समिति अध्यक्ष इच्छाराज तामाङ । उनलाई पनि सिभिल सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको, राखेको रकम समयमै फिर्ता नगरेको लगायतका आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले हिजो (असोज १८ गते) पक्राउ गरेको छ ।

तामाङ पनि घरजग्गा व्यवसायबाटै उदय भएका व्यवसायी हुन् । सिभिल इन्जिनियरिङ गरेका तामाङको कम्पनी सिभिल होम्सले अपार्टमेन्ट तथा हाउजिङ निर्माण गरी बिक्री गर्ने गरेको छ ।

तामाङले निर्माण गरेका परियोजनाको समयमै बिक्री नभएका कारण समस्या देखिएको स्पष्ट भएको छ । तर, तामाङले पनि ज्ञवाली, शाक्य र बस्नेतले जस्तै गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको भने देखिन्छ ।

आफैं साहु र आफैं ऋणी बनेको आरोप सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ माथि छ । सिभिल सहकारीले सिभिल समूहकै संस्थापकका परियोजनामा कुल कर्जाको ८६ प्रतिशतभन्दा बढी लगानी गरेको फेलापरेको थियो ।

सिभिल सहकारीमा २ हजार ६ सय भन्दा बढी बचतकर्ता छन् । बचतकर्ताले राखेको रकम तामाङको समुहले दुरुपयोग गरेको आरोप लागेको छ । ८ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङका तीनवटा व्यवसायमा ७ अर्बभन्दा बढी लगानी भएको छ ।

श्रीमतीसँग डिभोर्स गरेर बैंकको सेयर विक्री

सिभिल बैंकका अध्यक्ष पनि रहेका तामाङले श्रीमती सिर्जना शाक्यसँग कागजी सम्बन्ध विच्छेद गरेर बैंकको संस्थापक सेयर बिक्री गरेका थिए । शाक्यको नाममा रहेको १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँको संस्थापक सेयर बिक्री भएको थियो । सो सेयर आधार मूल्यमै कर्मचारी सञ्चय कोषलाई बिक्री गरेकी थिइन् ।

श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था छ । कानुनी अल्झनका कारण इच्छाराज र सिर्जनाले कागजी सम्बन्ध बिच्छेद गरेर बैंकको संस्थापक सेयर बिक्री गरेको समाचार पहिला नै सार्वजनिक भइसकेको थियो ।

सम्बन्धित समाचार

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.