सिभिल बैंकको अध्यक्ष बन्न सञ्चालकबीच प्रतिस्पर्धा, राष्ट्र बैंकले भन्यो- छिटो गर्नुस्

  २०७८ कार्तिक ३ गते १६:५४     विकासन्युज

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सिभिल बैंक संचालक समितिका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकमा नयाँ अध्यक्षको खोजी सुरु भएको छ ।

अध्यक्ष तामाङलाई सीआईबीले गत असोज १८ गते दिउसो पक्राउ गरेको थियो । तामाङमाथि सिभिल सहकारीका बचतकर्ताको ४६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उजुरी परेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो । यद्यपि, तामाङलाई प्रहरीले पक्राउ गरेपछि उनीमाथि हिनामिना गरिएको भनिएको रकम बढ्दो क्रममा छ ।

तामाङलाई सीआईबीले असोज १८ गते दिउसो पक्राउ गरेको भएपनि अझै अनुसन्धान जारी रहेको भन्दै उनलाई प्रहरी हिरासतमै राखिएको छ ।

बैंक संचालक समिति अध्यक्षमाथि रकम हिनामिना गरेको आरोप लागेर प्रहरीले पक्राउ गरेपछि राष्ट्र बैंकले पनि चासो दिएको छ । रकम हिनामिना गरेको आरोप लागेको र अनुन्धानकै क्रममा प्रहरी हिरासतमा रहेको व्यक्ति बैंक संचालक समिति अध्यक्ष बनिरहदा समस्या हुने भन्दै राष्ट्र बैंकले नयाँ अध्यक्ष नियुक्ति गर्न सिभिल बैंक संचालक समिति सदस्यहरुलाई आग्रह गरिरहेको छ ।

‘हामीले केही दिनअघि संचालकहरुसँग नयाँ अध्यक्ष बनाउने हो कि के गर्ने भनेर सोधेका थियौं, उहाँहरुले नयाँ अध्यक्ष नियुक्त गर्ने जवाफ दिनुभएको छ, हामीले छिटो गर्नुस्, भनेका छौं, उहाँहरुले पनि सकेसम्म चाढै नयाँ अध्यक्ष नियुक्त गर्ने भनेर हामीलाई जवाफ दिनुभएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

राष्ट्र बैंक, सीआईबी र बैंक संचालकहरुको समन्वयमा नै सिभिल बैंकमा रहेको तामाङको सेयर विक्री गरेर सहकारीको रकम व्यवस्था गरी समस्या समाधान गर्ने पहल भइरहेको स्रोतले जानकारी दिएको छ । गत वर्षको वार्षिक वित्तीय विवरण अनुसार तामाङको नाममा बैंकमा २६ लाख ३४ हजार ९०८ कित्ता संस्थापक र ४ लाख ४८ हजार ६ सय साधारण गरी जम्मा ३० लाख ८३ हजार ५०७ कित्ता सेयर छ । यो भनेको बैंकको कुल सेयरमा ३.८५ प्रतिशत हो ।

सिभिल बैंकमा रहेको आफ्नो नामको सेयर बेच्नको लागि तामाङ पनि सहमत भएको स्रोतले जानकारी दिएको छ । केही दिन अघिमात्रै बैंक संचालक समिति सदस्य तथा बैंककै पूर्व अध्यक्ष अम्बीर बोगटी र बैंकका कम्पनी सचिव हिराकाजी बस्नेतले तामाङलाई प्रहरी हिरासतमै गएर भेटेका थिए । सो भेटमा तामाङले पनि आफू बैंकको सेयर विक्री गरेर बाहिरिन तयार रहेको तर त्यसको लागि आफूलाई बहिर्गमनको मौका दिनुपर्ने तर्क गरेका स्रोतले जानकारी दिएको छ ।

तामाङको नाममा रहेको सेयर खरिद गर्नको लागि बैंक संचालक समिति सदस्य प्रतापजंग पाण्डेको समूह इच्छुक देखिएको छ । बैंकले प्रकाशित वार्षिक प्रतिवेदन अनुसार सिभिल बैंकमा पाण्डेको ९ हजार ४८३ कित्ता संस्थापक र ११० कित्ता साधारण सेयर छ । यद्यपि, सो बैंकमा पाण्डेका बाबु प्रदीपजंग पाण्डेको नाममा ३५ लाख ४ हजार ८६८ कित्ता सेयर छ । यो भनेको बैंकको कुल सेयरमा ४.३८ प्रतिशत हो ।

पाण्डे समूहले पछिल्लाे समय थप सेयर खरिद गरेकाे स्राेतले बताएकाे छ । बैंककाे सबैभन्दा ठूलाे सेयरधनीकाे हैसियतमा सञ्चालक पाण्डे अध्यक्षकाे लागि प्रवल दावेदार बनेका छन् । सञ्चालक र प्रमाेटरहरू उनले अध्यक्ष बन्ने विषयमा छलफल चलाइसकेका छन् ।

अर्का सञ्चालक अमीर बाेगटी पनि अध्यक्ष बन्न सक्रिय भएका छन् । उनलाई धेरैले वर्तमान अध्यक्ष तामाङका विश्वास पात्रकाे रूपमा रूपमा लिन्छन् । तामाङ्गकाे गलत प्रभावबाट बैंकलाइ मुक्त गराउने बाेगटीलाई अध्यक्ष बनाउन नहुने मत पनि प्रमाेटरहरूबीचमा रहेकाे छ । बोगटीको नाममा बैंकको १ लाख ७० हजार ४९१ कित्ता संस्थापक र ३९ हजार ५०२ कित्ता साधारण सेयर रहेकाे गत वर्षको वित्तीय विवरणमा जनाइएकाे छ । सेयर स्वामित्वकाे हिसावले पनि बाेगटी धेरै सानाे सेयरधनी भएकाेले ठूला सेयरधनीबाट अध्यक्ष बनाइने बैकिङ क्षेत्रकाे परम्परा अनुसार पाण्डेलाई अध्यक्ष बनाउने सम्भावना बढी रहेकाे स्राेतले बतायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.