राष्ट्र बैंकले २७ बैंककै सीईओसँग ‘आर्टिफिसियल डिपोजिट’ नबढाउने प्रतिवद्धता लियो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आर्टिफिसियल डिपोजिट (कृत्रिम निक्षेप) नबढाउने प्रतिवद्धता लिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार २७ वटै वाणिज्य बैंकहरुका सीईओहरुसँग भर्च्युअल बैठक राख्दै बैंकहरुले आर्टिफिसियल निक्षेपको गलत अभ्यास नगर्न भन्दै प्रतिवद्धता लिएको हो । हाल बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकको कर्जा–निक्षेप अनुपात [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आर्टिफिसियल डिपोजिट (कृत्रिम निक्षेप) नबढाउने प्रतिवद्धता लिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार २७ वटै वाणिज्य बैंकहरुका सीईओहरुसँग भर्च्युअल बैठक राख्दै बैंकहरुले आर्टिफिसियल निक्षेपको गलत अभ्यास नगर्न भन्दै प्रतिवद्धता लिएको हो ।

हाल बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को सीमा व्यवस्थापन गर्नकै लागि भएपनि आर्टिफिसियल डिपोजिट देखाएर काम गरेको राष्ट्र बैंकले जानकारी पाएपछि राष्ट्र बैंकले सो प्रतिवद्धता मागेको हो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंकिङ सुपरिवेक्षण विभागका प्रमुख गुणाकर भट्ट लगायतको उपस्थितिमा २७ वटै वाणिज्य बैंकका सीईओहरुसँग बुधबार छलफल भएको थियाे ।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले ४ वटा बैंकहरुले आर्टिफिसियल डिपोजिटको अभ्यास देखेकोले सबै बैंकहरुलाई त्यस्तो नगर्न प्रतिवद्धता मागेको हो ।

‘अहिले बैंकहरुले आर्टिफिसियल डिपोजिटको अभ्यास गरेको पायौं, बैंकहरूले गलत गर्दा जनप्रतिनिधिले हामीमाथि प्रश्न उठाउने छन्, सर्बसाधारणले केन्द्रीय बैंककाे आलोचना गर्छन् । त्यसैले हामी सजक भएर सबै बैंकलाई बोलाएर छलफल गर्यौं, सबै बैंकहरुले त्यस्तो नगर्ने पनि प्रतिवद्धता गरे’, राष्ट्र बैंक स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले ४ वाणिज्य बैंकहरुले यस्तो अभ्यास गरेको पाइएको हो । छलफलमा नेपाल राष्ट्र बैंकले केही वाणिज्य बैंकका सीईओहरुलाई मात्रै बोल्ने मौका दिएको थियो ।

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहाल, नबिल बैंकका अनिल केशरी शाह, एनआईसी एसिया बैंकका रोशन न्यौपाने, मेगा बैंकककी अनुपमा खुञ्जेली र सनराइज बैंकका सीइओ सुमन शर्मालाई बोल्ने अवसर दिएको थियो ।

छलफलमा धारणा राख्ने सबै सीईओहरुले बैंकहरुले त्यस्तो गर्न नहुने र गरेको भएपनि गल्ति सच्याउने प्रतिवद्धता गरेको एक वाणिज्य बैंकका सीईओले बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकालले नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा आर्टिफिसियल डिपोजिट अभ्यास भइरहेको भन्ने सूचना पाएपछि त्यसबारे अध्ययन भइरहेको बताए ।

‘कृत्रिम निक्षेपको अभ्यास भइरहेको छ भन्ने सूचना हामीले पनि पाएका छौं, के भइरहेको हो ? त्यस्तो किन गरेको हो ? कसरी यस्तो भयो ? हामी प्रयास गरिरहेका छौं, यस सम्बन्धि बैंकहरुसँग पनि बुझिरहेका छौं,’ उनले भने ।

एक बैंकले अर्काे बैंकमा नेपाली मुद्रा निक्षेप राख्न नपाउने व्यवस्था छ । तर विदेशी मुद्रा भने अर्काे बैंकमा निक्षेप राख्न पाइन्छ । ४ वटा बैंकले राष्ट्र बैंककाे कारवाही छल्न विदेशी मुद्रा क्रश डिपाेजीट गरेर भ्रमित डाटा राष्ट्र बैंकलाइ देखाएकाे पाइएकाे छ ।

अहिले धेरै बैंकहरुको सीडी रेसियो सीमाभन्दा माथि (ब्रिच) छ । सीडी रेसियो ब्रिच भएपछि बैंकलाई जरिवाना लाग्छ । जरिवानाबाट बच्नै लागि बैंकहरुले यस्तो अभ्यास गरिरहेको धेरैको बुझाई छ ।

अहिले धेरै विश्लेषकहरुले राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको विश्लेषण पनि गर्न थालेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सीसीडी खारेज गरेर सीडी रेसियो कायम गरेर राष्ट्र बैंकले बेमौसमी बाजा बजाएको र परिणाम स्वरुप बैंकिङ क्षेत्रले तरलताको अभाव खेप्नु परेको धेरैको बुझाई छ ।

‘कसैले मःम खाऔं, कसैले मम भनौं’

छलफलमा नेपाल राष्ट्र बैंकले कृत्रिम निक्षेप देखाउने बैंकहरुको नाम नतोकी ‘मम’ भन्न आग्रह गरेको थियो । सो छलफलमा बोल्ने सबै सीईओले पनि ‘मम भनौं’ भनिरहेका थिए ।

आफ्नो भनाई टुंग्याउने क्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका सीईओ दाहालले पनि ‘मम’ प्रसंग दोहोर्याए ।

‘यसरी आर्टिफिसियल डिपोजिट देखाउनु भएन, सबै साथीहरुले मम भनौं, कसैले मःम खाऔं,’ आफ्नो भनाई टुंग्याउदै अध्यक्ष दाहालले भनेका थिए ।

के हो आर्टिफिसियल निक्षेप ?

एउटा बैंक तथा वित्तीय संस्थासँग रहेको निक्षेप अर्को बैंक तथा वित्तीय संस्थामा फेरि निक्षेपको रुपमा जाने र पुनः त्यही निक्षेप अर्को बैंकमा गएर निक्षेपकै रुपमा गणना हुने प्रक्रिया नै आर्टिफिसियल डिपोजिट (कृत्रिम निक्षेप) हो । जुन वास्तविक निक्षेप होइन । तर, निक्षेपको रुपमा देखाइन्छ ।

उदाहरणका लागि कुनै ‘ए’ नाम गरेको बैंकसँग ५० अर्ब रुपैयाँ छ । त्यो निक्षेप ‘बी’ नाम गरेको बैंकमा गएर पनि निक्षेप भएर नै बस्छ । र, त्यही निक्षेप पुनः ‘सी’ नाम गरेको बैंक तथा वित्तीय संस्थामा गएर पनि गएर निक्षेपमा रुपमा गणना हुन्छ । बैंकहरुले आफूसँग नभएको पैसा पनि निक्षेपका रुपमा गणना गर्छन् ।

Share News