क्यान महानिर्देशक बन्न ५ जना दौडमा, कसले मार्ला बाजी ?

  २०७८ असोज ४ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको कार्यकाल सकिन लागेसँगै नयाँ महानिर्देशक बन्द दौडधुप सुरु भएको छ । पोखरेलको ४ वर्षे कार्यकाल यहि असोज ८ गते सकिदैँछ ।

उनको कार्यकाल अवधि सकिन लागेसँगै नयाँ महानिर्देशकका लागि क्यानकै कर्मचारीदेखि मन्त्रालयका सहसचिवसम्म आकंक्षी देखिएका छन् ।

२०४७ साल मंसिर २९ गते सेवाप्रवेश गरेका पोखरेल २०७२ साल असोज ११ गते उपमहानिर्देशका रुपमा बढुवा भएर २०७६ असार १३ गते महानिर्देशक नियुक्ति भएका थिए । १२ औं तहको ६ वर्षे अवधि पूरा गर्दै उनि स्वतः रुपमा अवकाश हुन लागेका हुन् ।

महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदमा रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कार्यकाल अवधिभन्दा अगाडी नै अनिवार्य रुपमा अवकाश हुन लागेका हुन् ।

दौडमा ४ जना

पोखरेलको अवकास अवधि नजिकिएसँगै नयाँ महानिर्देशकको दौडधुपमा मुख्य चार जना देखिएका छन् । जसमध्येमा स्वतः अवकाश पाउन लागेका प्राधिकरणकै दुई उपमहानिर्देशक राजकुमार क्षेत्री र भोला गुरागाईं पनि रहेका छन् । क्यानका प्रवक्ता समेत रहेका क्षेत्रीले आगामी पुस २५ गते १२औं तहमा पुगेको ६ वर्ष अवधि पूरा भएका कारण स्वतः अवकाश पाउँदैछन भने गुरागाइँले फागुन २७ गते सोही कारण अवकाश पाउनेछन् ।

क्षेत्री र गुरागाइँ १२ औं तहमा बढुवा भएपछि पदमा रहन पाउने ६ वर्षे अवधिका कारण अवकाश हुने छन् ।

क्यानले राष्ट्रिय गौरबका आयोजनाहरु निजगढ अन्तराष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पोखरा हेर्ने गरी बेग्लै संयन्त्र बनाएको छ । सो संयन्त्रको नेतृत्व गरिरहेका प्रदीप अधिकारी पनि क्यान महानिर्देशक बन्ने दौडमा छन् । यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने पनि महानिर्देशक बन्ने दौडमा छन् । लामिछाने मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख पनि हुन् । सो महाशाखा प्रमुख क्यानको महानिर्देशक भएर जाने गरेका उदाहरणहरु धेरै छन् ।

मन्त्रिपरिषद्ले नियुक्त गर्ने महानिर्देशक पदमा अधिकारी र तिवारीको मुख्य भिडन्त हुने क्यानका पदाधिकारीहरु बताउँछन् । अधिकारी, तिवारी र लामिछानेमध्ये कुनै व्यक्ति महानिर्देशकमा नियुक्त भएमा उनीहरुले ४ वर्ष नै महानिर्देशक बन्न सक्नेछन् । तर, १२औं तहमा पुगेको ६ वर्षे कार्यकाल लागू हुने भएकोले क्षेत्री र गुरागाईंले महानिर्देशक बन्ने मौका पाएपनि क्षेत्रीले ३ महिना र गुरागाईंले ५ महिना मात्रै क्यानको नेतृत्व गर्न पाउने छन् ।

हालसम्म क्यानका महानिर्देशकको आकांक्षी मध्येमा अधिकारी कान्छो आकांक्षी हुन । यसअघि उमेरहदसँगै उपनिर्देशकको ६ वर्षे अवधि सकिन लागेकाहरु महानिर्देशक हुने गरेका थिए ।

महानिर्देशक पोखरेलले स्वतः अवकाश पाउने भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी वहन गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चासो देखाएका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्री र महानिर्देशक दुबै नहुँदा सेवा प्रवाहसँगै युरोपेली युनियन (ईयु) ले राखेको कालोसूचीमा समेत असर पर्ने भन्दै चासो देखाएका हुन् ।

प्रधानमन्त्रीको चासोसँगै पर्यटन मन्त्रालयले बिहीबार बस्ने मन्त्रीपरिषद्को बैंठकमा सम्भावित ३ जनाको नामावली पठाउने तयारी गरेको छ । मन्त्रालयबाट पठाएको नामावली अनुसार मन्त्रिपरिषद्ले एक जनालाई आगामी ४ वर्षका लागि महानिर्देशकको जिम्मेवारी दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.