करका दर चलाउँदा ८ उद्योगलाई फाइदा, २० वटा संकटमा

  २०७८ भदौ २८ गते ११:२३     विकासन्युज

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको संशोधित बजेटमा करका दर परिवर्तन गर्दा ८ वटा स्टील उद्योगलाई फाइदा हुने भएको छ भने २० वटा उद्योग संकटमा परेका छन् । सरकारले भइरहेको उद्योगहरुको विस्तार तथा स्थरवृद्धिको लागि उचित समय नदिई करका दर परिवर्तन गर्दा संचालन भइरहेका धेरै उद्योगहरु संकटमा पर्ने नेपाल स्टील रोलिङ मिल्स एसोसिएशनले जनाएको छ ।

हालै सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पञ्ज आइरन) पैठारी गर्दा ० (शुन्य) प्रतिशत भन्सार र ० (शुन्य) प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ ।

सरकारको यो नीतिले अम्बे स्टील, अशोक स्टील, जगदम्बा स्टील, जागशक्ति स्टील, लक्ष्मी स्टील, नारायणी स्टील, पशुपति स्टील र सर्वाेत्तम स्टीललाई प्रत्यक्ष फाइदा हुने भएको छ । सरकारको नीतिका कारण यी कम्पनीद्धारा उत्पादिन स्टीलको मूल्य प्रतिकेजी ६ रुपैयाँसम्म सस्तो हुने भएको छ ।

अर्कोतिर सोझै बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लगाएको छ । आयत हुने बिलेटमा प्रति मेट्रिक टक १ हजार ६५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा वृद्धि गरी प्रति मेट्रिक टक २ हजार ५०० रुपैयाँ अन्तशुल्क लगाइएको छ । यो नीतिले २० वटा उद्योग आर्थिक संकटमा पर्ने छन् ।

उपभोक्ताले निकै रुचाएका र प्रिमियम मूल्यका स्टील बेच्दै आएका हामा स्टील, हिमाल स्टील र पञ्जकन्य स्टील उद्योगलाई पनि सरकारको नीतिले अप्ठ्यारो पारेको छ । यी स्टीलको मूल्य फेरी प्रतिकेजी ५ देखि ६ रुपैयाँ वृद्धि हुने भएको छ । त्यस्तै, हुलास स्टील, काठमाडौं स्टील आरती स्टील, वागेश्वरी, इभरोल, गोदावरी, गोयन्का, पाथिभारा, प्रिमियर, एसआर स्टील, शाखः, समृद्धि, सालिमार टीएमटीलाई पनि समस्या परेको छ । उनीहरुको उत्पादनको लागत प्रतिकेजी ६ रुपैयाँ सम्मले वृद्धि हुने नेपाल स्टील रोलिङ मिल्स एसोसिएशनले जनाएको छ ।

२० वटा उद्योगका उत्पादनको मूल्य प्रतिकेजी ६ रुपैयाँसम्म वृद्धि हुने शाखः उद्योगको प्रबन्ध निर्देशक किरण शाखले बताए । प्राइम बिलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नु बाध्यता रहेको र पत्रु पगालेर वा स्पञ्ज आइरनबाट बन्ने स्टीलको गुणस्तर कमजोर हुने उनको भनाई छ ।

विश्व प्रसिद्ध ५००डी ग्रेडकाे फलामे छड नै नेपाली उपभोक्ताले अत्याधिक रुचाएको, ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ५००डी ग्रेड नै आवश्यक हुने छर स्पञ्ज आइरनबाट उत्पादित फलामे छडको गुणस्तर ५००डी ग्रेड बराबरको गुणस्तर नहुने एशोसिएशनले जनाएको छ । नेपाल भूकम्पीय जोखिमको देश भएको हुँदा पनि बलियो र गुणस्तरीय निर्माणको लागि ५००डी ग्रेडकाे विकल्प नभएको एशोसिएशनले जनाएको छ ।

सरकारको नीति परिवर्तन नभए बहुसंख्यक डण्डी उद्योगहरुले प्रतिस्पर्धा गर्न नसकी घाटा व्यहोर्दै बन्द हुने स्थितिको सिर्जना हुने एसोसिएशनले जनाएको छ । सरकारको नीतिका कारण यी उद्योगमा बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी पनि जोखिममा पर्ने संघको भनाई छ ।

अपग्रेडको क्रममा रहेका जय अम्बे, श्री स्टील, विजय स्टीललाई अल्पकालिन समस्या भएको छ । यी तीन वटा कम्पनीले सरकारको नीतिसँग मेल खाने गरी उद्योग निर्माण तथा विस्तारको काम गरिरहेका छन् । यी उद्योगका वर्तमान उत्पादनहरुको प्रतिकेजी ६ रुपैयाँसम्म मूल्य बढ्ने र नयाँ उद्योग आएपछि ६ रुपैयाँ मूल्य घट्ने उद्योगीहरु बताउँछन् ।

सरकारले भने पत्रु पगालेर वा स्पञ्ज आइरनबाट फलामका डण्डी बनाउँदा नेपालमा थप रोजगारी सिर्जना हुने, विजुलीको खपत बढी हुने, आयात कम गर्न मद्दत पुग्ने गरी कर नीति लिएको जनाएको छ । असन्तुष्ट व्यवसायीहरुले भने सरकारको नीतिका कारण भइरहेका उद्योग मध्ये एक दर्जन उद्योग बन्द हुन सक्ने जनाएका छन् । सरकारले भने पत्रु पगालेर वा स्पञ्ज आइरनबाट डण्ड बनाउने उद्योगलाई प्रोत्साहित गर्ने नीति घोषणा गरेर त्यस्तो उद्योग स्थापना गर्न कम्तिमा २ वर्षको समय दिनुपर्ने उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.