नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का, १४८ वटालाई हटाइयो सूचीकरणबाट

  २०७८ भदौ २३ गते ११:२१     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीमध्ये हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरु हाल १३ वटा समूहमा विभाजित भएका छन् । जसमध्ये नेप्सले वाणिज्य बैंक, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स, होटल एण्ड पर्यटन, ट्रेडिङ्ग, उत्पादनमूलक र अन्य समूह अन्तर्गतका केही कम्पनीको सेयर कारोबार रोक्का गराएको छ ।

वाणिज्य बैंक अन्तर्गतका दुई कम्पनी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको २०७८ बैशाख ३१ गतेदेखि सेयर कारोबार रोकिएको छ । उनीहरु मर्जर प्रकृयामा रहेकाले नेप्सेले उनीहरुको सेयर कारोबार रोक्का गराएको हो । साथै, यी कम्पनीको एकीकृत कारोबार भएपछि मात्रै सेयर कारोबार फुकुवा हुनेछ । बैंकका अनुसार दुई बैंकबीच एकिकृत कारोबार अगामी असोजमा मात्रै हुनेछ ।

विकास बैंक अन्तर्गतको सहारा विकास बैंकको पनि सेयर कारोबार रोक्का भएको छ । संस्थाको २०७७ असोज १८ गतेदेखि सेयर कारोबार रोकिएको छ । सहारालाई गरिमा विकास बैंकले एक्वायर गर्ने भएसँगै नेप्सेले सो दिनदेखि सहाराको सेयर कारोबार रोक्का गरिदिएको हो ।

त्यस्तै, फाइनान्स समूहका ६ कम्पनीका सेयर कारोबार रोकिएका छन् । जसमध्ये नेपाल सेयर मार्केटस्, सम्झना फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स र हिमालयन फाइनान्स (वित्तीय संस्था) को सेयर कारोबार रोक्का भएको छ । ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबारमा रोक लगाएको हो ।

त्यस्तै, सिर्जना फाइनान्स (वित्तीय संस्था)को भने सिटिजन्स बैंकले एक्वायर गरेसँगै सेयर कारोबार रोक्का भएको हो । बैंकले फाइनान्सलाई प्राप्ति गरेसँगै गत असारदेखि एकीकृत कारोबार शुरु गरिसकेको छ ।

त्यस्तै, नेप्सेका अनुसार विकास बैंक समूहको एक मात्र कम्पनी सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । कम्पनीलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने भएसँगै नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको हो । गत भदौ १५ गते सम्पन्न गरिमा विकास बैंकको विशेष साधारण सभाले सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै यी दुईबीच एकीकृत कारोबार भने हुन बाँकी छ ।

त्यसैगरी, हाल नेप्सेमा सूचीकृत विभिन्न ८ वटा लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सूर्योदय, नेपाल सेवा, नाडेप, नेपाल एग्रो, आँधीखोला, घोडीघोडा, समाज लघुवित्त र वोमी माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरिदिएको छ ।

जसमध्ये वोमी माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुँदै छन् । सो सम्बन्धी दुई संस्थाबीच गत भदौ १५ गते प्रारम्भिक सम्झौता भएको हो ।

उता नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएसँगै नेपाल सेवाको सेयर कारोबार रोकिएको हो । नेप्सेले संस्थाको सेयर कारोबार २०७७ पुस १ गतेदेखि रोक्का गरेको हो ।

त्यस्तै, नाडेप लघुवित्त डिप्रोक्स लघुवित्तमा विलयभएसँगै सेयर कारोबार रोकिएको हो । संस्थाको २०७७ पुस १६ गतेदेखि नै नेप्सेमा सेयर कारोबार रोकिएको हो ।

त्यसैगरी, नेपाल एग्रोलाई इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने भएसँगै संस्थाको सेयर कारोबार रोक्का भएको हो । गत असार २१ गते सम्पन्न दुबै संस्थाको छुट्टा छुट्टै साधारणसभाले उक्त प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, धौलागिरी लघुवित्तले आँधीखोला लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेसँगै आँधीखोला लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । मर्जर पश्चात धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुँदै आएको छ ।

समाज लघुवित्त स्वस्तीक लघुवित्तसँग मर्जमा जाने भएसँगै नेप्सेले समाज लघुवित्तको सेयर कारोबार रोकिदिएको हो । समाज लघुवित्तले आईपीओ सूचीकृत नगर्दै स्वस्तिकसँग मर्जमा जाने निर्णय गरेको थियो । यी दुई संस्थाबीच २०७७ असोज ५ गते मर्जमा जार्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

त्यस्तै, घोडाघोडी लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्जमा जाने भएसँगै संस्थाको २०७७ कात्तिक २३ गतेदेखि सेयर कारोबार रोकिएको हो ।

होटल समूह अन्तर्गतको याक एण्ड यतीको पनि सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले यो होटलले नविकरण शुल्क नबुझाएको भन्दै सेयर कारोबार रोक्का गरिदिएको हो ।

अन्य समूह अन्तर्गतको नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, ट्रेडिङ्ग समूह अन्तर्गतको दुई कम्पनी नेपाल ट्रेडिङ्ग र नेपाल वेलफेयर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

साथै, उत्पादनमूलक अन्तर्गतका १३ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत भएका नेपाल वनस्पति घि उद्योग, रघुपति जुट मिल्स, बुटवल स्पिनिङ्ग मिल्स, गोरखखाली रबर उद्योग, ज्योति साइनिङ्ग मिल्स, अरुण वनस्पति उद्योग, हरिशिद्धि ब्रिक एण्ड टाइल्स, विराट शु, नेपाल खाद्य्य उद्योग, श्री भृकुटी पल्प एण्ड पेपर, फ्लेर हिमालयन, श्रीराम सुगर मिल्स र नेपाल बिटुमिन एण्ड, ब्यारेल उद्योगको सेयर कारोबार रोक्का भएको छ ।

यिनीहरुले ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबारमा रोक लगाएको हो । उत्पादनमूलक अन्तर्गतका यी १३ कम्पनीमध्ये अधिकांश कम्पनी बन्द अवस्थामा रहेका छन् ।

हाल दोश्रो बजारमा उत्पादनमूलक समूहका ६ वटा कम्पनीको मात्रै सेयर कारोबार भइरहेको छ । योसहित बजारमा हाल १८७ कम्पनीको सक्रिय रुपमा सेयर कारोबार भइरहेको छ ।

त्यसैगरी, नेप्सले हालसम्ममा कूल १४८ वटा कम्पनीलाई सूचीकरणबाट हटाइसकेको छ ।  जसमध्ये वाणिज्य बैंक अन्तर्गतका ५, विकास बैंकका ७९, फाइनान्सका ५४, माइक्रोफाइनान्सका ५, उत्पादनमूलकका ३, अन्य र ट्रेडिङ्गका समूहका १/१ वटाको गरी कूल १४८ कम्पनी डिलिस्टेड भएका छन् ।

One comment on "नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का, १४८ वटालाई हटाइयो सूचीकरणबाट"

  • Arjun Lamichhane NP says:

    लामो समय कारोबार् रोक्नु सबैको लागि घाटा नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.