काठमाडौं । पुँजीबजारका नियामक निकायका प्रमुखहरुको अचानक धौडधूप बढेको छ । छुट्टीमा बसेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना साँझ अफिस जाँदैछन् । पुँजीबजारको फ्रन्टलाई रेगुलेटर नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले साँझ पत्रकार सम्मेलन बोलाएका छन् । उनी दिनभर कार्यालय बाहिर रहेको र अचानक प्रेस मिट बोलाएको एक कर्मचारीले जानकारी दिए ।
साउदले पत्रकार सम्मेलनमा सहभागि हुन व्यवस्थान तहका सबै कर्मचारीलाई निर्देशन दिएका छन् । उनले पत्रकार सम्मेलनमा पदबाट राजीनामाको घोषणा गर्न सक्ने अडकलबाजी शुरु भएको छ ।
आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेकाे छ । उक्त पत्र आजै बोर्डमा दर्ता भएको छ । अजोड इन्स्योरेन्सको सेयर इन्साइडर कारोबारका विषयमा धितोपत्र बोर्डले गरेको छानविनलाई पूर्णता नदिएको र सत्यतथ्य सार्वजनिक नगरेको विषयमा मन्त्रालयले बोर्डसँग प्रष्टीकरण सोधेको बुझिएको छ ।
जर्नादन शर्मा अर्थमन्त्री भएपछि मन्त्रालयले बोर्डलाई सोधेको यो दोस्रो प्रष्टिकरण हो ।
त्यस्तै ढुंगाना र साउदका परिवार सदस्यले सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर पाएको विषयमा छानविन गर्न गठिन समितिले आफ्नो प्रतिवेदन अर्थसचिव मधुकुमार मरासैनिलाई बुझाएका छन् । सचिव मरासैनिले बुधबार विहान अर्थमन्त्रीलाई उक्त प्रतिबेदन बुझाउने जानकारी समितिका सदस्यहरुलाई गराएका छन् ।
गत साता संसदीय समितिमा पनि अध्यक्ष ढुंगाना र कार्यकारी प्रमुख साउदको राजीनामा माग भएको थियो । दुबै जनाले पुँजी बजारको नियामकीय भूमिकामा रहेर स्वार्थ बाझिने काम गरेकोले उनीहरुलाई हटाउने मनस्थितिमा अर्थमन्त्री शर्मा रहेको स्रोतले बतायो ।
अर्थमन्त्रीले राजीनामा नमागेपछि उनकै सिफारिसमा मन्त्रिपरिषद्ले कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमलाई पनि ब्रखास्त गरेको छ । त्यसपछि ढुंगाना र साउद दुबैलाई राजीनामा गर्न थप दवाव परेको छ ।