नेपाल बैंकको हिसावमा ३ अर्ब ४० करोड गोलमाल, राष्ट्र बैंकको सहमतिमा महालेखाको असहमति

  २०७८ भदौ ६ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष गरेको गल्तीका कारण यसवर्ष नेपाल बैंकका सेयरधनीले पाउने लाभांशमाथि प्रश्न उठेको छ । राष्ट्र बैंकले गत वर्ष सेयरधनीलाई बाढ्न नमिल्ने रकम वितरण गर्ने अनुमति दिएर अर्काे वर्ष तिर्न भनेको थियो ।

नेपाल बैंकले गत वर्ष सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर गरी कुल १ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने अनुमति दिएको थियो । तर, यस्तो लाभांश वितरण गर्नको लागि वितरण गर्न नपाइने रिजर्भबाट ल्याइएको र त्यस्तो रकम आगामी वर्षको नाफाबाट रिजर्भमा राख्न भनिएको थियो ।

‘एक्चुरियल लस वापत नियमनकारी कोषमा जम्मा गर्नुपर्ने रकममध्ये अपुग भएको रकम रु २ अर्ब २१ करोड ३४ लाख रुपैयाँ आर्थिक वर्ष २०७७/७८ मा संचित मुनाफा खाता खर्च गर्ने गरी नियमनकारी कोषमा गर्नु, २०७४ असार मसान्तसम्ममा विशेष जगेडा कोषमा जम्मा हुन आएको रकम १ अर्ब १९ करोड ७८ लाख रुपैयाँलाई सेयरधनीहरुलाई वितरण गर्न नपाउने तथा कर्मचारीहरुलाई बोनस बाड्न नपाउने गरी संचित नाफा/नोक्सानमा हिसावमा लेखांकन गरिएकोमा सो रकमलाई पुनः विशेष जगेडा कोषमा नै सारी जानकारी गराउनु,’ नेपाल राष्ट्र बैंकले गत वर्ष नेपाल बैंकलाई १ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको लाभांश (करसहित ४ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर) वितरण गर्ने अनुमति दिदा लेखेको पत्रमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले गत वर्ष नेपाल बैंकलाई लाभांश वितरण गर्न दिएको अनुमति नै आश्चर्यजनक भएको जानकारहरु बताउँछन् । नेपाल बैंकले गत वर्ष सेयरधनीहरुलाई वितरण गर्न नमिल्ने रकम तानेर वितरण गर्न खोजेको हो भने त्यसको स्वीकृति नै दिनु नहुने र वितरण गर्न मिल्ने रकम नै वितरण गरेको हो भने स्वीकृति दिदा किन शर्त राखियो भन्ने उनीहरुको प्रश्नको छ ।

‘गत वर्ष नै २ अर्ब २१ करोड रुपैयाँ एक्चुरियल लस थियो भने त्यस्तो रकम गत वर्ष नै राख भनिनु पर्थ्याे, थिएन भने अर्काे वर्ष (आर्थिक वर्ष २०७७/७८) राख किन भनियो ? सेयरधनी र कर्मचारीलाई बोनसको रुपमा वितरण गर्न नपाइने भनिएको १ अर्ब १९ करोड रुपैयाँ किन वितरण गर्न दिएको ? नियामक निकायले यस्तो गाईजात्रा पनि गर्न मिल्छ ?’ नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका एक अधिकारीले भने ।

संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले भने गत नेपाल बैंककाे ३० करोड रुपैयाँ संचित नाेक्सानमा भएर पनि लाभांश वितरण गरिएको उल्लेख गरेको छ ।

‘नेपाल राष्ट्र बैंकले दिएको साधारणसभा प्रयोजनार्थ प्रकाशित गर्ने पत्रअनुसार बिमांकीय खर्च २ अर्ब २१ करोड रुपैयाा व्यवस्था गर्ने र गत वर्ष विशेष जगेडा कोषबाट संचित मुनाफामा सारेको १ अर्ब १९ करोड रुपैयाँ पुनः जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएको थियो । उक्त रकम समायोजना गर्दा संचित मुनाफा ३० करोड रुपैयाँले ऋणात्मक हुन्छ । यस्तो अवस्थामा समेत यस वर्ष १२ प्रतिशतले हुने लाभांश १ अर्ब ८० करोड रुपैयाँ साधारणसभाबाट पारित भएको छ,’ महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाकाे प्रतिवेदनमा पनि लाभांश दर १६ प्रतिशत लेखिनु पर्नेमा १२ प्रतिशत भनेर छापिएकाे छ ।

यसवर्ष घट्ला सेयरधनीले पाउने ३ अर्ब ४० करोड ?

नेपाल राष्ट्र बैंकको पत्र र महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट नेपाल बैंकले गत वर्ष एक्चुरियल लसको २ अर्ब २१ करोड र सार्न नमिल्ने रकम भएपनि विशेष जगेडा कोषबाट सारेर वितरण गरिएको १ अर्ब १९ करोड गरी जम्मा ३ अर्ब ४० करोड रुपैयाँ सेयरधनीलाई वितरण गरेकोमा प्रश्न उठेको छ ।

यसरी प्रश्न उठेपछि नेपाल बैंकले यसवर्ष सो रकम (३ अर्ब ४० करोड रुपैयाँ) सम्बन्धित कोषमा जम्मा गर्नुपर्ने हुन सक्छ । तर, नियामक निकाय नेपाल राष्ट्र बैंकले यस वर्ष पनि गत वर्षको जस्तै पछि कमाएर तिर्न पाउने छुट दिएको अवस्थामा भने बेग्लै हुने जानकारहरू बताउँछन् ।

यो वर्ष नेपाल बैंकले सेयरधनीलाई बाढ्ने मिल्नेमध्ये ३ अर्ब ४० करोड रुपैयाँ वितरण गर्न नपाउँदा उसको वितरणयोग्य रकम निकै कम हुने देखिन्छ । नेपाल बैंकले गत असारसम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले सो बैंकको वितरणयोग्य रकम आधाभन्दा बढीले कम हुने छ ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल बैंकसँग सेयर प्रिमियममा ४३ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ५ अर्ब ४ करोड रुपैयाँ गरी ५ अर्ब ४७ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्न सक्ने देखिन्छ । यस्तो रकममा ३ अर्ब ४० करोड रुपैयाँ कम भयो भने यसवर्ष सेयरधनीले २ अर्ब ७ करोड रुपैयाँ मात्रै हुनेछ ।

तर, यो रकम पनि थोरै भने होइन । गत वर्ष नेपाल बैंकले १ अर्ब ८० करोड रुपैयाँ वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.