फेरि रोकियो मौद्रिक नीति, भोलि नआउने

<p>काठमाडौं । चालु आर्थिक वर्षको लागि ल्याउन लागिएको मौद्रिक नीति फेरि पर सरेको छ । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको हो । भोलि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा आएर रोकिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । ‘भोलि सार्वजनिक गर्ने [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको लागि ल्याउन लागिएको मौद्रिक नीति फेरि पर सरेको छ । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको हो ।

भोलि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा आएर रोकिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

‘भोलि सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं, अलि पाकेन, भोलि नआउने पक्का भयो,’ ती अधिकारीले विकासन्युजसँग भने ।

अब मौद्रिक नीति कहिले आउँछ भन्ने विषयमा पनि बताउन सक्ने अवस्थामा नरहेको उनको भनाई छ ।

‘हामीले त सबै तयारी पूरा गरेका छौं, सार्वजनिक गर्ने मिति २ पटक तय गरिसक्यौं, कहिले आउँछ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था रहेन,’ ती अधिकारीले थपे ।

राष्ट्र बैंकले असार मसान्तअघि नै आन्तरिक तयारी पूरा गरेर साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटेर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि मौद्रिक नीति अन्योलमा परेको हो ।

सरकारले चालु आर्थिक वर्षको लागि अध्यादेश मार्फत गत जेठ १५ गते नै बजेट सार्वजनिक गरेको थियो । बजेट अनुसार राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गृहकार्य गरेको थियो । तर, नयाँ सरकारले अध्यादेश मार्फत आएको बजेट परिमार्जन गर्ने र नयाँ बजेट अनुकुल हुने गरी मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकलाई निर्देशन दिएपछि अन्योल भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्तिपछिको पहिलो पत्रकार सम्मेलनमा ‘मन्त्रालयका महाशाखा प्रमुखहरुसँग छलफल चलिरहेको र छलफल सकिएपछि मात्रै मौद्रिक नीति आउने बताएका थिए । यद्यपि, मन्त्री शर्मा मौद्रिक नीतिमा आफूले हस्तक्षेप नगरेको बताइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत सोमबार (साउन १८ गते) इकोनोमिक मिडिया सोसाइटीका पदाधिकारीहरुको ज्ञापनपत्र बुझ्दै शुक्रबार (भोलि) सम्म मौद्रिक नीति आउने बताएका थिए । यस्तै, बुधबार (हिजो) संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले गरेको छलफलमा पनि गभर्नर अधिकारीले मौद्रिक नीति तयारी अवस्थामा रहेको बताएका थिए ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने योजना बनाएको भएपनि सोही दिन अर्थसमितिले मौद्रिक नीतिकै बारेमा छलफल गर्न बैठक बोलाएको छ । अर्थ समितिले भोलि ‘आगामी आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा आन्तरिक छलफल’ गर्नको लागि ११ बजे बैठक बोलाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नको लागि तोकेकै दिन संसदीय समितिले छलफल बोलाएपछि मौद्रिक नीति चेपुवामा परेको हो ।

Share News