तिम्रो धरहराको टुप्पोबाट म के हेरौं सरकार ?

  २०७८ वैशाख १८ गते १८:३७     शिव सत्याल

कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेसँगै सरकारले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शहरहरुमा फेरि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भएकै दिन गण्डकी प्रदेश सरकारले मनाङबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्यो । राजीव गुरुङलाई धेरैले गुण्डा नाइके दिपक मनाङे भनेर चिन्दा रहेछन् ।

निषेधाज्ञा जारी गरिएको दोस्रो दिन अर्थात बैशाख १७ गते अर्काे समाचारले संचारमाध्यम भरिए । समाचार थियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘सर्वसाधारणमा अपिल ।’ अपिलमा भनिएको थियो, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाई तथा दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अपिलको सार के हो भने यो महामारीबाट सिकिस्त हुने बिरामीको हेरचाहको लागि अब सरकारसँग आश नगर्नु । अर्थात् सके आफै बाच्नु, नसके हामीलाई केही नभन्नु ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अपिलको सार के हो भने यो महामारीबाट सिकिस्त हुने बिरामीको हेरचाहको लागि अब सरकारसँग आश नगर्नु । अर्थात् सके आफै बाच्नु, नसके हामीलाई केही नभन्नु ।

निषेधाज्ञा सुरु भएको दिन नेपालमा ४ हजार ८ सय ३१ जनामा कोभिड संक्रमण पुष्टी भएको थियो । सो दिन कोभिडकै कारण २३ जनाले ज्यान गुमाउनु परेको थियो । निषेधाज्ञा सुरु भएको दोस्रो दिन नेपालमा ५ हजार ६ सय ५७ जनामा संक्रमण भएको थियो भने ३३ जनाले ज्यान गुमाएका थिए ।

राजधानी काठमाडौं उपत्यकासहित प्रमुख शहरहरुमा निषेधाज्ञा जारी भएको भोलिपल्ट नै अब अस्पतालहरुमा शैया उपलब्ध गराउन सक्दिन भनेर सरकारले हात झिक्नुपर्ने अवस्था कसरी आयो ? त्योभन्दा अगाडि सरकारले के के तयारी र काम गर्यो ?

यसको लागि बैशाख महिना लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रमुख कामहरु सम्झौं । जस्तो कि उनले बैशाख १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहकाबीच माओबादीका बहिगर्मित लडाकु र मधेशी आन्दोलनकारीलाई सम्बोधन गरे । सो कार्यक्रममा हजारभन्दा बढी संख्यामा मानिसको उपस्थिति थियो ।

बैशाख ४ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाए । सो बैठकमा एमसीसी, उपनिर्वाचन र कोभिड महामारी लगायतका विषयमा छलफल भयो ।

बैशाख ६ गते प्रधानमन्त्री ओलीले उनको सरकारी निवास बालुवाटारमा नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक राखे । बैठकमा सो कमिटीका २६५ जना सदस्य उपस्थित थिए । जबकि सोही दिन बिहान बसेको मन्त्रिपरिषद बैठकले २५ जनाभन्दा बढी भेला हुन रोकेको थियो भने शैक्षिक संस्था बन्द गराउने निर्णय पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भगवान श्रीराम चितवनको माडीमा जन्मिएका हुन् भन्ने अकाट्य विश्वास छ । त्यसैले प्रधानमन्त्री ओलीले भगवान राम र सीताको मूर्ति बनाउन लगाए । बैशाख ७ गते प्रधानमन्त्री ओलीले सयौं मासिनको उपस्थितिमा बालुवाटारमै राम सीताको मूर्तिमा पुजा गरे । र, देवघाट हुँदै माडी पुग्ने ५ सय गाडीको शोभायात्रालाई बालुवाटारबाटै विधाई गरे ।

अघिल्लो दिन बालुवाटारबाट प्रस्थान गराइएको राम सीताको मूर्ति बैशाख ८ गते चितवनको माडीमा प्रतिस्थापन गर्ने कार्यक्रम थियो । मूर्ति प्रतिस्थापन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायत सरकारका उच्च अधिकारीहरुको उपस्थिति थियो । सो कार्यक्रममा करिब ४ हजार मानिस उपस्थित भएको तथ्य सार्वजनिक भयो ।

बैशाख ९ गते एमालेको पार्टी कार्यालय धुम्वाराहीबाट थापाथली सारियो । र, त्यही दिन बल्खुमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरियो । यी दुबै कार्यक्रममा एमाले नेता कार्यकताको बाक्लो उपस्थितिसहित प्रधानमन्त्री आफै सहभागी थिए ।

बैशाख १० गते प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाए । सो बैठकमा देशभरबाट आएका २५० भन्दा बढी एमाले नेता सहभागी थिए ।

बैशाख ११ गते प्रधानमन्त्री ओलीले नवनिर्मित धरहरा उद्घाटन गरे । २०७२ को भूकम्पबाट भत्केको धरहरा पुननिर्माण गरिएको हो ।

पार्टीभित्रको आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसकी प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन गर्ने भनेर गरेको निर्णयपछि भएका गतिविधि कोभिड संक्रमण विस्तारको मूख्य काटलिष्ट हुन् ।

बैशाख ४ गतेको सर्वदलीय बैठक बाहेक कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले के काम गर्यो ? बरु संक्रमण बढाउन भूमिका निर्वाह गर्यो कि गरेन ?

पार्टीभित्रको आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसकी प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन गर्ने भनेर गरेको निर्णयपछि भएका गतिविधि कोभिड संक्रमण विस्तारको मूख्य काटलिष्ट हुन् ।

आफू नेतृत्वको सरकारले विकासको मूल फुटाएको र विरोधीहरुले त्यो सहन नसकेर विरोध गरिरहेको प्रधानमन्त्री ओलीले बताइरहेका छन् । कोभिड महामारी नियन्त्रण र रोकथामकै लागि भनेर २०७६ साल चैत ११ गतेदेखि नै भदौसम्म देशव्यापी रुपमा लकडाउन गरिएको थियो । यो वर्ष पनि बैशाख लागेपछि कोभिड महामारी अनियन्त्रित भएर बढ्छ भन्ने आकलन सर्वसाधारणसम्मले गरिसकेका थिए भने सरकारले नगर्ने भन्ने कुरै भएन । तर, महामारी नियन्त्रण गर्न र अहिले देखिए जस्तै भयावह अवस्था आयो भने उपचारको लागि भनेर सरकारले प्रभावकारी काम के गर्यो ?

प्रधानमन्त्रीले भने जस्तै विकासको विरोध गर्न मलाई पनि मन छैन । समृद्ध नेपालः सुखी नेपाली भएको हेर्न र भोग्न मलाई पनि चाह छ । तर, प्रधानमन्त्रीज्यू, गत कात्तिक ५ गते राष्ट्रपतिले उद्घाटन गर्नुभएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्रार्थना गरेर कोभिड संक्रमितको ज्यान बचाउन सकिएला ? कि तपाईंको निर्देशन अनुसार गत फागुन १२ गते ८३ करोड ७ लाख ६८ हजार रुपैयाँ (१०८ केजी) को सुनको जलहरी लगाएका पशुपतिनाथमा गएर कोभिड संक्रमणबाट ज्यान गुमाएकाहरुलाई भगवान महादेवको प्रथम गणमा सहभागी गराइदिनुस् भन्ने भाकलसहित पुजा अर्चना गरौं प्रधानमन्त्रीज्यू ? रानीपोखरीको उद्घाटन र पशुपतिनाथ मन्दिरमा राखिएको १०८ केजी सुनको जलहरी पनि तपाईंको विकासको मूलभित्रै पर्छ भन्ने दलिल तपाईले गरिरहनुको अर्थ केही छ भन्ने मैले महसुस गरेको छु ।

तपाईंकै पहलमा चितवनको माडीमा स्थापना गरिएका राम सीताको मूर्ति स्मरण गरी २२ तले नयाँ धरहराको टुप्पोमा बसेर कोभिडका कारण ज्यान गुमाएकाहरुको बैकुण्ठबास होस् भन्ने कामना गरौं त प्रधानमन्त्रीज्यू ?

प्रधानमन्त्रीको दाबी अनुसार धरहराको निर्माण उनको कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धीमध्ये एक हो । तपाईंकै पहलमा चितवनको माडीमा स्थापना गरिएका राम सीताको मूर्ति स्मरण गरी २२ तले नयाँ धरहराको टुप्पोमा बसेर कोभिडका कारण ज्यान गुमाएकाहरुको बैकुण्ठबास होस भन्ने कामना गरौं त प्रधानमन्त्रीज्यू ?

तपाईंको कार्यकालमा बनेको धरहराबाट अहिले म के हेरौं प्रधानमन्त्रीज्यू ? धरहराको गजुरमा ८७ लाख ५९ हजार रुपैयाँको सुन (९५ तोला) को जलप लगाएको गजुर छ । धरहराको टुप्पोबाट माडी देखिदैन होला । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर देखिन्छ होला । पशुपतिनाथ मन्दिर देखिन्छ होला । यति अग्लो धरहरा बनाउँदा पनि तपाईंका विकासका मूल केही देखिँदा रहेछन्, केही देखिदा रहेनछन् ।

तर, प्रधानमन्त्रीज्यू, धरहराको टुप्पोबाट हेर्दा अम्बाको पात नचिनिन सक्छ । बेसारको बोट नदेखिन सक्छ । अक्सिजन र आधारभूत स्वास्थ्य सेवा नपाएर टेकु, बीर, टिचिङ, सिभिल जस्ता अस्पतालहरुमा बाँच्ने आशमा जीवनको अन्तिम स्वास लिन छटपटाइरहेका कोभिड संक्रमित देखिन सक्छन् । मानिसको ज्यान जोगाउन मास्क र ग्लोब नखोली २४सै घण्टा खटिरहेका स्वास्थ्यकर्मी देखिन सक्छन् ।

दिपक मनाङे भनेर लोकले चिनेका राजीव गुरुङको मन्त्री पदको बैशाख १६ गतेको सपथ धरहराको टुप्पोबाट हेर्न पटक्कै मन छैन । अब अस्पतालमा शैया उपलब्ध गराउन सकिदैन भन्ने व्यहोराको बैशाख १७ गतेको स्वास्थ्य मन्त्रालयको सर्वसाधारणमा अपिल हेर्दा र पढ्दा आफै मरेतुल्य हुन्छु ।

नवनिर्मित धरहराको टुप्पोबाट म के हेरौं सरकार ? म के हेरौं प्रधानमन्त्रीज्यू ? दिपक मनाङे भनेर लोकले चिनेका राजीव गुरुङको मन्त्री पदको बैशाख १६ गतेको सपथ धरहराको टुप्पोबाट हेर्न पटक्कै मन छैन । अब अस्पतालमा शैया उपलब्ध गराउन सकिँदैन भन्ने व्यहोराको बैशाख १७ गतेको स्वास्थ्य मन्त्रालयको सर्वसाधारणमा अपिल हेर्दा र पढ्दा आफै मरेतुल्य हुन्छु । यस्तो अवस्थामा नयाँ धरहराको टुप्पोबाट म के हेरौं सरकार ? के हेरौं प्रधानमन्त्रीज्यू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.