एसियन कंक्रिटोले पायो गुणस्तर चिन्ह, निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगमध्येकै पहिलो बन्न सफल

  २०७८ वैशाख १८ गते १७:२१     विकासन्युज

काठमाडौं । निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह ‘एनएस’ पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो हो ।

उद्योगले यही बैशाख ७ गते विभागबाट एनएस पाएको हो । उक्त एनएसका लागि उद्योगले गत कात्तिकमा आवेदन दिएको थियो ।

‘एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरु थिए । तर, उनीहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिएको थिएन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘तर, एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउने वित्तिकै एनएसको मापदण्ड बनाउन अनुरोध गर्दै आएको थियो ।’

संसारभर यस्ता सामग्रीको मापदण्ड हुन्छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार यसको मापदण्ड बनाउन अनुरोध गरेको उद्योगका अध्यक्ष मनीष रुङ्गाटाले जानकारी दिए । ‘हाम्रो मर्मलाई बुझेर विभागले पनि द्रूत गतिमा काम गर्यो,’ उनले भने, ‘त्यही भएर एनएस लिन सफल भइयो । अब सरकारले बनाएको मापदण्ड उनीहरुले गर्ने कार्यमा अनिवार्य लागू गर्नुपर्छ ।’

एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तर अनुसार हुने छन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ ।

कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा ठूलो समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

‘अहिलेसम्म कर्बस्टोनदेखि इन्टरलक ब्लकको गुणस्तरको कुनै ग्यारेन्टी थिएन’ उनले भने, ‘तर, एसियन कंक्रिटोले नेपाल गुणस्तर पाएसँगै उद्योगबाट उत्पादित कर्बस्टोनदेखि इन्टरलक ब्लकलगायत यस्ता किसिमका सामनको गुणस्तरमा सुचिश्चितता आएको छ ।’

उद्योगले इँटासहित २३ वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । ‘सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र गार्डेनलाई सुन्दर बनाउनेसम्म सामग्री बनाइरहेका छौ,’ भाइस प्रेसिडेन्ट श्यामल झाले भने, ‘एनएस पाएपछि बलियो, सुन्दर, टिकाउ र प्रकृतिको संरक्षण गर्दै उत्पादन गरेका छौं भनेर हिड्नुपर्ने बाध्यताबाट मुक्त भइयो ।’

लगानीकर्ताका अनुसार सरकारले सार्वजनिक स्थल बनाउन प्रयोग गरिने यस्ता किसिमका निर्माण सामग्री अनिवार्य एनएस प्राप्त हुनुपर्ने व्यवस्था बनाउनुपर्छ । त्यसो हुने वित्तिकै सरकारले ठूलो धनराशी खर्च गरेर बनाएको पूर्वाधार लामो समयसम्म टिक्ने उनीहरु बताउँछन् । खासगरी, सडक विभाग तथा भवन विभागले बनाउने संरचनाका लागि बोलपत्र आह्रवान गर्दा एनएस लिएका उद्योगको मात्रै सामग्री लिनुपर्ने व्यवस्था गर्नुपर्ने अग्रवालको भनाइ छ ।

‘अहिले अनिवार्य छैन्, यसलाई अनिवार्य बनायो भने, एकातिर अरु उद्योगले पनि नेपाल गुणस्तर लिन्छन् र सोही अनुसार आफ्नो उत्पादनको गुणस्तर पनि सुर्धाछन्,’ उनले भने, ‘सरकारले ठूलो धनराशी खर्च गरेर बनाएको संरचना टिकाउ र बलियो हुन्छ ।’

One comment on "एसियन कंक्रिटोले पायो गुणस्तर चिन्ह, निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगमध्येकै पहिलो बन्न सफल"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.