काठमाडाैं । काठमाडौं । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले गत वर्ष मानवीय गतिविधि ठप्प पार्यो । अघिल्लो वर्ष चैत ११ गतेदेखि देशव्यापी रुपमा जारी गरिएको लकडाउन भदौसम्म सटडाउन र निषेधाज्ञाका नाममा जारी रह्यो ।
सरकारले जारी गरेको लकडाउन, सटडाउन र निषेधाज्ञाको कारण पेशा व्यवसाय गर्न नपाएका उद्योगी, व्यवसायी, रोजगारीमा रहेका तथा अन्य सबै सर्वसाधारणले सरकारबाट खासै कुनै राहत पाएनन् । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै सरकार फेरि लकडाउनको तयारी अवस्थामा पुगेको देखिन्छ ।
महामारीको बेला खान लाउन तथा स्वास्थ्यउपचार जस्तो आधारभूत तथा अत्यावश्यक काम गर्न नपाएका जनताप्रति कुनै सहानुभूति नदेखाएको सरकार भगवान र भ्यू टावरप्रति भने अति नै सम्वेदनशील देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत फागुन १२ गते पशुपति नाथ मन्दिरमा १०८ केजी सुन जलहरी लगाइयो । यस्तै, वैशाख ८ गते (हिजो) धरहरामा ९५ तोला सुनको जलप लगाइएको गजुर स्थापना गरिएको सार्वजनिक भएको छ ।
सरकारले यो दुई महिनाको बीचमा राज्य कोषबाट करिब ८४ करोड रुपैयाँ मूल्य बराबरको सुन मन्दिर र भ्यू टावर (धरहरा) मा राखेको छ ।
गत वर्ष फागुन १२ सरकारले १०८ केजीको जलहरी पशुपति नाथमा राखेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ थियो । एक तोला सुनमा मा ११.७ ग्राम हुन्छ । एक केजी सुन भनेको ८५.४७ तोला हो । पशुपतिमा राखिएको सो सुनको मूल्य नै प्रतिकेजी ७६ लाख ९२ हजार ३ सय रुपैयाँका दरले १०८ केजीको ८३ करोड ७ लाख ६८ हजार ४ सय रुपैयाँ हुन आउँछ ।
सरकारले गत वर्ष फागुन १२ गते पशुपतिमा सुन राख्नैका लागि सो रकम खर्च गरेको छ । यस्तै, बुधबार मात्रै सरकारको निर्णय अनुसार धरहराको गजुरमा ९५ तोला सुनको जलप लगाइयो । हिजो (बुधबार) सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो । सो मूल्य अनुसार धरहरामा सुनको जलप लगाउँदा मात्रै ८७ लाख ५९ हजार रुपैयाँको सुन खपत भएको छ ।
सरकारले यो २ महिनाको बिचमा ८३ करोड ९५ लाख २७ हजार ४ सय रुपैयाँको सुन मन्दिरमा चढाउन र धरहरा (भ्यूटावर) मा खर्च गरेको देखिन्छ । भोका जनतालाई राहत प्रदान गर्न उदाशिन देखिएको सरकारको भगवान तथा भ्यू टावरलाई सुन दान गर्ने मोह भने गज्जवको छ ।