२०७७ चैत २५ गते १३:१७ विकासन्युज
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले काठमाडौंको ठमेलमा बुटिक होटल निर्माण थालेका छन् । मल्लले पर्यटकिय गन्तव्य ठमेलमा ठूलो लगानीमा होटल सहितकाे ट्रेड सेन्टर निर्माणको काम थालेका हुन् ।
ठमेल ट्रेड सेन्टर नाम दिएको सो होटल अहिले निर्माणाधीन अवस्थामा छ । मल्लका अनुसार सो होटलको लागत करिब ५० करोड रुपैयाँ रहेको छ । करिब १० आना जग्गाको क्षेत्रफलमा आफूले होटल निर्माण सुरु गरेको उनले बताए ।
‘अहिले प्रारम्भिक लागत ५० करोड रुपैयाँ रहेको छ, विस्तारै यसलाई स्तरोन्नती गर्न पनि सकिन्छ, ६ महिनापछि होटल सञ्चालन गर्ने योजनाका साथ हामी काम गरिरहेका छौं,’ उनले भने ।
उनका अनुसार ठमेल ट्रेड सेन्टरको माथिल्लो तलाहरुमा होटल हुनेछ । सो होटल बुटिक शैलीमा हुनेछ । सो होटल ८ तलेको हुने उनको भनाई छ । होटलका लागि कुल ३० वटा कोठाहरु रहनेछन् ।
होटलको टपमा भीआईपी बार रहने उनले बताए । ‘हामीले ८ तलाको होटल बनाउने छौं, बुटिक शैलीको होटलमा पर्यटक तथा ग्राहकहरुले रोजे अनुसारको सेवा पाउनेछन्, होटलको टपमा बन्ने भीआईपी बारबाट पुरै काठमाडौं देखिनेछ, त्यसले पनि एक प्रकारको आनन्द ग्राहकले लिन पाउने छन्,’ उनले भने ।
सो होटलमा ३ जनाको स्वामित्व रहेको उनको भनाई छ । व्यवसायी मल्लले विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन् । उनले बैंक बीमा, शिक्षा, पर्यटन, ईट्टा उद्योग लगायत व्यापार व्यवसायमा लगानी गरेका छन् ।
मनाङ एयर, प्रभु इन्स्योरेन्स, कान्तिपुर इन्जिनियरिङ कलेज लगायतका उनका परिचित व्यवसाय हुन् । हालसम्म चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका उनी चैत २८ गते अध्यक्ष घोषित हुँदैछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.