केही समयभित्रै बृद्धभत्ता ५ हजार पुग्छः प्रधानमन्त्री ओली

  २०७७ फागुन २० गते १५:२७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमै बृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने आश्वासन दिएका छन् ।

प्रतिनिधिसभाको गत निर्वाचनमा बृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने वाचा गरेको बाम गठबन्धनका प्रधानमन्त्री ओलीले आफ्नो पदनै संकटमा परेको र निर्वाचन आउन २ वर्षभन्दा कम समय रहेपछि यस्तो आश्वासन दोहोर्याएका हुन् ।

प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको शिलान्यास गर्दै बृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने आश्वासन दिए ।

‘२०५१ सालमा हामीले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने काम सुरु गरेका थियौं, अहिले त्यसलाई बढाएर ३ हजार पुर्याएका छौं, अब केही समयभित्रै त्यसलाई बढाएर ५ हजार रुपैयाँ पुर्याउँछौं,’ प्रधानमन्त्री ओलीले भने ।

सत्तारुढ नेकपाभित्रको आन्तरिक खिचलो व्यवस्थापन गर्न नसकी प्रधानमन्त्री ओलीले गत पुस ५ गते सनकका भरमा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन गर्ने निर्णय गरेका थिए । तर, प्रधानमन्त्री ओलीको सो कदम असंबैधानिक रहेको भन्दै सर्वाेच्च अदालतमा परेको निवेदनमाथि फैसला गर्दै अदालतले प्रतिनिधिसभा पुनस्थापना गरिदिएको छ ।

प्रधानमन्त्रीको सो दकमको विरोधमा सत्तारुढ नेकपा राजनीतिक र व्यवहारिक रुपमा विभाजन भइसकेको छ । एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन् । यी दुबै समुह आफू नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् ।

सत्तारुढ नेकपा विभाजन भइसकेकोले प्रधानमन्त्री ओली आफ्नो पदमा टिकिराख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि बाँकी छ । फागुन २३ गतेको लागि बोलाइएको प्रतिनिधिसभा बैठकले नयाँ प्रधानमन्त्री दिने वा ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने भन्ने यकिन गर्ने अनुमान गरिएको छ ।

आफ्नो पद नै संकटमा परेको बेलामा प्रधानमन्त्री ओलीले बृद्धभत्ता बृद्धि गर्ने राजनीतिक नारा दिएका हुन् ।

ओली प्रधानमन्त्री बनेपछि आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनालाई राष्ट्रिय गौरबको आयोजना बनाइएको थियो । सुनकोशी नदीको पानीलाई करीव १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर यो आयोजना बनाइने भनिएको छ ।

आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ पुर्याउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री ओलीले सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटारमा आयोजनाको शिलान्यास गरेका हुन् ।

आयोजना शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, चिनियाँ राजदूत होउ यान्छी लगायतको टोली पनि सिन्धुली जाँदैछ । सो आयोजना निर्माण्का लागि सरकारले २ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आयोजना निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ । सुनकोशी नदीको पानी मरिन हुँदै वाग्मतीमा मिसाई तराईमा सिंचाइको व्यवस्था मिलाउने गरी आयोजना बनाउन लागिएको छ। सो आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिरहेको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ । सो कम्पनीले १० अर्ब ५ करोड ६८ लाखमा आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.