काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित वयवसायीहरुका समस्या नबुझेको तथा वेवास्ता गरेको भन्दै उनीहरुले समस्या समाधानका लागि प्रधानमनत्रीलाई गुहारेका छन् । उनीहरुले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
लामो समयदेखि नेपाल राष्ट्र बैंक समक्ष आफ्ना समस्या समाधानका लागि छलफलमा बस्न खोजेपनि राष्ट्र बैंकले वेवास्ता गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई पत्र पठाउन्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।
उनीहरुले सो पत्रमा विभिन्न मागहरु समेत राखेका छन् । कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको जटिल परिस्थितिका कारण धाराशायी बनेका सम्पूर्ण पेशा व्यावशायीहरुले महामारी पीडित सर्वपक्षीय पेसा व्यवसायी संघर्ष समिति गठन गरेर ओलीलाई पत्र पठाएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणी व्यवसायीहरुका समस्या नबुझेर अनावश्यक रुपमा धितो लिलाम गर्ने काम गरेको भन्दै त्यसको विरोधमा समेत उत्रिएका छन् ।
उनीहरुले ओलीर्लाइ पत्र पठाउँदै व्यवसायीहरुका लागि तत्काल राहत प्याकेज घोषणा, कोभिडका कारण बन्द रहेका सम्पूर्ण पेशा व्यावशायीहरुलाई लगाईने राज्यका सम्पूर्ण कर एवं जरिवाना मिनाहा, निजी लगानीमा संचालित सम्पूर्ण सार्वजनिक यातायात, पर्यटन÷पर्यटकिय व्यवसाय, होटेल, विद्यालय र कलेज, क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावशायीहरु अति प्रभाववित क्षेत्र भएकोले सबैलाई ऋणको व्याज, घर भाडा, जरिवाना छुट गर्नुपर्ने र राज्यवाट नै त्यसको व्यवस्था गर्नु पर्र्ने उल्लेख गरेका छन् ।
पत्रमा कोभिड प्रभावित व्यावशायमा आश्रित सम्पूर्ण कर्मचारीहरुलाई राज्यले न्यूनत्तम ५०% तलबको व्यवस्था, व्यवसायीहरुले सम्पूर्ण वैंक (एउटा कम्पनिले जतिसुकै वैंकवाट ऋण भएपनि सवै वैंकको)को व्याज छुट, राज्यका सबै बैंङ्क तथा वित्तिय संस्थाबाट पेशा व्यावशाय निरन्तरताका लागि अत्यन्त सरल र सहज तरिकाले न्यूनत्तम व्याजदरमा सफ्ट लोनको व्यवस्था र सम्पूर्ण निजी उद्योग, कारखाना, सेवा प्रदायक शिक्षा तथा पर्यटन क्षेत्रमा गरिएको निजी लगानीलाई राष्ट्रिय पूँजी र लगानीको रुपमा परिभाषित गर्न आग्रह गरेका छन् ।
यस्तै उनीहरुले यी मागहरु एक हप्ता भित्र पूरा नभए राज्य विरुद्द कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले ओलीलाई पत्र पठाएको २ हप्ता बितिसकेको छ तर हालसम्म उनीहरुका मागको कुनै सम्बोधन भएको छैन ।
उनीहरुले अब भोलि समितिको बैठक बसेर औपचारिक रुपमा आन्दोलनको घोषणा गर्ने बताएका छन् । महामारी पीडित सर्वपक्षीय पेसा व्यवसायी संघर्ष समितिका अध्यक्ष अच्युत गुरागाइँले भोलि समितिको बैठकले आगामी कदमको बारेमा निर्णय लिने बताए ।
राष्ट्र बैंक र सरकारले समेत दुई किसिमको भूमिका खेलेको छ, जुन हामी सबैको लागि गलत हो, हामी भोलि औपचारिक रुपमा हामीले गर्ने कामको बारेमा जानकारी गराउँछौं,’ उनले भने । स्रोतका अनुसार भोलि उनीहरुले सरकार विरुद्द आन्दोलनको घोषणा गर्नेछन् ।