बीमा समिति अध्यक्ष बन्ने प्रतिस्पर्धाः तीन प्रत्यासी रिङआउट, रेसमा थपिए लम्साल

  २०७७ पुष ८ गते १०:५०     विकासन्युज

काठमाडौं । राजनीतिक परिस्थितिमा आएको परिवर्तनले बीमा समितिको अध्यक्षको प्रत्यासी परिवर्तन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा विभाजन भएकोले प्रतिस्पर्धामा रहेका तीन जना प्रबल दाबेदार ‘रिङआउट’ भएका हुन् ।

सत्तारुढ नेकपा विभाजन नभएको अवस्थामा समितिका अहिलेकै अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र नेपाल स्टक एक्सचेञ्जका पूर्व अध्यक्ष टंक पनेरु प्रमुख दाबेदारमध्येमा थिए । तर, नेकपा विभाजन भइसकेकोले यी तीन जना नै प्रत्यासीको सम्भावना करिब समाप्त भएको छ ।

अध्यक्ष चापागाईं नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । दाहाल समुहले प्रधानमन्त्री ओलीलाई पार्टीको अध्यक्ष पदबाट हटाएको घोषणा गरिसकेको छ । त्यसैले दाहाल निकट चापागाईंलाई ओली सरकारले अध्यक्ष बनाउने सम्भावना असाध्यै कम छ ।

यस्तै, अर्का प्रतिस्पर्धी महेश गुरागाईं निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निकट हुन् । भट्टराईले मन्त्री भएको बेलामा आफू अध्यक्ष रहने नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिमा गुरागाईंलाई लगेका थिए । भट्टराई पनि नेकपाको ओली विराधी खेमामा खुलेर लागेका छन् ।

अर्का प्रतिस्पर्धी टंक पनेरु नेकपा वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन् । खनाल पनि ओली विरोधी नेकपामा संलग्न रहेकोले ओली सरकारले पनेरुलाई समितिको अध्यक्ष बनाउने सम्भावना कम छ । त्यसैकारण पनेरु पनि रिङआउट छन् ।

सिवाकोटीको पल्ला भारी, रेसमा थपिए लम्साल

समितिको अध्यक्षको प्रतिस्पर्धामा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पल्ला भारी भएको छ । प्रधानमन्त्री ओली निकट सिवाकोटीलाई गभर्नर बनाउन नसकेको गुन तिर्न पनि प्रधानमन्त्रीले बीमा समितिको अध्यक्ष बनाउने सम्भावना अधिक छ । डेपुटी गभर्नर सिवाकोटी इमान्दार र क्षमतावान व्यक्तिको रुपमा चिनिन्छन् ।

सत्तारुढ नेकपामा आएको हलचलले बीमा समितिको अध्यक्ष बन्ने रेसमा रमेश लम्सालको जवरजस्त उपस्थिति देखिएको छ । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत र बीमा क्षेत्रकै व्यक्ति हुन् ।

लम्साललाई पुनर्बीमा कम्पनीमा नेकपा नेता बामदेव गौतमले लगेका थिए । गौतम अहिले पनि नेकपाको कुन खेमामा लाग्छन् भन्ने स्पष्ट भइसकेको छैन । यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग पनि लम्सालको राम्रो सम्बन्ध छ । प्रधानमन्त्री ओलीलाई काँध थाप्ने नेताहरुमध्येमा पोखरेल अग्रपंतीमा आउँछन् । त्यसैकारण लम्साललाई वलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । बीमा समितिका अध्यक्ष चापागाईंको कार्यकाल पुस २२ गतेदेखि सकिदैछ ।

सम्बन्धित सामग्री

२०५८ सालदेखि ‘ल्याइते’को भरमा बीमा समिति, राम्रो काम गर्नेले पाएनन् धेरै समय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.