काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ५ कम्पनीले परिसुचक हल्लाउने गरेका छन् । यी ५ कम्पनीमध्ये तेस्रो स्थानमा पर्ने नबिलले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेको छ ।
नविलले नेपाल राष्ट्र बैंकको स्वीकृति र यो वर्षको साधारणसभाबाट पारित भएमा उसले सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर दिने भएको छ । सो प्रस्ताव बैंक संचालक समितिले गरेको हो ।
नेप्सेको इन्डेक्स नै हल्लाउने सामर्थ राख्ने कम्पनीहरु नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोष हुन् । तर, बाँकी ४ कम्पनीले भने यसवर्षको लाभांश घोषणा गरेका छैनन् ।
अहिले नेप्सेमा २ सय १२ कम्पनी सुचिकृत छन् । सुचिकृत कम्पनीको बजार पुँजीकरण २६ खर्ब ४४ अर्ब १८ करोड रुपैयाँ पुगेका छ । यी ५ कम्पनीको बजार पुँजीकरण ६ खर्ब २७ अर्ब रुपैयाँ छ । सुचिकृत कम्पनीको संख्या धेरै भएपनि कुल बजार पुँजीकरणमा २३.७१ प्रतिशत हिस्सा ५ कम्पनीको छ ।
नबिलको १० करोड ८ लाख कित्ता सेयर नेप्सेमा सुचिकत छन् । हिजो (सोमवार) नबिलको सेयर १२ सय ३१ रुपैयाँमा कारोबार बन्द भएको थियो । हिजो नबिलको बजार पुँजीकरण १ खर्ब २४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
नेप्सेको इन्डेक्स हल्लाउने सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम हो । टेलिकमको १५ करोड कित्ता सेयर नेप्सेमा सुचिकृत छ । हिजो सो कम्पनीको सेयर प्रतिकित्ता १ हजार ८७ रुपैयाँमा कारोबार बन्द भएको थियो । हिजो टेलिकमको बजार पुँजीकरण १ खर्ब ६३ अर्ब रुपैयाँ छ । टेलिकमले पनि यस वर्ष लाभांश घोषणा गरिसकेको छैन ।
नेप्सेको इन्डेक्स हल्लाउने सामर्थ राख्ने दोस्रो ठूलो प्रभावशाली कम्पनी नेपाल पुनर्बीमा कम्पनी हो । सो कम्पनीको १० करोड कित्ता सेयर सुचिकृत छन् । हिजो सो कम्पनीको सेयर प्रतिकित्ता १३ सय ९० रुपैयाँमा कारोबार बन्द भएको छ । सो कम्पनीको बजार पुँजीकरण १ खर्ब ३९ करोड रुपैयाँ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीले पनि लाभांश घोषणा गरेको छैन ।
नेप्सको इन्डेक्स हल्लाउने सबैभन्दा प्रभावशाली कम्पनीको चौथो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पर्छ । सो कम्पनीको ५ करोड ४९ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत छन् । हिजो सो कम्पनीको सेयर प्रतिकित्ता २१ सय ३८ रुपैयाँमा कारोबार बन्द भएको छ । नेपाल लाइफको बजार पुँजीकरण १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ छ । सो कम्पनीले पनि यसवर्ष लाभांश घोषणा गरेको छैन ।
बजार पुँजीकरणका हिसावले पाँचौं ठूलो कम्पनी नागरिक लगानी कोष हो । कोषको १ करोड ६४ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत छन् । हिजो सो कम्पनीको सेयर प्रतिकित्ता ५१ सय ६० रुपैयाँमा कारोबार बन्द भएको छ । कोषको बजार पुँजीकरण ८४ अर्ब ६६ करोड रुपैयाँ छ । कोषले पनि चालु आर्थिक वर्ष लाभांश घोषणा गरिसकेको छैन ।
सम्बन्धित समाचार