काठमाडौं । किसानसँग खरिद गरिएको उखुको समयमै भुक्तानी नदिने चिनी उद्योग विरुद्ध ठगी मुद्दा दायर भएको छ । किसानको भुक्तानी नदिएका श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिल विरुद्ध मुद्दा दायर भएको हो ।
किसानको भुक्तानी नदिने उद्योग संचालक विरुद्ध ठगी मुद्दा परेको र सम्बन्धित जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकोले आफूहरु उद्योगी खोजिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
‘किसानको भुक्तानी नदिने उद्योग संचालक विरुद्ध ठगी मुद्दा परेको छ, सम्बन्धित जिल्ला अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ, नेपाल प्रहरीका सम्बन्धित निकायहरुले पक्राउ पुर्जी जारी भएका उद्योग संचालक खोजिरहेको छ,’ एसएसपी कुँवरले विकासन्युजसँग भने ।
उखु किसानको भुक्तानी समयमै नतिर्ने उद्योग विरुद्ध गृहमन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिएको थियो । उद्योगले समयमै भुक्तानी नदिएको भन्दै उखु किसान एक हप्तादेखि काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।