यस वर्ष बढेन दरबारमार्गको भाडा, सामानको अभावले आएन अफर

  २०७७ पुष २ गते १२:००     नबिन पाेखरेल

काठमाडौ । अघिल्ला वर्षहरुमा वार्षिक १५ देखि ३० प्रतिशतसम्म भाडा बढाउने दरबार मार्गका घरधनीहरुले यसवर्ष भने भाडा बढाएका छैनन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीहरुको राहत स्वरुप उनीहरुले घर तथा सटर भाडा नबढाएका हुन् ।

कोरोना भाइरसको कारण लामो समयमसम्म भएको लकडाउन र त्यसपछिको विभिन्न समयमा भएको निषेधाज्ञाले समस्यामा परेको व्यवसायीहरुलाई सो क्षेत्रका घरधनीहरुले एक महिनाको भाडा छुट पनि दिएका छन् । लामो समयसम्म व्यापार व्यवसाय नचल्दा उनीहरु आर्थिक संकटमा परेका थिए । उनीहरुको राहतस्वरुप घरधनीहरुले यो वर्ष भाडा नबढाई र एक महिनाको भाडा नलिई सहयोग गरेका हुन् ।

दरबारमार्गमा पवित्रा स्टोरकी सन्ध्या बस्नेतले घरधनीहरुले एक महिनाको तलब छुट दिँदा र यो वर्ष भाडा पनि नबढाउँदा धेरै राहत महसुस गरेको बताइन् । ‘ ग्राहकको संख्या कम भएको छ, सोही कारण व्यापारपनि घट्दो अवस्थामा छ, व्यापार नै नभएको समयमा भाडा पनि बढेन, एक महिनाको भाडा पनि छुट भयो, अलिकति भएपनि राहत महसुस भएको छ,’ उनले भनिन् ।

उनले ग्राहकहरु घटेर व्यापारी घाटामा गएको बेलामा घरधनीले समस्या बुझेर पीडा महसुस गरेको बताइन् । कोरोना महामारीको सुरुवातीसँगै भएको लकडाउनको अवधिमा अधिकांश पसलहरु बन्द थिए । सो समयमा खुद्रा पसल समेत बन्द भएको भन्दै घरधनीले एक महिनाको भाडामा छुट पनि दिएका थिए ।

यस्तै, दरबारमार्गमै कपडाको व्यापार गर्दै आएका दिपक केसीले पनि यस वर्ष घरधनीहरुले भाडा नबढाउँदा राहात महसुस भएको बताए । ‘प्रत्येक वर्ष १५ देखि २५ प्रतिशतसम्म भाडा बढ्थ्यो, तर यो वर्ष भने बढेन, सामान्य अवस्थामा पुग्न भने अझै ५ वर्ष नै लाग्छ,’ उनले भने ।
लकडाउनको समयमा बैंकको व्याज, घरधनीको भाडा लगायतका पैसा तिर्नु पर्ने तर सोही अनुसारको व्यापार नभएकोले व्यापारीहरुलाई धेरै समस्या भएको उनको भनाई छ ।

‘लक डाउनको समयमा व्यापार भएन, हामीले आफ्ना कर्मचारीहरुलाई ५० प्रतिशतसम्म तलब दियौं, बैंकलाई बुझाउनु पर्ने ऋणको व्याज पनि तिर्यौं, तर व्यापार भने भएन यसले पनि धरै आर्थिक समस्या उत्पन्न भयो,’ उनले भने ।

दरबारमार्गका व्यापारीहरुले दिएको जानकारी अनुसार अहिले समान ल्याउन उनीहरुलाई खासै समस्या छैन । कोरोना महामारी जारी रहेपनि आफूहरुलाई सामान ल्याउन समस्या नभएको उनीहरुको भनाई छ ।

तर सामान ल्याउन समस्या नभएपनि विगतको तुलनामा बिक्री भने निकै कम भएको छ । पसलसम्म सामान ल्याउने अवस्था सहज भएपनि हाल ग्राहक घटेका कारण आफ्नो व्यापार चौपट रहेको व्यापारीहरले जानकारी दिएका छन् ।

दरबारमार्गमै रहेको ‘कलर मस्लर’ नामक चस्मा पसलका व्यवसायीले दिएको जानकारी अुनसार अहिले दरबारमार्गका अधिकांश व्यापारीहरुले घर भाडामा छुट पाएका छन् ।

छैन अफर

विगतमा सिजनमा परिवर्तन हुने वा महत्वपूर्ण चाडपर्वको बेलामा विभिन्न प्रकारका अफरहरु ल्याउने दरवारमार्गका व्यापारीले यसपाली खासै अफर ल्याएका छैनन् । व्यापारीहरुले स्टक क्लियरेन्सको लागि यस्तो अफर ल्याउने गरेका थिए । तर, यो वर्ष भने त्यस्तो खासै अफरहरु छैनन् ।

विक्री गर्नको लागि आवश्यक सामान नै नभएकोले स्टक क्लियरेन्सको स्कीम राख्नु नपरेको व्यापारीको भनाइ छ । कोरोना महामारीले विश्व बजार नै प्रभावित हुँदा विदेशबाट सामान ल्याउन नसकिएको तथा उद्योग प्रतिष्ठानहरु बन्द भएकोले स्वदेशी उत्पादन पनि नहुँदा सामानको अभाव भएको उनीहरुको भनाई छ ।

‘पहिले त पर्यटकहरुले आउँथे कफि खान्थे, अहिले चिया तथा खाना दुवैको बिक्री कम छ, यस्तो बेलामा घर भाडामा छोटो अवधिकालागि छुट पाएपनि त्यसको महत्व छुट्टै छ’, विम्पी सपमा आवद्ध जयराम श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.