बीमा समितिलाई अर्थको निर्देशनः कोरोना बीमाको दाबी भुक्तानी ३ दिनमा गरिसक्नु (पत्रसहित)

  २०७७ मंसिर १८ गते १७:१२     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रमा गरिसक्न बीमा समितिलाई निर्देशन दिएको छ । सबै प्रक्रिया पूरा भएका दाबीको ३ दिनभित्रमा भुक्तानी गरिसक्न तथा दैनिक जानकारी अर्थमन्त्रालयलाई दिन निर्देशन दिइएको हो ।

कोरोना बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाई भएपछि अर्थमन्त्रालयले यस्तो ताकेता गरेको हो । मन्त्रालयले बीमा समितिलाई पठाएको पत्रमा ४ बुदे निर्देशन दिइएको छ ।

विकासन्युज डटकमलाई प्राप्त मन्त्रालयको निर्देशनको पहिलो बुँदामा कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।

यस्तै, दोस्रो बुँदामा भेरिफिकेसन गर्न बाँकी दाबीको भेरिफिकेसन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि निर्दृेशन दिइएको छ ।

तेस्रो बुँदामा कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्याहरु देखिएका छन्, हाल कुन कुन बीमा कम्पनीहरुमा कति संख्यामा दाबी परेको विवरण पेण्डिङ रहेको छ सोको विवरण र समस्या समाधानको लागि त्यस समितिबाट के प्रयास भइरहेको छ, यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

निर्देशको चौथो बुँदामा नियमित रुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरिफिकेसनको लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भइ भुक्तानी गर्न बाँकी विवरण पनि मन्त्रालयमा दिन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.