नेपालको कर प्रणालीको ‘रेक्टो फिटिङ’ गर्दै भीसीटीएस

  २०७७ मंसिर १८ गते १६:४२     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ साउन २०७६ देखि संचालनमा ल्याएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) नेपाली कर प्रणालीका लागि ‘रेक्टो फिटिङ’ जस्तै भएको छ ।

कुनै पनि भौतिक संरचना भूकम्प जस्ता धक्काले नढलुन वा क्षति नपुगोस भनेर रेक्टो फिटिङ गर्ने गरिन्छ । विभागले कार्यान्वयनमा ल्याएको भीसीटीएसले त्यसैगरी राजस्व प्रणालीलाई मजबुत बनाएको छ ।

भीसीटीएसले कर प्रणालीलाई कसरी रेक्टो फिटिङ गरिरहेको छ भनेर जान्नको लागि सबैभन्दा पहिला यसले कसरी काम गर्छ भनेर बुझ्नुपर्छ । भीसीटीएसले बीटुबी (बिजनेस टु बिजनेस) प्रयोजनका लागि हुने व्यापारिक कारोबारलाई विशेष निगरानी र सहजीकरण गर्छ ।

कसरी त ?

‘कुनै आयातकर्ताले विदेशबाट सामान आयात गरेको छ भने भन्सार विन्दुबाट भीसीटीएसमा दर्ता गरेपछि मात्रै त्यो सामान त्यहाँबाट हिडाउन पाइन्छ, उत्पादक, वितरक वा थोक बिक्रेताबाट अर्काे विक्रेताले सामान खरिद गर्दा पनि यसैगरी दर्ता गरेर मात्रै मालबस्तु ढुवानी गर्न पाइन्छ, यो व्यवस्थाले कर प्रणालीमा धेरै सहजीकरण गरेको छ,’ विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन् ।

भीसीटीएसमा दर्ता गर्ने बेलामा विक्रेता तथा खरिदकर्ताको प्यान नम्बर, ढुवानी गर्ने सवारी साधानको नम्बर, सो सवारी साधन चलाउने चालकको लाइसेन्स नम्बर, उसको फोन नम्बर र कहाँदेखि कहाँसम्म सामान लाने हो सोको विवरण भर्नुपर्ने हुन्छ । यस्तै, आयातित मालवस्तुको हकमा पनि भन्सारबाट छुटेपछि सो विवरण भरेर मात्रै मालबस्तुको ढुवानी गर्न पाइन्छ ।

भीसीटीएसमा दर्ता गरेर ढुवानी गरिएको सवारी साधानमा के वस्तु ढुवानी भइरहेको छ र अहिले कुन ठाउँमा छ भन्ने अनलाइन ट्राकिङ गर्न पनि सकिने व्यवस्था मिलाइएको महानिर्देशक मैनालीले जानकारी दिए । भीसीटीएसमा दर्ता नगरी सामान ढुवानी गर्न नपाइने भएकोले नक्कली विल विजकको समस्या समाधान भएको र यसले राजस्व असुलीमा सकारात्मक असर पारेको महानिर्देशक मैनालीको भनाइ छ ।

‘एउटा करदाताले बुझाएको विवरणले उसको व्यवसाय निरन्तर घट्दै गएको देखियो, कर पनि कम हुँदै गएको भेटियो, यस्तो देखिएपछि हामीले सो करदाताले खरिद गर्ने मालवस्तुको बारेमा अध्ययन थाल्यौं, उसले त भीसीटीएस नगरी सामान खरिद गरेर ल्याएको देखियो, हामीलाई शंका लागेर थप अनुसन्धान गर्दै जादा विगतमा पनि कर छलेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उदाहरण दिदै महानिर्देशक मैनालीले भने ।

भीसीटीएस लागू हुनुभन्दा अघि मालबस्तु ढुवानी हुने बेलामा जारी भएको विलविजक बोकेर ढुवानी गर्ने र मालबस्तु सम्बन्धित स्थानमा पुर्याएपछि बिल च्यातेर फालिदिने प्रबृत्ति पनि देखिएका थिए । यस्तै, कुनै कारणवश विल हराएमा खरिदकर्तालाई अर्काे प्रकारको समस्या पनि पथ्र्याे । तर, भीसीटीएस लागू भएपछि सो विलको प्रति विभागको सर्भरमा सुरक्षित रहन्छ । त्यसैले विल च्याते, हराए वा नास भएपनि कारोबार प्रक्रियामा कुनै फरक पर्दैन ।

‘भीसीटीएसले मूल्य अभिबृद्धि कर (भ्याट), भन्सार महसुल, अन्तशुल्क र आयकर असुलीमा सकारात्मक सहयोग प्राप्त भएको छ, ढुवानी व्यवसायीले तिर्ने आयकर बढेको छ, कोरोना महामारीको बेलामा पनि कर असुली खासै कम नहुनुनको कारण कारोबार पारदर्शी भएकोले करको दायरा फराकिलो भएर नै हो,’ महानिर्देशक मैनाली दाबी गर्छन् ।

भीसीटीएसले उद्योगदेखि वितरक वा थोक विक्रेता तथा आयातमा भन्सारदेखि नै ट्राकिङ सुरु गर्छ । उपभोक्तालाई विक्री गर्ने (खुद्राविक्रेता) सम्म पुगेपछि भने यसले ट्राकिङ गर्दैन । उत्पादनदेखि बजारमा जान थालेदेखिका सबै चरणमा र आयातको भन्सार विन्दुदेखि खुद्रा विक्रेताकोमा पुग्ने बेलासम्मका सबै चरणमा यसले ट्राकिङ गर्ने भएकोले कर छलि न्यूनिकरणका प्रभावकारी देखिएको हो । खुद्रा विक्रेताबाट उपभोक्तालाई बस्तु तथा सेवा विक्री गर्नेहरुलाई भने आन्तरिक राजस्व विभागको सेन्ट्रल विलिङ म्यानेजमेन्ट सिस्टमले ट्राकिङ गरिरहेको हुन्छ ।

विक्रेतालाई पनि फाइदा

भीसीटीएस लागू भएपछि विक्रेतालाई पनि फाइदा भएको विभागको तर्क छ ।

‘हिजो कसैले कर छलि गरेर ल्याएको सामान सस्तोमा बेच्न सक्थ्यो भने बैधानिक किसिमबाट व्यवसाय गर्नेहरु मारमा परिरहेका थिए, भीसीटीएसले अबैध कारोबारलाई नियन्त्रण गरेर स्वच्छ व्यवसाय प्रवद्र्धनमा ठूलो सहयोग गर्यो, यसले गर्दा स्वस्थ व्यवसायिक वातावरण निर्माण गर्न पनि सहयोग गरेको छ,’ महानिर्देशक मैनालीले भने ।

कसरी आयो भीसीटीएस

यसअघिको बहुचर्चित नक्कली भ्याट विल प्रकरण छानविनको कोर टीममा रहेका मैनाली विभागको महानिर्देशकको जिम्मेवारीमा आएपछि कर प्रणालीमा थप योगदान गर्न चाहन्थे । यसैको लागि उनले एक वर्षको अध्ययनपछि भीसीटीएसको अवधारणा ल्याए ।

विभागले १० लाख रुपैयाँमा भीसीटीएसको सफ्टवयर खरिद गर्यो । सरकारी नियन्त्रणको जीआईडीएसको सर्भर प्रयोग गरियो । मालबस्तुको ढुवानीलाई व्यवस्थित पार्न सकियो भने मात्रै कर प्रशासनलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले यस्तो योजना ल्याइएको थियो ।

२०७६ साउन १ गतेदेखि लागू भएको भीसीटीएसका प्रयोग कर्ता ९९ हजार पुगेका छन् । यसमा १ करोड ७ लाख ५१ हजारभन्दा बढी विल प्रविष्ट भएका छन् । दर्ता भएका प्रज्ञापन पत्रको संख्या ५ लाख २३ हजारभन्दा बढी छ । ५ लाख ४ हजार ६ सय सवारी साधानले ढुवानी गरेको तथ्यांक समावेश भएको छ । यस्तो कारोबारमा ३१ खर्ब ७७ अर्ब ६६ करोड मूल्य बराबरका मालबस्तुको खरिद विक्री भएको छ । यो तथ्यांक गत मंसिर १५ गतेसम्मको हो ।

अबको सुधार

भीसीटीएसका केही प्राविधिक र व्यवहारिक पाटोमा थप सुधार गर्दै जानुपर्ने आवश्यकता विभागले देखेको छ । यस्तै, आन्तरिक राजस्व विभागले सेन्ट्रल विलिङ सिस्टमबाट वार्षिक ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने संस्थाहरुको मात्रै नियमन गर्छ । यो थ्रेसहोल्ड घटाएर खुद्रा विक्रेताकोमा मालबस्तु पुग्नु अघिसम्मको सबै वस्तुको ट्राकिङ आन्तरिक राजस्व विभागको सेन्ट्रल विलिङ म्यानेजमेन्ट सिस्टमले गर्ने तथा भन्सारको आसिकुडा प्रणाली र भीसीटीएसलाई अझ परिष्कृत रुपमा अघि बढाउनु पर्ने आवश्यकता विभागले देखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.