अपि पावरले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा, प्रस्तावित बोनस र हकप्रद सेयर पारित

  २०७७ मंसिर ९ गते १०:०२     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक दुई साधारणसभा गरिएको हो ।

साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, सभाले आगामी ४ वर्षको लागि नयाँ सञ्चालक समितिको समेत चयन गरेको छ । सभाले चयन गरेका संचालकहरूमा सतिष न्यौपाने, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्कालाइ निर्विरोध निर्वाचन गरेको छ।

अपि पावरले भर्खरै हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन विजुली खरिद विक्रि सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ ।

अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो ।
विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ ।

हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकम समेत गरेर कम्पनीको चुक्ता पूँजी १ अर्व ९२ करोड ९८ लाख पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.