लगानीकर्ता भन्छन्- सेयर बजारले थप नयाँ रेकर्ड राख्न सक्छ, नहौसिई लगानी गर्नुस्

  २०७७ मंसिर ४ गते १९:५०     विकासन्युज

काठमाडाैं । पछिल्लाे समय सेयर बजारमा राैनक देखिन थालेकाे छ । कुनै बेला ५० कराेड रूपैयाँकाे काराेबार हुन पनि धाैंधाैं हुने बजारमा अहिले दैनिक अर्बाैंकाे सेयर काराेबार हुन थालेकाे छ ।

गत बिहीबार अर्थात कार्तिक २७ गते मात्रै करिब ५ अर्बकाे सेयर काराेबार भएकाे थियाे । त्यसकाे हप्ता दिनमा अर्थात आज बिहीबार (मंसिर ४ गते) एकैदिन ६ अर्ब माथिकाे सेयर काराेबार भएकाे छ । जुन पुँजीबजारमा हालसम्मकै ऐतिहासिक रेकर्ड हो । हालसम्म ६ अर्ब त के ५ अर्ब माथिकाे सेयर काराेबार भएकाे थिएन ।

यसअघि २०७६ फागुन १८ गते ४ अर्ब ८४ कराेड रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे थियाे । जुन त्याे बेलाकाे उच्च काराेबार रकम थियाे । उक्त रेकर्डलाई आजकाे काराेबारले ताेडेकाे छ । आजकाे बजारमा  ६ अर्ब ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म अर्थात ४ घण्टा खुलेकाे बजारमा कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा काराेबारसँगै नेप्से परिसूचकमा पनि सुधार आएकाे छ । परिसूचक बढेर पाैने १८०० अंक माथि पुगेकाे छ ।

पछिल्लाे समय बजार बढ्नुको मुख्य कारण भनेको अन्य क्षेत्रमा लगानी नभएको र बैंकमा तरलता प्रयाप्त रुपमा भएकोले बजारमा चमक आएको लगानीकर्ताहरु बताउँछन् ।

छोटेलाल रौनियार, अध्यक्ष-नेपाल इन्भेष्टर्स फोरम
बजारमा चमक आउनुको राज विभिन्न कारण रहेका छन् । एक, लगानीकर्ताले ८ देखि साढे ८ प्रतिशत भित्रको व्याजदरमा पैसा पाइरहेका छन् । उनीहरुले छाेटाे समय अर्थात तीन चार दिन भित्र लगानी गर्नकाे लागि लोन पाइरहेका छन् ।

अर्को अनलाइन, जसले मजाले काम गरिरहेको छ । बेला बेलामा डिष्टर्ब आउँछ तर पहिलेको तुलनामा राम्रो काम गरिरहेको छ ।

अन्य क्षेत्रमा लगानी जाने ठाउँ कम भयो । पहिला परिसूचक १८८१ मा हुँदा व्याजदर पनि ८ प्रतिशतको रेञ्जमा थियो । जुन अहिले पनि त्यहि रेञ्जमा छ । त्यस्तै, परिसूचक उच्च अंकमा पुग्दा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्थ्यो । अहिले पनि उहाँ नै हुनुहुन्छ । हुन त पुँजीबजारको लागि उहाँले केही गर्नु त भएको छैन तर पनि उहाँले पुँजीबजार विपरित काम गर्नुभएको छैन र गर्नु हुन्न भन्ने आश्वासन छ ।

मैले पहिले पनि भनेको थिएँ । पुँजीबजारले ४ वर्षको चक्र पार गर्यो अब बढ्छ भनेर त्यहि भइरहेको छ । नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गरिरहेका छन् । त्यस्तै, कोभिडको समयमा अन्तर्राष्ट्रिय बजारमा पनि रेकर्ड ब्रेक भइरहेको छ । त्यसैले सबै कुरा सकारात्मक भएकोले पुँजीबजारमा उछाल आएको हो ।

केहि समय अघि अधिकांश हाइड्रोको सेयर अंकित मूल्यभन्दा तल झरेको थियो । अहिले बढेर २ सय माथि पुगेको छ । कारण कोभिडले उक्त क्षेत्रलाई असर गरेन ।

जीवन र निर्जीवन बीमा पनि त्यति असर गरेको देखिएन । बैंकिङ क्षेत्रमा हेर्ने हो भने चालु आवको पहिलो त्रैमासमा केही कम्पनीहरुले नाफा कम गरेको देखियो । राष्ट्र बैंकले व्याजको पैसा नउठाऊ भनेकोले बैंकहरुले व्याज नउठाएका हुन् । पछि उठाइहाल्छन् । त्यसकारण बैंकमा केहि असर देखिए पनि त्यति ठूलो असर पार्दैन । त्यसमा पनि कति बैंकको राम्रै विवरण देखिएको छ ।

मैले केहि दिन अघि भनेको थिए, अबको बजारमा दैनिक ७ अर्ब माथिको कारोबार हुन्छ । त्यसैले यसमा अचम्म मान्नु पर्दैन । आज कारोबारमा रेकर्ड, भोलि परिसूचकमा रेकर्ड होला, पर्सी अर्कोमा होला । त्यसैले बजारले रेकर्ड ब्रेक गर्दै जान्छ ।

यो पहिलो टाइम भएर धेरै उत्साहित भएका छौं । परिसूचकले ब्रेक गर्नै बाँकी छ । म के चाहन्छु भने कारोबार रकम ७ अर्ब माथि पुगोस् । किनभने म यसमा सकारात्मक छु र कारोबार पनि सो मात्राको हुनुपर्छ भन्ने मलाई लाग्छ ।

यस्तो छ सुझाव
बजारमा नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ । यो बेलामा नयाँ वा पुरानो जोसुकैले पनि हौसियर लगानी गर्नु हुँदैन । हामीले सँधै भन्दै आएका छौं । लगानीकर्ताले राम्रो कम्पनी छानेर, कम्पनीको बारेमा बुझेर, अग्रजहरुसँग सल्लाह गरेर मात्र लगानी गर्ने । यो समयमा बुझेर लगानी गर्यो भने त्यति आत्तिनु पर्दैन ।

राधा पोखरेल, अध्यक्ष-नेपाल पुँजीबजार लगानीकर्ता संघ

अन्य क्षेत्रमा लगानी एकदमै कम छ । लगानीकर्ताहरु बजार बढ्दै गएपछि हौसिएको र बजारमा लगानी गर्न लालायित भएका छन् । नयाँ लगानीकर्ताहरु पनि बजारमा प्रवेश गरेका छन् । यो सँगसँगै अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नहुँदा पैसा यतिकै राख्नुभन्दा सेयर बजारमा लगानी गरौं भन्ने भयो ।

यसका साथै अन्य क्षेत्रमा पैसा नगएकोले बैंकमा तरलता अधिक छ । बैंकहरुले एकदमै कम ब्याजमा पैसा दिइरहेका छन् । अझै विश्वासिलो लगानीकर्तालाई घरमै पैसा पुर्याउँला जस्तो गर्छन् । लगानी गर्नलाई बोलाई बोलाई पैसा दिइरहेका छन् ।

नेप्सेमा सूचीकृत सबै क्षेत्रका कम्पनीले धमाधम गत आर्थिक वर्षको लाभांश घोषणा गरी वितरण गर्ने समय भइरहेको छ । अरु बेला लगानी गर्दा धेरै समय पर्खिनुपर्थ्यो भने अहिले लगानी गर्दा हप्तादिन अथवा १०/१५ दिनमै पनि लाभांश पाइने भएको लगानीकर्ताको आकर्षण बढेको हो ।

बजार बढ्नुको मुख्य कारण भनेको अन्य क्षेत्रमा लगानी नभएको र बैंकमा तरलता प्रयाप्त रुपमा भएकोले बजारमा चमक आएको हो ।

यस्ताे छ सुझाव
बजार बढ्दै गएपछि लगानीकर्ताहरु एकदमै उत्साहित हुन्छन् । र, लगानी गर्न थप हौसिन्छन् ।

अहिलेको अवस्थामा व्याजदर नबढ्दासम्म बजारमा ठूलो करेक्सन आउने सम्भावन न्युन नै देखिन्छ । तर पनि यो कोरोना कहिलेसम्म रहन्छ, अन्य क्षेत्र कहिलेदेखि खुल्छ, अन्य पैसा बाहिर भित्रिने हो की, विभिन्न बोर्डरहरु बन्द छन् जुन खुले पछि पैसा बाहिर भित्रिन सक्छन् । त्यसैले अन्य क्षेत्रमा पैसा जान थालेपछि बजार यहि अवस्थामा रहन्छ कि रहँदैन भन्ने लगानीकर्ताले विचार गर्नुपर्छ ।

अर्थतन्त्रको ऐना पुँजीबजार भन्छौं । देशको अर्थतन्त्र कस्तो छ । यहाँ मात्र होइन विश्व बजार नै अहिले कोभिडको मारमा छौं । भोलि गएर के कस्तो हुने हो । त्यो पनि हामी लगानीकर्ताले ख्याल गर्नु पर्छ ।

बजार घटेको बेलामा त हामीले आँखा चिम्लेर लगानी गर्दा पनि हुन्छ । यस्तै बजार बढेकाे बेलामा हो हामीले याद गर्नुपर्ने, एकदम सजकता अपनाउनु पर्ने । आफुले कति जोखिम बहन गर्न सक्छु भनेर हेर्नु पर्ने हुन्छ । किनभने अहिलेको बुल रन, जुन यो अवस्थामा स्वभाविक पनि होला । भोलि गएर कम्पनीले गर्न सक्ने प्रगति तथा देशको अर्थतन्त्रलाई हेरेर पनि लगानी गर्नुपर्ने हुन्छ । बजार घटेको बेलामा भन्दा पनि यस्तो बढेको बेलामा धेरै नै सजक हुनु पर्ने हुन्छ ।

र, लगानी गर्ने अवसर हो । लगानी गर्ने समय हो भनेर जहाँ पायो त्यहि लगानी नगरी राम्रो कम्पनीको छनोट गरेर लगानी गर्नु पर्यो । किनकी भोलि गएर सेयर बजारमा अलिकति करेक्सन आयो या त बजार घट्यो, वा सेयर रह्यो बेच्न पनि सकेनौं भने पनि त्यसले दिने प्रतिफलले हामीलाई घाटा नहोस् ।

(रौनियार र पाेखरेलसँग गरिएकाे कुराकानीमा आधारित)

सम्बन्धित समाचारः

पुँजीबजारमा रेकर्ड ब्रेक, एकैदिन ६ अर्ब माथिको सेयर कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.