पुँजीबजारमा रेकर्ड ब्रेक, एकैदिन ६ अर्ब माथिको सेयर कारोबार

  २०७७ मार्ग ४ गते ३:१२       विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ । एकैदिनको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार रकम हो ।

यसअघि २०७६ फागुन १८ गते उच्च कारोबार भएको थियो । साे दिन ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्डलाई तोड्दै बिहीबारको बजारले नयाँ रेकर्ड राख्न सफल भएको छ ।

बजारमा कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार एक सय १० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बढी कारोबार गर्नेको शीर्ष १० मा रहेका कम्पनीको १२ करोड ७३ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । बिहीबार नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशलन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्टस्, नागरिक लगानी कोष र प्रभु बैंक बढी कारोबार गर्नेको शीर्ष १० स्थानमा रहेका छन् ।

त्यस्तै, नेप्से परिसूचक ३६ अंकले बढेर १७७८.१२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०८ प्रतिशतले बढी हो ।
क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९८ अंकले बढेर ३४३ अंकमा पुगेको छ ।

सो दिनका कारोबारमा आएको १२ वटै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३९९ अंकले उकालो लागेको छ भने म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.०७ अंकले बढेको छ ।

बिहीबारको बजारमा कूल १९८ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६५ कम्पनीका लगानीकर्ताले अघिल्लो दिन अर्थात बुधबारको तुलनामा कमाएका छन् भने बाँकीले केही गुमाएका छन् ।

त्यस्तै, अधिकांश कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये तारागाँउ रिजेन्सी होटल र यूनिलिभर नेपालको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ ।