तीन लघुवित्त मर्जरमा जाने, माघ भित्रै एकीकृत काराेबार गर्ने सम्झाैता

  २०७७ असोज १० गते १०:१०     विकासन्युज

काठमाडौं । तीन वटा लघुवित्त वित्तीय संस्थामा एक आपसमा मर्जरमा जाने भएका छन् । काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका हुन् ।

मर्जर सम्बन्धी तीन संस्थाबीच शुक्रबार(असाेज ९ गते) समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले शुक्रवार बागलुङ बजारमा हस्ताक्षर गरेका हुन् ।

गाभ्ने/गाभिने (मर्जर) सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्बन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम त्रीपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । मर्जर पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी ३५ करोड २ लाख ६५ हजार हुनेछ । आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आईपीओ निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको सेयर रकम एफपीओको मार्फत पुर्याउने संस्थाले जनाएकाे छ ।

वित्तीय संस्थाको संयुक्त कारोबार माघ महिना भित्र गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै सिवाईसीका अध्यक्ष पद्मनाथ शर्माले मर्जर पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने बताए । सोही अवसरमा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई समयक्रमानुसार नीति विधि र प्रविधिको प्राधानता भित्र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै, आरम्भ चौतारीका अध्यक्ष पोखरेलले एकीकृत संस्थालाई देशकै नमुना संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी, शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि मर्जर समझदारी कोशेढुङ्गा सावित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.