कोरोना बीमा पोलिसी परिमार्जनप्रति बिमकः नयाँ व्यवस्थाले राम्रो भयो

<p>काठमाडौ । बीमा समितिले गरेको कोरोना बीमा पोलिसी परिमार्जनप्रति बीमा कम्पनीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । महामारीको बेलामा सेवाकै लागि ल्याइए पोलिसी आवश्यकता र औचित्यको आधारमा परिमार्जन हुनु स्वभाविक र सकारात्मक भएको उनीहरुको भनाइ छ । बीमाको सिद्धान्तलाई मात्र भन्दापनि कोरोना बीमा पोलिसी मुख्यतः महामारीबाट प्रभावित सर्वसाधारणलाई राहत प्रदान गर्ने गरी ल्याइएको भन्दै बिमक (बीमा [&hellip;]</p>

काठमाडौ । बीमा समितिले गरेको कोरोना बीमा पोलिसी परिमार्जनप्रति बीमा कम्पनीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । महामारीको बेलामा सेवाकै लागि ल्याइए पोलिसी आवश्यकता र औचित्यको आधारमा परिमार्जन हुनु स्वभाविक र सकारात्मक भएको उनीहरुको भनाइ छ ।

बीमाको सिद्धान्तलाई मात्र भन्दापनि कोरोना बीमा पोलिसी मुख्यतः महामारीबाट प्रभावित सर्वसाधारणलाई राहत प्रदान गर्ने गरी ल्याइएको भन्दै बिमक (बीमा कम्पनी) हरुले सकारात्मक प्रतिकृया दिएका हुन् ।

नयाँ व्यवस्थामा व्यक्तिगत कोरोना बीमामा रोक लागाइएको छ भने दाबी भुक्तानीमा केही हेरफेर गरिएको छ । यस्तै, निजी ल्यावहरुले गरेको परीक्षणको पीसीआर रिपोर्टका आधारमा पनि दाबी भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

यसअघि कोरोना भाइरस (कोभिड १९) परीक्षणमा पीसीआर परीक्षण पोजेटिभ देखिने वित्तिकै शतप्रतिशत बीमा दाबी रकम भुक्तानी दिने व्यवस्था थियो । नयाँ व्यवस्थामा होम आइसोलेसनमा बस्नेहरुले २५ प्रतिशत र अस्पतालमा भर्ना भएका व्यक्तिहरुले ७५ प्रतिशत बिमांक दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ ।

यस्तै, केही समय अघि बीमा समितिले सबै बीमा कम्पनीहरुलाई परिपत्र गर्दै निजी ल्याबमा गरिएको पीसीआर परीक्षणको आधारमा दाबी भुक्तानी नदिन भनेको थियो ।

तर, नयाँ व्यवस्था भने अब गर्ने कोरोना बीमामा मात्रै लागू हुनेछ । पुरानो पोलिसी होल्डरको हकमा भने पुरानै व्यवस्था लागू हुने समितिले जानकारी दिएको छ । पुरानो व्यवस्था भन्नाले निजी ल्यावको रिपोर्ट स्वीकार नगर्ने भन्ने होइन । दाबी भुक्तानी रकम कति र कसरी दिने भन्ने मात्रै हो । कोरोना बीमामा ५० हजार र १ लाख रुपैयाँ गरी २ प्रकारको बिमांक रकमको परिकल्पना गरिएको छ ।

बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले अहिलेको आवश्यकता अनुसार हेरफेर गरिएकोले त्यसमा आफूहरु सकारात्मक रहेको बताए ।

‘कोरोना बीमा पोलिसी बीमाको सिद्धान्त हेरेर मात्र ल्याइएको होइन, यो त अहिलेको आवश्यकता अनुसार ल्याइएको हो, पोलिसीमा केही हेरफेर गर्न आवश्यक देखिएकोले हेरफेर भएको छ, यसलाई हामीले सामान्य नै लिएका छौं’, क्षेत्रीले भने ।

कोरोना बीमा पोलिसी अन्य बीमा पोलिसी भन्दा फरक छ । अरु बीमा पोलिसी जोखिम बहन गर्ने हिसाबले ल्याइएको हुन्छ । तर, कोरोना बीमा पोलिसी जोखिम बहन गर्न मात्र ल्याइएको बीमा पोलिसी नभएर महामारीमा नागरिकलाई सहयोग पुगोस भन्ने मनसायले ल्याइएको हो ।

कोरोना बीमा परिमार्जन हुनुअघि बीमा गराएका बीमितले पहिलेकै व्यवस्था अनुसार दाबी भुक्तानी पाउँछन् । तर, व्यवस्था परिमार्जनपछि बीमा गराउँनेले पछिल्लो व्यवस्था अनुसार नै दाबी भुक्तानी पाउँने बीमक संघले जानकारी दिएको छ ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार कोरोनाको रिपोर्ट अनुसारको भुक्तानी हुने भएकाले बीमा पोलिसी परिमार्जन भएपनि यसको प्रभाव राम्रै रहन्छ ।

‘त्यतिबेलामा कोरोना बीमा ल्याउँदा बीमा समिति तथा बीमा कम्पनी दुबैको सोच राम्रो थियो, हामीले बिमितको लागि नै काम गरेका हौं, पिसीआर पोजेटिभलाई दाबी भुक्तानी गर्ने भन्दा बीचमा केही समस्या आयो, पहिले समस्या आउँला भन्ने हामीले अनुमान गरेका थिएनांै, आगामी दिनमा अब सबै पक्षलाई सहज हुन्छ, बीमा गराउँनेको संख्यामा पनि वृद्धी हुन्छ’, अधिकृत खत्रीले भने ।

Share News