जीवन बीमामा अभिकर्ता किन राख्ने ?

  २०७७ साउन २६ गते ९:०४     नविन पोखरेल

काठमाडौं । सामान्यतः तपाईंले अभिकर्तामार्फत २० वर्ष अवधिको २० लाख रुपैयाँ बराबरको जीवन बीमा गर्नुभयो पहिलो दुई वर्षमै अभिकर्ताले ५० हजार रुपैयाँ कमिसन पाउँछ ।

त्यसपछिका ८ वर्षसम्म अभिकर्ताले वार्षिक ५ हजार रुपैयाँका दरले ४० हजार रुपैयाँ पाउँछ । किनभने जीवन बीमामा अभिकर्ताले पहिलो २ वर्ष २५ प्रतिशत र त्यसपछिको ८ वर्षसम्म वार्षिक ५ प्रतिशतका दरले कमिसन पाउँछ ।

तपाईंले बीमा गराएको १० वर्षभित्रमा अभिकर्ताले ९० हजार रुपैयाँ पाइसकेको हुन्छ । त्यसपछिको १० वर्षसम्म अभिकर्ताले केही पाउँदैन ।

तपाईं आफै कुनै बीमा कम्पनीको कार्यालयमा छिर्नुभयो र जीवन बीमा गराउनु भयो भने पनि तपाईंले २० वर्षसम्म वार्षिक १ लाख रुपैयाँका दरले नै बीमाशुल्क तिर्ने हो । फरक के हुन्छ भने अभिकर्ताले पाउने ९० हजार रुपैयाँ तपाईंले केही गरी पाउनु हुन्न । कम्पनीलाई फाइदा हुन्छ ।

यति तथ्य थाहा पाएपछि तपाईंको मनमा अभिकर्ताले पाउने कमिसन आफै गएर बीमा गराउँदा छुट पाउने व्यवस्था किन नभएको होला भनेर प्रश्न उठ्दैन ? जीवन बीमामा अभिकर्ता प्रणाली नै हटाएर सिधै बीमा गर्न पाइने र त्यसको सुविधा बीमा गर्ने व्यक्ति (बिमित) र कम्पनी (बिमक) ले लिए हुदैन ?

बीमा क्षेत्रका सरोकारवाला अभिकर्ताबिना जीवन बीमाको चक्र नै नचल्ने बताउँछन् । र, यो पनि भन्न छुटाउँदैनन् कि बीमा भनेको सबै मानिसका लागि अत्यावश्यक विषय हो ।

जीवन बीमा सबैका लागि अत्यावश्यक कुरा हो भने यसको महत्व मात्रै बुझाए हुँदैन ? जसरी घरमा, आफन्तकोमा वा आफूले विश्वास गरेको व्यक्तिको साटो बैंक तथा वित्तीय संस्थामा पैसा राख्नु उपयुुक्त हुन्छ भनेर बैंक तथा वित्तीय संस्थामा रकम राखिन्छ, त्यसैगरी बीमा पनि आवश्यक कुरा हो भन्ने बोध गराउन सके अभिकर्ताले बीमा गराउन सक्षम देखिएको व्यक्तिलाई बीमा गराऊँ भनेर दिनरात ‘हैरान’ पारिरहनु पर्ला र ?

संस्थागत अभिकर्ताः विकृतिको अर्काे संरचना

बैंकको सेवा स्तरीय छ, नेटवर्क प्रभावकारी छ भन्दै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्रक्रिया संसदीय समिति हुदै नियामकीय कार्यक्षेत्रमा आइपुगेको छ । बलियो र प्रभावकारी नियामक निकाय नेपाल राष्ट्र बैंकको नियमन दायराभित्रका बैंक तथा वित्तीय संस्थाहरुले गरेका काममा खोट देखिदैन भन्ने मान्यताले लगानीकर्ताबाट बैंकलाई सेयर ब्रोकरको अनुमति माग भएको थियो ।

तर, बैंक तथा वित्तीय संस्थालाई बीमा अभिकर्ता बनाउने प्रयासको भने सुखद अनुभूति छैन । बैंक तथा वित्तीय संस्थाले गरेको जीवन बीमामध्ये ६० प्रतिशत व्यतित (फेल) भएको छ । आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा बैंकहरुले जीवन बीमा गराई करिव २ अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । त्यसमध्ये ६० प्रतिशत ल्याप्सेस (व्यतित) भएको बीमा कम्पनीहरुको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थाले गराएको बीमामध्ये ६० प्रतिशत बीमितले दोस्रो वर्ष बीमा किस्ता तिर्न आएनन् दोस्रो वर्ष बीमा शुल्क नतिरेपछि त्यो बीमा लेख खारेज हुन्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

६० प्रतिशत जीवन बीमा पोलिसी व्यतित हुँदा बीमितको १ अर्ब ६८ करोड रुपैयाँ गुमेको छ । यसको २५ प्रतिशत बैंकले कमिशनको रुपमा खाएका हुन्छन् भने ७५ प्रतिशत बीमा कम्पनीको पोल्टामा जान्छ ।

जीवन बीमा पोलिसी खरिद गरेपछि बीमितले कम्तिमा दुई वर्षको बीमा शुल्क नबुझाएमा त्यो पोलिसी व्यतित हुन्छ । अर्थात, बीमकलाई बुझाएको सबै बीमा शुल्कमा बिमितको अधिकार गुम्छ ।

‘ल्याप्सेस बढ्दा कम्पनीको आम्दानी बढ्छ, इज्जत गुम्छ’

यसरी बीमा पोलिसी व्यतित हुँदा बिमितलाई सोझै नोक्सान हुने तर बीमा कम्पनीहरुलाई पनि फाइदा नहुने प्राइम लाइफ इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई बताउँछन् ।

‘हामीले जे काम गर्छाैं, त्यसमा नाफा मात्रा खोजेर हुन्न, इज्जत पनि हुनुपर्छ, जति बढी बीमा पोलिसी व्यतित हुन्छ, त्यति नै बीमा गर्ने गराउनेको बद्नामी पनि बढ्छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने ।

बीमा पोलिसी व्यतितको संख्या बढेपछि बीमाङ्कीय मूल्याङ्कनमा बीमा महँगो देखिने र त्यसले बीमाको बोनस दर घटाउने यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बताउँछन् ।

बैंकहरुले आफ्ना ग्राहकलाई बीमाको महत्व नबुझाई बलपूर्वक बीमा गराउँदा सर्वसाधारणलाई धेरै मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकास्योरेन्स बन्द गरेको थियो ।

बीमा अभिकर्ता संघ नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीतिको लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको सुझाव पत्रमा बैंकहरुले बीमा गराउँदा गम्भिर त्रुटी गरेको औल्याएका छन् ।

बैंकहरुले बीमा सित्तैमा भनेर विज्ञापन गरेको, निक्षेपकर्ताको खातामा रहेको पैसा हेरेर निक्षेपकर्तालाई बोलाएर बीमा गर्न लगाउने गरेको, ऋण स्वीकृत गर्नुपूर्व ग्राहकलाई जीवन बीमा गराउन बाध्य पारेको, बैंकका कर्मचारीले बीमाको प्राविधिक पक्ष नबुझी झूटा आश्वासन दिएर ग्राहकलाई बीमा गराएको बीमा अधिकर्ता संघको ज्ञापन पत्रमा उल्लेख छ ।

यसरी सर्वसाधारणलाई बाध्य पारेर बीमा गराउने अभ्यासले बीमा बजारमा बद्नाम भएको, बीमा पोलिसी व्यतित हुने क्रम बढेको, बीमा महँगो हुँदै गएको, बीमाप्रति सर्बसाधरणमा विश्वास गुम्दै गएको संघको तर्क छ ।

अनि संस्थागत हटाएर व्यक्तिगतमा जोड

संस्थागत (खासगरी बैंक तथा वित्तीय संस्था) अभिकर्तामा विकृति देखिएपछि फेरि व्यक्तिगत अभिकर्तामा नै जोड दिन थालिएको छ । बीमा क्षेत्रको नियामक निकाय समिति पनि बीमाको पहुँच बढाउन अभिकर्ताहरुकोे भुमिका महत्वपूर्ण रहने बताउँदै आएको छ ।

बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्वपूर्ण मानिदै आएको छ । बिमितलाई बीमा के हो ? भनेर बुझाउनेदेखि दाबी भुक्तानीसम्ममा अभिकर्ताले सहजीकरण गर्ने गर्ने गरेका छन् ।

बीमा गराए बापत अभिकर्ताले कसिमन रकम प्राप्त गर्छन् । अभिकर्ता बीना बिमित आफैले बीमा गर्न सकेमा अभिकर्तालाई तिर्ने कमिसन जोगिन सक्थ्यो । यसरी अभिकर्तालाई तिर्ने शुल्क जोगाउन सके सो शुल्क बिमितले तिर्ने बीमाशुल्कमा सहुलियत हुनपुग्थ्यो ।

कुनै कोणबाट हेर्दा अभिकर्ताको भुमिका अपरिहार्य हुन्छ भने कुनै कोणबाट हेर्दा अभिकर्ता बीना नै बीमा सम्भव हुनेपनि देखिन्छ ।

परम्परागत रुपमा बीमा गर्दा अभिकर्ताबिना बीमा नुहने देखिन्छ । तर बीमा व्यवसायलाई नयाँ अभ्यासको रुपमा अभिकर्ताबिना नै बीमा हुने व्यवस्था नै गर्न नसकिने भने होइन ।

अभिकर्ताहरुले फ्रन्ट लाइनमा बसेर बीमा गराउने काम गर्छन् । तर कतिपय अवस्थामा अभिकर्ताले बीमा गराउने नाममा व्यक्तिहरुलाई अत्याधिक फलो गर्दा बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बनेका उदाहरण पनि छन् । अहिलेसम्मको अवस्था हेर्ने हो भने बीमा गर्नु आफ्नो र परिवारको आर्थिक जोखिमको रक्षावरण तथा फोर्सफूल बचतभन्दा पनि अभिकर्ताको लागि गर्ने कुरा हो भन्ने धारणा धेरैमा स्थापित भएको छ ।

बीमा क्षेत्रमा अभिकर्ताको आफ्नै महत्व रहेको छ । तरपनि बीमा गर्ने चाहना व्यक्तीहरुमा कतिको छ भन्ने कुरा थाहा पाउन नसक्नु अभिकर्ताको कमजोरी पनि हो । बीमा गर्दा अभिकर्ताबाट अपनाइने केही अभ्यासका कारण पूरा उद्योग नै बदनाम हुने स्थिति समेत उत्पन्न भएको छ ।

तर बीमा क्षेत्रका सरोकार निकायहरुले बीमाको स्वच्छ बजार निर्माणलाई सधै प्राथमिकतामा राख्न ध्यान दिने हो । यस्तै, बीमाशुल्कमा केही सहुलियत दिन सकेमा बीमाको दायरा समेत थप वृद्धी हुनसक्छ । सोही कारण बीमा कम्पनीहरुले अभिकर्ताबिनाको बीमा बजारको अभ्यास गर्दा बजारलाई राम्रो हुने एक किसिमको आँकलन समेत हुने गरेको छ । तर अन्तर्राष्ट्रय संजालसमेत भएका बीमा अभिकर्ताहरु सो कुरा भने स्विकार गर्न मान्दैनन् ।

मिलियन डलर राउण्ड टेवल (एमडीआरटी) अभिकर्ताहरुको अन्तराष्ट्र्रिय संगठन हो । बीमा कम्पनीमा सक्रिय रहेर दिए अनुसारको व्यवसाय भित्र्याउदा अभिकर्ताहरु एमडीआरटीको सदस्य बन्नेदेखि सम्मानित हुनेसम्मका अवसरहरु पाउँछन् । यस्ता अभिकर्तासँग सम्बन्धित संस्था, संगठन धेरै छन् । सो संस्थाहरुको आफ्नै महत्व रहदै आएको छ ।

अभिकर्ताको कमिशन विश्वव्यापी उस्तै

बीमा गरे बापत अभिकर्ताहरुले कमिशसन पाउने गर्छन् । अभिकर्ताबिना नै बीमा गर्न सकिएमा अभिकर्ताले पाउने कमिशनलाई बीमाशुल्कमा राहातको रुपमा प्रयोग गर्न सकिन्छ भने एउटा तर्क होे । तर अभिकर्ताले बीमा गराउँदा कमिसन पाउनु अपरिहार्य हो भन्ने विश्वव्यापी मान्यता पनि हो । किनभने नेपालमा बीमा अभिकर्ता बनेको व्यक्ती अन्र्तराष्ट्रिय रुपमा समेत सोही पेशा अगाल्न सक्छ ।

बीमाको सिद्धान्त अन्तर्राष्ट्रिय रुपमा नै समान हुने भएकाले अभिकर्ताहरुले विश्वको जुनसुकै कसैको बीमा गराएमा त्यसबापत कमिसन पाउँछन् ।

के भन्छ पेशागत अभिकर्ता महासंघ ?

अभिकर्ता महासंघले अभिकर्ताबिना नै बीमा गर्न सम्भव भएपनि सो कुरा नेपालमा लागू गर्न नसकिने बताएको छ ।

बीमाको अन्तर्राष्ट्रिय महत्व छ । सो कुुरा बिमितहरुले बुझ्न आवश्यक हुन्छ । बिमितलाई बीमा के हो भनेर बुझाउनेदेखि दाबी भुक्तानीको बेलामा सघाउने काम अभिकर्ताहरुले गरेका हुन्छन् ।

सोही कारण बीमा क्षेत्रमा अभिकर्ताको महत्व धेरै हुने भएकाले अभिकर्ताहरु हटाएर बीमा गराउन नसकिने अभिकर्ता महासंघको दाबी छ ।

तत्कालका लागि बीमा गर्न सक्रिय नेपाली जनताको जनसंख्या ५ प्रतिशत रहेको अभिकर्ताहरु बताउँछन् । सोही कारण बीमा गराउन कर–बलले बजर्जस्ती बिक्री गर्नु पर्ने अवस्थामा रहेको छ । कुनै पनि व्यक्तिले स्वइच्छाले जीवन बीमा नगर्ने अभिकर्ता र कम्पनीहरु बताउछन् ।

अभिकर्ता चाहिन्छः बीमा समिति

अन्तर्राष्ट्रिय रुपमा हर्ने हो भने अभिकर्ताबिना नै बीमा सम्भव हुने गर्छ । तर यसरी बीमा सम्भव हुने भनेको निर्जीवन बीमा व्यवसायमा हो । जीवन बीमाको हकमा हेर्ने हो भने विश्वव्यापी रुपमा जहाँपनि अभिकर्ता राख्ने चलन छ ।

यसरी अभिकर्ता राख्नुको कारण भनेको बीमा क्षेत्रमा अभिकर्ताले खेल्ने बजारीकरणको भूमिकाले गर्दा हो ।

महत्वपूर्ण भूमिका हुने भएकाले बीमा बजारमा अभिकर्ता अपरिहार्य रहेको सरोकारवाला बताउँछन् । यद्यपि, बीमा अभिकर्ता किन चाहियो भन्ने प्रश्न उठेकोप्रति बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पनि बेखबर भने छैन । अभिकर्ता बीना नै बीमा गर्छु भन्नु एक किसिमले सफल नहुने बीमा समितिको भनाइ छ ।

सर्वसाधारणले अभिकर्ताहरुबाट कतिपय अवस्थामा नचाहिदा आवश्वासन पाउँने गरेको गुनासो समेत गर्छन् । बीमा समिति भने दक्ष अभिकर्ता आजको आवश्यकता भएकाले त्यसको लागि काम गरिरहेको बताउँछ ।

प्रत्येक्ष बीमा गराउने र यसमा अझ प्रविधिको प्रयोग गरेर जीवन बीमा व्यवसायलाई पूर्ण डिजिटल गराउनु पर्ने माग पनि उठेको छ । तर, डिजिटल्ली नै बीमा गरेर दाबी भुक्तानीसम्म डिजिटल बनाउन अहिलेकै अवस्थामा गाह्रो पर्ने भएकाले अभिकर्ताको आवश्यकता पर्ने बीमा समिति बताउछ ।

लाइसेन्समा कार्टेलिङ गर्ने अभिकर्ताको प्रयास

अभिकर्ताहरुले बीमा क्षेत्रमा आफूहरुले पाउने लाइसेन्स प्रक्रियामा केही सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

उनीहरुको माग भनेको अभिकर्ता लाइसेन्समा कडाइ हो । जसलाई पायो, त्यसलाई भन्दापनि केही सिमित रुपमा अभिकर्ताको लाइसेन्स बाढ्दा राम्रो हुने अभिकर्ताहरुको धारणा छ । तर बीमा समितिले भने प्रवेशिका परिक्षा (एसएलसी) पास भएको व्यक्ति बीमा अभिकर्ता बन्न सक्ने कानुन िव्यवस्था भएकाले यसमा कडाई गर्न नमिल्ने बताउँछ ।

अभिकर्ताको संख्यामा किन प्रतिस्पर्धा ?

केही वर्ष अघि संचालनमा आएका बीमा कम्पनीहरु पनि मेरो यति हजार अभिकर्ता भए भन्दै आफ्नो सफलताको सुचकका रुपमा अभिकर्ताको संख्यालाई पनि लिन्छन् । अभिकर्ता धेरै भयो भने बढी व्यवसाय आउने भएकोले उनीहरुको ध्यान अभिकर्ताको संख्यामा गएको हो ।

तर, अहिलेको समय भनेको संख्या मात्र हेर्ने भन्दापनि गुणस्तर हेर्न आवश्यक रहेको समिति बताउँछ । दक्ष जनशक्ति निर्माणका लागि बीमा चेतना कार्यक्रममा वृद्धि गर्न आवश्यक रहेको समितिको ठम्याई छ ।

आचारसंहिता बेवारिसे

अभिकर्ताहरुले आफ्नो आचारसंहिता बनाएका छन् । तर, त्यसको पालना भने खासै नभएको सरोकारवाला नै बताउँछन् । अभिकर्ताहरुलाई अनुशासनमा रहन सहयोग गर्ने अभिकर्ता महासंघ पनि छ । आफ्नो ट्रयाकबाट बाहिर जान खोज्ने अभिकर्ताहरुलाई आचारसंहिता पालना गराउन महासंघले पनि नसकेको गुनासो आउँने गरेको छ ।

अभिकर्तालाई बलियो बनाऔंः समिति

अभिकर्ताहरुले बीमा बजारीकरणमा मुख्य भूमका निर्वाह गर्ने भएकाले यसमा अहिले नै पुनर्बीचार आवश्यक नदेखिएको बीमा समितिले बताएको छ ।

समितिका कार्यकारी निर्दशक राजुरमण पौडेलका अनुसार अभिकर्तालाई बलियो बनाउनु आजको आवश्यकता हो ।

‘हामीले अभिकर्ताहरुलाई बलियो बनाउन आवश्यक छ, यसका लागि दक्षता बढाउने किसिमका तालिम प्रदान गर्न आवश्यक देखिन्छ, अभिकर्ताले बजारीकरणमा सघाउने तथा अभिकर्ताबिनाको बीमा बजार पूरा नहुने भएकाले आवश्यक जनचेतना र तालिमलाई प्राथमिकता दिन आवश्यक रहेको छ’, कार्यकारी निर्देशक पौडेलले भने ।

यस्तै, अभिकर्ता महासंघका अध्यक्ष नन्दप्रसाद तिवारीका अनुसार अभिकर्ताको समस्या अभिकर्ता बाहेक अरुले पनि बुझ्नु पर्छ र राम्रा अभिकर्ता उत्पादन गर्न सबैले साथ दिनु पर्छ ।

‘अहिले बजारमा अभिकर्ता नै नभएका त होइनन् तर बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता हो, यसमा नेपाल सरकार, बीमा समिति, बीमा कम्पनी, बिमित तथा अभिकर्ता साथीहरु सबैले ध्यान दिनु पर्ने बेला आएको छ, तर नेपालको सन्दर्भमा अभिकर्ताबिना नै बीमा गर्छौं भन्ने धारणा चाहि बेकारको कुरा हो’, अध्यक्ष तिवारीले भने ।

अध्यक्ष तिवारीले अभिकर्ताहरुले व्यक्तित्व विकास गर्ने, रोजगारीको सुनिश्चितता पाउने, सही काम गर्नेहरुलाई सकारात्मक उर्जा दिनेहरुको अभाव रहको बताएका छन् ।

बीमा विज्ञ भोजराज शर्माका अनुसार अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बीमा गराउने बिमित बढाउदै बीमाको पहुँच समेत वृद्धि गर्न मद्दत गर्छ । तर अभिकर्ताहरु नै भएनन् भने बीमाका बारेमा जानकारी नपाएकाहरुले बीमा गराउने सम्भावना रहदैन । यस्तो अवस्थामा घर–घरमा गएर कर्मचारीले बीमा बुझाउन सम्भव नहुन सक्छ ।

हाल नेपालमा अभिकर्ताबिना नै बीमा गराउन मिल्ने व्यवस्था छ । यसरी बीमा गराउदा वा अभिकर्तासँग बीमा गराउदा बीमाशुल्कमा खासै हेरफेर हुँदैन । तर अभिकर्तासँग बीमा गराउँदा अभिकर्ताहरुले बिमितलाई आवश्यक समयमा खबर आदान–प्रदान गर्ने गर्छन् ।

‘अभिकर्ता भनेका बीमा क्षेत्रका व्याकबोन हुन्, सिमित मान्छेले मात्र बीमा बुझ्ने र गर्ने अवस्था हटाउन अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ’, बीमा विज्ञ शर्माले भने ।

बीमा गर्दा अभिकर्ताले पाउँने कमिशन एक देशको तुलनामा अर्को देशमा केही भिन्न हुन्छ । यसमा विभिन्न फ्याक्टरहरुले असर पार्न विज्ञले बताएका छन् ।

कति हुन्छ कमिसन ?

जीवन बीमा गराउँदा हाल अभिकर्ताहरुले १० वर्षसम्म कमिशन पाउने व्यवस्था छ । २० वर्षे अवधिको जीवन बीमा गर्दा पहिलो र दोस्रो वर्ष अभिकर्ताले २५/२५ प्रतिशत कमिशन पाउँछन् ।

तेस्रोदेखि १० औं वर्षसम्म अभिकर्ताले बिमांक रकमको ५ प्रतिशतका दरले कमिशन पाउँछन् ।

१५ वर्ष अवधिको जीवन बीमा गराउदा अभिकर्ताले पहिलो वर्ष २५ प्रतिशत कमिशन पाउछन् । यस्तै, दोस्रो वर्ष १५ प्रतिशत कमिशन पाउने व्यवस्था छ ।

तेस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिशन पाउछन् । अभिकर्ताले पाउने कमिशनमा १५ प्रतिशत कर लाग्छ ।

बीमा अभिकर्ता संख्या

नेपालमा बीमा अभिकर्ताहरुको संख्या ५ लाखको हाराहारीमा भएको बताइन्छ । तर, सक्रिय अभिकर्ताको संख्या १ लाख २१ हजार ९ सय १३ रहेको बीमा समितिले जानकारी दिएको छ ।

2 comments on "जीवन बीमामा अभिकर्ता किन राख्ने ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.