
काठमाडौं । १० अर्ब रुपैयाँ लगानीमा नयाँ बीमा कम्पनी खुल्ने भएको छ । नयाँ कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड प्रस्ताव गरिएको छ ।
१० अर्ब रुपैयाँमा प्रवद्र्धकको लगानी ७ अर्ब ५० करोड र सर्बसाधारणको लगानी २ अर्ब ५० करोड राख्ने प्रस्ताव गरिएको छ । जहाँ प्रवद्र्धकको हिस्सा ७५ प्रतिशत र सर्बसाधारणको हिस्सा २५ प्रतिशत हुनेछ ।
नयाँ कम्पनीमा नेपाल सरकारले १ अर्ब, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यवसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।
नयाँ कम्पनी खोल्न डा. उपेन्द्र महत्तो, उनका भाई डा. बीरेन्द्र महत्तो, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल लगायत व्यक्तिहरु सक्रिय रहेका छन् भने कानुनी प्रक्रियाको काम शंकर ल र्फमले गरिरहेको छ ।
‘अहिले पुँजी जुटाउन प्रतिवद्धता लिईरहेका छौं । प्रस्तावित लगानीकर्ता उत्साहित पाएका छौं । पहिला कम्पनी दर्ता गरेर लाइसेन्सको लागि बीमा समितिमा जान्छौं’ स्रोतले भन्यो ।
‘नयाँ कम्पनी खुल्ने तयारी भएको हामीले अनौपचारिक रुपमा सुनेका छौं । औपचारिक रुपमा निवेदन आएको छैन’ बीमा समिति सम्बद्ध स्रोतले भन्यो ।
सरकारले भौगोलिक र क्षेत्रगत हिसावले बीमा सेवा विस्तार गर्न चाहेको, अर्थतन्त्रको विस्तार, व्यवसायिक गतिविधिको विस्तारसँगै बीमा सेवाको विस्तार हुँदै गएको, पुनर्बीमाको लागि ९५ प्रतिशत निर्भरता विदेशी कम्पनीमा रहेकोले नयाँ पुनर्बीमाको सम्भावना रहेको प्रस्तावित व्यवसायिक योजनामा उल्लेख गरिएको छ । प्रस्तावमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिने उल्लेख गरिएको छ ।
सरकार नयाँ कम्पनीको पक्षमा
स्रोतमा अनुसार अर्थमन्त्रालय नयाँ पुर्नबीमा कम्पनी खोल्ने पक्षमा रहेको छ । गत जेठ १ गते बीमा समितिको ५२ औं वार्षिकउत्सवको भच्र्युअल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले पुनर्बीमा सेवा विस्तारको लागि नयाँ कम्पनी पनि खोल्न सकिने बताएका थिए । साेही दिन उनले नेपाल पुर्नबीमा कम्पनीले सेवा विस्तार गर्न नसके नयाँ कम्पनी खाेलेर जाने पनि बीमा समितिलाई निर्देशन दिएका थिए ।
भिडियो हेर्नुहोस् ।
बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा यसो भनेका थिए अर्थमन्त्रीले
Gepostet von Bikashnews.com am Freitag, 19. Juni 2020
यसअघि बीमा समितिले तयार गरेको पुर्नबीमा पोलिसीको प्रस्तावलाई पनि अर्थमन्त्रालयले संशोधन गर्न निर्देशन दिएको थियाे । ‘हामीले पुर्नबीमा पोलिसी बनाएर अर्थमन्त्रालयलाई पठाएका थियौं । त्यसमा नयाँ पुर्नबीमा कम्पनी आएको अवस्थामा उसका गतिविधिलाई पनि सम्बोधन गर्ने खालको बनाउनु भन्ने निर्देशन आयो । हामीले निर्देशन अनुसार परिमार्जन गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाएका छौं’ बीमा समिति सम्बद्ध स्रोतले भन्यो ।