यी हुन् विदेश जाँदा र फर्किँदा छुट पाइने वस्तु

काठमाडौं । सरकारले नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु तोकेको छ । 

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका वस्तुमा महसुल नलाग्ने व्यवस्था गरेको छ ।

यस्तै, तोकिएको परिमाणसम्म सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना, आफूले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक एक थान पनि महसुस नतिरेरै ल्याउन सक्नेछन् । तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने उल्लेख छ ।  

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई लगातार कम्तीमा बाह्र महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको पैंसट्टी इञ्चसम्मको टेलिभिजन एक थान ल्याउन सकिने छ । तर, उल्लेखित सुविधा अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ ।

यस्तै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको आफ्नो पेशासँग सम्बन्धित वस्तुहरू एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, क्रिकेट सेट, गायक तथा सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता वस्तु), सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्मको एक बोतलमा महसुल लाग्ने छैन ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले उल्लिखित वस्तु आफैं उपस्थित भई भन्सार जाँचपास गराउने गरी आफू आउनु भन्दा अघि वा पछि हुलाक पुलिन्दा, कार्गो वा अन्य माध्यमबाट पठाउन सक्नेछ । 

यस्तै, नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो, घडी, अभििगभिच मोबाइल फोन एक एक थान, लुगाफाटा, जुत्ता, कष्मेटिक्स जस्ता वस्तु बढीमा पाँच पाँच थान, घरायसी प्रयोगका विद्युतीय उपकरण (जस्तै– मिक्सर, जुसर, सिलाई मेशिन, इस्त्री, राइस कुकर जस्ता वस्तु) बढीमा दुई दुई थान, दश किलोग्रामसम्म खाद्य परिकार र डाक्टर, इञ्जिनियर, खेलाडी जस्ता पेशागत यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने वस्तु बढीमा दुई दुई थान महसुल तिरेर ल्याउन सक्नेछन् । 

यस्तै, छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म, एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चिस हजार रुपैयाँसम्मका वस्तु आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा देहाय बमोजिमको मूल्यसम्ममा लाग्ने महसुल पूर्ण रूपमा छुट दिई त्यस्तो वस्तुको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ । 

तर छुट सीमाभन्दा बढी मूल्यको वस्तु भएमा बढी मूल्यमा प्रचलित कानून बमोजिम महसुल लाग्ने उल्लेख छ । 

सोह्र वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछन् । विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उल्लेखित वस्तुमध्ये अमेरिकी डलर पाँच सयसम्मको वस्तु पठाएमा प्रमाण हेरी लाग्ने महसुल लिई जाँचपास गर्न सकिनेछ । 

अमेरिकी डलर पाँचसय भन्दा बढी मूल्यको वस्तुलाई न्यून मूल्य देखाई पठाएको पाईएमा त्यस्तो वस्तु जफत गर्न वा उल्लिखित सीमा भन्दा बढी भएको मूल्य बराबरको रकम जरिबाना र लाग्ने महसुल लिई जाँचपास गर्न सकिने व्यवस्था छ । 

चुरोट दुई सय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म प्रचलित कानून बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने, भारतीय सेना वा प्रहरीबाट निवृत्तभरण पाउने गरी सेवानिवृत्त भई स्वदेश फर्केको व्यक्तिले आफ्नो निवृत्तभरणको कागजात पेश गरेमा अभिलेख रहने गरी एक पटकको लागि पचास हजार रुपैंयाँसम्मको निजी प्रयोगका घरायसी वस्तुहरुमा (सवारी साधन, हातहतियार, खरखजाना एवं अन्य प्रतिबन्धित वस्तुहरु बाहेक) सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ । 

कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका वस्तुहरु (सवारी साधन, हातहतियार, खरखजाना एवं अन्य प्रतिबन्धित वस्तुहरू बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ । 

विदेश जाने नेपाली यात्रुका लागि विदेश जाँदा आफ्नो प्रयोगका लागि लैजाने सौगातको रुपमा प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका पचास हजार रुपैयाँ मूल्यसम्मका वस्तुमा महसुल नलाग्ने व्यवस्था गरिएको छ । तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा यस उपदफा बमोजिमको मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख छ ।

सम्बन्धित वायुसेवाले यात्रुलाई साथै लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका वस्तुहरु लैजान चाहेमा आवश्यक कागजातहरु पेश गरी कानून बमोजिमको शुल्क र महसुल तिरी लैजान पाउनेछन् भने यसरी वस्तु लैजाँदा अग्रिम भुक्तानीको प्रमाण वा प्रतीतपत्र आवश्यक नपर्ने उल्लेख छ । 

नेपाली यात्रुले पाउने सुविधा

गैरआवासीय नेपाली यात्रुले आफू गैरआवासीय नेपाली भएको प्रमाण पेश गरेमा उडानमा गएका वायु सेवाका चालक दलका सदस्य (क्रु मेम्बर) ले आफ्नो प्रयोगमा रहेका निजी वस्तु बाहेक अन्य कुनै वस्तु ल्याउन नपाउने व्यवस्था गरिएको छ । 

स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ । यसअघि १०० रुपैयाँसम्मको व्यवस्था थियो । 

यस्तै, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल नलाग्ने व्यवस्था गरिएको छ । 

विदेशी यात्रुले पाउने छुट 

अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले आफ्नो साथमा ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) बाइनाकुलर (दूरविन) एक वटा, ट्याबलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा एक एक वटा,  पोर्टेवल म्युजिक सिष्टम एक सेट, लुगाफाटा, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना वस्तुहरू, पेराम्बुलेटर र ट्राइसाइकल एक एक वटा, साइकल एक वटा, घडी एक वटा र सेलुलर मोबाइल फोन एक वटा ल्याउन पाउनेछन् । 

यस्तै, पेशाकर्मीले आफूले गरिआएको काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा एक सेट, डाक्टर वा वैद्यले आफ्नो पेशा अनुसारको काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजार र औषधि तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय वस्तु, गायक वा सङ्गीतकारले ल्याएको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक वस्तु, खेलाडीले आफूले खेल्ने खेलसँग सम्बन्धित वस्तु,  माछा मार्ने रड, पावर बैङ्क एक वटा ल्याउन पाउने छन् । 

उल्लिखित वस्तुका अतिरिक्त प्रचलित कानून बमोजिम निकासी वा पैठारी गर्न निषेध वा नियन्त्रण गरिएका र व्यापारिक प्रयोजनका वस्तु बाहेक विदेशी यात्रुले निकासी वा पैठारी गर्ने अन्य वस्तुहरु भन्सार प्रमुखले औचित्य हेरी बिना महसुल वा कानून बमोजिम लाग्ने महसुल लिई ल्याउन र लैजान दिन सक्ने व्यवस्था छ । 

राहदानी लिई आउने जाने विदेशी यात्रुले मदिरा एक लिटरसम्मको बोतल एक वा बियर बाह्र क्यानसम्म, चुरोट दुई सय खिल्ली, सिगार पचास खिल्ली, टोबाको दुई सय पचास ग्रामसम्म, दश हजार रुपैयाँ मूल्यसम्मका औषधि (प्रचलित कानून बमोजिम पैठारी गर्न निषेध गरिएका बाहेक), पाँच हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा (टिन प्याक समेत) र दुई हजार रुपैयाँ मूल्यसम्मका ताजा फलफूल ल्याउन पाउनेछन् । 

विदेशी यात्रुले नेपालबाट लैजान सक्ने सौगातको हकमा निजले नेपालमा विदेशी मुद्रा सटही सम्बन्धी कारोबार गर्ने बैंक वा त्यस्तो विदेशी मुद्रा सटही गर्न तोकिएको अधिकृत डिलरसँग विदेशी मुद्रा सटही गरेको प्रमाणित हदसम्म नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका वस्तु बिना इजाजतपत्र लैजान वा पठाउन सक्नेछन्। 

विदेशी यात्रुले उल्लिखित वस्तुका अतिरिक्त नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध गरिएका बाहेकका पाँच लाख रुपैयाँसम्मका वस्तु आफूसाथ लैजान वा पठाउन सक्नेछन् ।

तर मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा यस उपदफा बमोजिमको मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख गरिएको छ । 

हवाईमार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले पाँच हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउनेछ। सो भन्दा बढी ल्याउनु परेमा भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्था गरिएको छ । 

कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै वस्तु लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा यस सूचनाको प्रतिकूल हुने गरी कुनै वस्तु ल्याउन र लैजान खोजेमा त्यस्तो वस्तु जफत गरी प्रचलित कानून बमोजिम कारबाही गरिने उल्लेख छ । 
 

Share News