सरकारलाई एफएनसीसीआईले भन्योः अहिले कर तिर्न सकिँदैन, असार मसान्तसम्म थप्नु पर्यो

  २०७७ जेठ २० गते १८:३४     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले कर तिर्ने समय थप गरिदिन माग गरेको छ । महासंघले मंगलबार अर्थमन्त्रालयमा एक पत्र जारी गर्दै कर विवरण एवं कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न माग गरेको हो ।

सरकारले मंगलबार सूचना जारी गर्दै कर जेठ २५ गतेभित्र तिर्न उर्दी जारी गरेको र समयमै कर नतिरे जरिवाना लगाउने चेतावनी दिएपछि महासंघले सो अवधिमा कर तिर्न नसकिने पत्र मार्फत जानकारी गराएको छ ।

‘कोभिड-१९ को कारणले २०७६ चैत्र ११ गतेदेखि मुलुक लगातार लकडाउनमा भएकोले अति आवश्यक केही उद्योग, व्यापार तथा व्यवसाय बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय र निर्माण कार्य लगायत आर्थिक गतिविधि ठप्प प्रायः रहेको छ,’ महासंघले उक्त पत्रमा भनेको छ ।

महासंघले आर्थिक वर्षको बजेटले पनि मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको अवस्था रहेको स्मरण गराउँदै यस्तो अवस्थामा आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरण लगायत आपूर्ति प्रणाली समेत अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको पत्र मार्फत जानकारी गराएको छ ।

त्यसैले कर विवरण र कर रकम हाल बुझाउन कठिन भएको कारण लिखित एवं मौखिक रुपमा बारम्बार असमर्थता व्यक्त गर्नु परेको महासंघले बताएको छ । महासंघले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद २०७७ असार मसान्तसम्म थप गरी सबै उद्यमी व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त औद्योगिक एवं व्यवसायिक वातावरण निर्माणमा सहयोग गरिदिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.