निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र

  २०७६ माघ २६ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा चुनावी ध्रुवीकरण शुरु भएको छ । पदाधिकारीको उम्मेदवारबारे यसै साता अन्तिम टुंगो लाग्दैछ ।

विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छ स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालबीच चुनाव हुँदैछ । ढकालले यसअघि नै गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रधानले फागुन १ गते विराटनगरबाट उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

धेरैले किशोर प्रधानले अन्तिममा उम्मेदवारी फिर्ता लिने अनुमान गरिरहेका छन् । तर प्रधानले आफूले निर्वाचनको तयारी गरिरहेको र फागुन १ गते विराटनगरबाट उम्मेदारी घोषणा गर्न लागेको बताए ।

महासंघको जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा गुणनीधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आधिकारिक रुपमा दुबैले उम्मेदवारी घोषणा गरेका छैनन् तर भोट माग्दै दुबै जना चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् ।

प्रदेश ५ का अध्यक्ष तिवारी झण्डै एक महिनाअघि चुनावी अभियानमा सक्रिय थिए भने उनका प्रतिस्पर्धी स्पष्ट भएको थिएन । काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष तथा वाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले पनि आफू जिल्ला नगर समूहको उपाध्यक्षको दावेदारी सहित चुनावी अभियान शुरु गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालको समूहबाट तिवारीले उम्मेदवारी दिदै छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानको समूहबाट श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् । महासंघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष पछि जिल्ला नगर समूहको उपाध्यक्ष बलियो र तेस्रो बरियताको पद हो ।

बस्तुगत समूहको उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । अञ्जन हाल महासंघको उद्योग समितिको सभापति हुन् भने श्रेष्ठ वस्तुगत समूहको वर्तमान उपाध्यक्ष हुन् । अञ्जन किशोर प्रधानको टिमबाट उम्मेदवार बन्दैछन् भने उमेशलाल चन्द्र ढकालको टिमबाट उम्मेदवार बन्दैछन् ।

एशोसिएट समूहको उपाध्यक्षमा भने हालसम्म सौरभ ज्योतिको मात्र नाम सार्वजनिक भएको छ । ज्योति सर्वसहमत हुने सम्भावना बढी देखिन्छ भने अर्को उम्मेदवार पनि आउन सक्ने अनुमान छ ।

आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो बढेको छ । महासंघको चुनावमा व्यवसायीको मात्र होइन, सर्वसाधरण तहमा पनि चासो बढ्ने गरेको छ ।

ढकाल र प्रधानले आ-आफ्नो टिम बनाउने कसरत गरिरहँदा चुनावमा ढकाल र प्रधान पक्षका समर्थक बीच ध्रुवीकरण पनि बढेको छ । ढकाललाई वर्तमान अध्यक्ष भवानी राणाले साथ दिएकी छिन् भने प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साथ दिएका छन् । पूर्व अध्यक्ष पशुपति मुरारका प्रधानको पक्षमा खुलेर लागेका भने पूर्व अध्यक्ष चण्डिराज ढकाल चन्द्र ढकालको पक्षमा खुलेर चुनावमा होमिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.