हेटौंडा–काठमाडौं यात्रा अब तारमै, ९४ वर्षअघिको रज्जुमार्ग पुनः संचालनको गृहकार्य

  २०७६ माघ १३ गते १८:४२     राजाराम न्यौपाने

काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं रज्जुमार्ग (रोप–वे) पुनः संचालनको गृहकार्य थालेको छ । मकवानपुरको भैसेस्थित सबस्टेसनमा समस्या आएपछि २०५६ सालदेखि बन्द भएको रोप–वे २० वर्षपछि पुनः संचालनको गृहकार्य सुरु भएको हो ।

समान मात्रै बोक्न प्रयोग भएको रोप–वेमा अब हेटौंडादेखि काठमाडौंसम्म मानिसले पनि यात्रा गर्न सक्नेछन् । रोप–वेमार्फत मानिसले पनि आवत जावत गर्न सक्ने गरी पुनः संचालनको गृहकार्यमा प्रदेश सरकार लागेको हो ।

रोप–वे पुनः सञ्चालन गर्न लगिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । हेटौंडालाई काठमाडौंसगँ जोड्ने राम्रो मार्ग भएकोले पुनः संचालनका लागि बागमती प्रदेश सरकारले अग्रसरता देखाएको हो ।

प्रदेश सरकारले अहिले रोप–वेको अवस्था अध्ययन गरिरहेको छ । अध्ययनपछि पुनः संचालनका लागि गरिनु पर्ने कामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । डीपीआर तयार भएपछि मात्रै रोप–वे बनाउन कति खर्च लाग्छ भन्ने जानकारी प्राप्त हुने मन्त्रालयको भनाइ छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ सालमा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा रोप–वे लाइन बनाएका थिए । यही रोप–वेमार्फत धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी हुने गरेको थियो ।

गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका अन्न, मेसिनरी जस्ता सामग्री डिब्बामा लोड गरिन्थे । यो रोप–वे २०५६ सालसम्म चलिरह्यो । हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका सामान यो रोप–वे भएर काठमाडौं ल्याइन्थ्यो ।

तर, विभिन्न ठाउँमा हुकिङ गरेर सामान चोर्ने समस्या थपिदै गयो । यो रोप–वेले सुरुआतमै प्रतिघन्टा ८ टन सामान बोक्थ्यो । पछि विस्तार गरेर हेटौंडासम्म पुर्याइएपछि यसले घण्टामा २२ देखि २५ टनसम्म सामान बोक्न सक्ने भएको थियो ।

यो रोप–वेलाई जुद्धसम्शेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए । २०११ सालमा बाढीले धोर्सिङको पावर हाउसमा क्षति पुग्यो । अनि रोप–वे बन्द भयो । त्यसपछि सरकारले पहिलो पञ्चवर्षीय योजनामा यो रोप–वे विस्तारको योजना बनायो । २०१६ सालबाट काम थालियो । अमेरिकी सरकारको सहयोगमा ६४ लाख डलर खर्च गरेर रोप–वे विस्तार गरिएको थियो । रोपवेको लम्बाई थपिएर ४२ किलोमिटर भयो । त्यस बेला प्रतिकेजी प्रतिकिलोमिटर ५ पैसाका दरले ढुवानी भाडा तोकिएको थियो ।

२०५४ सालमा रोपवेको भैंसेस्थित सबस्टेसनमा समस्या आयो । ट्रान्सर्फमर बिग्रियो । मर्मत गर्न करिब ५ लाख रुपैयाँ आवश्यक देखिएको थियो । तर, सरकारले खर्च गरेन । बन्द भयो ।

बन्द भएका दिनमा चलिरहेका डिब्बा जहाँ जहाँ आइपुगेका थिए, आज पनि त्यहीँ अड्किएर झुण्डिरहेका छन् । देशमा ऊर्जा संकट सुरु भएपछि त झन् यसलाई सञ्चालन गर्नेबारे कसैले ध्यान नै दिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०५९ सालमा रोप–वे सधैका लागि बन्द गर्ने निर्णय भयो ।

मित्रराष्ट्रले आर्थिक सहयोग गरेर बनाइएको ऐतिहासिक हेटौडा– काठमाडौ रोप–वेको एउटा सानो मेसिन मर्मतसम्भार गर्न नसक्दा बन्द मात्र भएन, करोडौंका उपकरण र सामग्रीहरुसमेत आजसम्म बेवारिसे छन् ।

४२ किलोमिटर लामो रोप–वेका सात स्टेशनमध्ये दुई ठाउँमा मात्र सुरक्षागार्ड थिए । रोप–वेको हेटौंडा, भैसे, भीमफेदी, गोल्फिङ, जुरिखेत, नयाँगाउँ र थाक्सिङमा स्टेशन थियो भने काठमाडौंको किसीपिढी हुँदै तत्कालिन टेकु भन्सारसम्म रोप–वे सञ्चालन हुने गर्दथ्यो ।

त्रिभुवन राजपथ (बाईरोड) नबन्दासम्म तराई–मधेश तथा नेपालको पूर्वी क्षेत्र र भारत तथा तेश्रो मुलुकबाट काठमाडौंसम्म मालसामान ढुवानीको लागि यो रोप–वे एउटा राम्रो र भरपर्दाे माध्यम थियो ।

सरकारी निर्णयका कारण खारेज हुन पुगेको रोपवेको सामग्री धमाधम चोरी हुन थालेको छ । उचित संरक्षण हुन नसकेको रोपवेको उपकरण र सामानहरु चोरी भइरहेका छन् । २०५६ सालदेखि बन्द रोपवेको सामान हेरचाह गर्ने पर्याप्त कर्मचारी नहुदा उपकरण चोरी हुने गरेको हो ।

पहिला हेटौडा–काठमाडौं सामान ढुवानीको लागि रोप–वेमा ८ घण्टा समय लाग्थ्यो । अहिले नयाँ प्रविधि आएको छ । त्यसैले त्यति धेरै समय लाग्दैन भन्ने बागमती प्रदेश सरकारको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.