राष्ट्र बैंकमा सकसः ६ माघसम्म डेपुटी गभर्नर नियुक्त नगरे श्रेष्ठलाई सफाइ दिने वा खाली राख्ने मात्रै विकल्प

  २०७६ पुष २० गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठले पदीय आचरण अनुसार काम नगरेको अभियोगमा बर्खास्ती प्रक्रिया अघि बढेसँगै नयाँ डेपुटी गभर्नर कसलाई बनाउने भन्ने विकल्प ज्यादै कम देखिएको छ ।

सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै छानविन समिति बनाएको थियो । राष्ट्र बैंक संचालक समिति सदस्य प्राडा श्रीराम पौडेलको संयोजकत्वमा गठिन समितिले श्रेष्ठलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको थियो । पौडेल समितिले गरेको सिफारिस अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन छ ।

समितिको सिफारिस अनुसार सरकारले कारबाही गरेमा श्रेष्ठ पदमुक्त हुनेछन् । यस्तो अवस्थामा अर्काे डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने हुन्छ । श्रेष्ठको स्थानमा नियुक्त हुने डेपुटी गभर्नरले बाँकी कार्यकाल अर्थात अबको करिब १३ महिना कार्यकाल सम्हाल्ने छन् ।

राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार एक कार्यकाल डेपुटी गभर्नर भइसकेको व्यक्ति फेरि सोही पदमा नियुक्तिको लागि योग्य हुदैन । त्यसैकारण अहिले डेपुटी गभर्नर बनेका व्यक्तिले करिब १३ महिना मात्रै डेपुटी गभर्नर बन्न पाउने छन् ।

राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाउने परिकल्पना गरेको छ । तर, अहिले राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ आगामी ६ माघदेखि अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउने एक महिना अघि अनिवार्य विदा बस्ने प्रचलनका कारण निरौला र श्रेष्ठ दुबै जना विदामा छन् ।

यसमध्ये श्रेष्ठ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट मानिन्छ । निरौला भने सत्तारुढ नेकपा निकट कर्मचारी हुन् । त्यसैकारण अहिले विदामा बसेका कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाउँदा निरौला एकमात्र प्रत्यासी जस्तै हुन् ।

तर, निरौलाई डेपुटी गभर्नर बनाउन सरकारले ६ माघअघि नै नियुक्त गरिसक्नुपर्छ । सो समयमभित्रमा नियुक्ति भएन भने वरिष्ठतम छान्दा कार्यकारी निर्देशक भुवन कँडेलको पालो आउनेछ । डेपुटी गभर्नर बन्न योग्य अर्का कार्यकारी निर्देशक सुनिल उदासले पनि फागुनदेखि अनिवार्य अवकाश पाउँदै छन् । उदास पनि काँग्रेस निकट मानिन्छन् ।

तर, कडेलले अझै ५ वर्षभन्दा बढी समय कार्यकारी निर्देशकको रुपमा काम गर्न पाउने भएकोले आफूलाई डेपुटी गभर्नर नबनाइदिन शक्ति केन्द्र धाउदै छन् । गभर्नर डा. चिरन्जीबी नेपाल र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई पटक पटक भेटेर आफूलाई डेपुटी गभर्नरमा सिफारिस नगरिदिन कँडेलले अनुरोध गर्दै आएका स्रोतले वतायो ।

‘पहिला मलाई डेपुटी गभर्नर बनाइदिनु पर्यो भन्दै कार्यकारी निर्देशकहरु जसरी शक्तिकेन्द्र धाउने गर्नुहुन्थ्यो, अहिले त्यसरी नै मलाई सिफारिस नगरिदिनुस् भन्दै शक्तिकेन्द्र धाउन थाल्नुभएको छ, केही कार्यकारी निर्देशक त आफूलाई डेपुटी गभर्नर नियुक्त गरिए पनि सरकारी नियुक्ति लिन्न बाध्य हुनुपर्दैन भनेर नियुक्ति नलिने सोँचमा पनि हुनुहुन्छ,’ स्रोतले भन्यो ।

किन चाहदैनन् डेपुटी बन्न ?

राष्ट्र बैंक ऐनका अनुसार डेपुटी गभर्नरमा नियुक्त भएकै दिनदेखि राष्ट्र बैंकको कर्मचारीबाट स्वतः अवकाश पाएको मानिन्छ । राष्ट्र बैंकको कर्मचारीमा १८ वर्ष काम गरेपछि मात्रै पेन्सन पाइन्छ । तर, अहिलेका अधिकांश कार्यकारी निर्देशकको जागिरे अवधि १८ वर्ष पुगेको छैन । त्यसैले उनीहरुमध्ये कसैलाई पनि डेपुटी गभर्नर नियुक्त गरिए उनीहरुले पेन्सन पाउने छैनन् ।

जीवनभर जागिर गरेको संस्थाबाट पेन्सन नपाउने गरी अवकाश हुन कुनै पनि कार्यकारी निर्देशक तयार छैनन् । त्यसैकारण उनीहरु डेपुटी गभर्नर नबनाइदिनको लागि शक्तिकेन्द्रको शरणमा पुगेका हुन् । राष्ट्र बैंकमा १८ वर्ष काम गरेर अवकाश पाएको कार्यालय सहयोग तथा सवारी चालकले मात्रै पनि मासिक ५० हजार रुपैयाँको हाराहारीमा पेन्सन पाउँछन् ।

यसअघि तत्कालीन कार्यकारी निर्देशक बीरविक्रम रायामाझीलाई डेपुटी गभर्नर बनाउँदा पनि यस्तै भएको थियो । उनको जागिर अवधि १७ वर्षमात्रै भएको थियो । यस्तो परिस्थितिमा नै रायामाझी डेपुटी गभर्नर बनेका थिए । उनले पेन्सन नपाउने भएपछि राष्ट्र बैंक संचालक समितिले विशेष निर्णय गरेर उनले पेन्सन पाउने निर्णय गरेको थियो । तर, सो विषय अख्तियारमा उजुरी परेपछि रायामाझीले लिएको पेन्सन नै फिर्ता गर्नुपरेको थियो । रायामाझीले अहिले राष्ट्र बैंकबाट पेन्सन पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.