हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ

  २०७६ पुष १५ गते १०:३३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले थप निष्कासन (एफपीओ) जारी गरेमा प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा हुने भएको छ । धितोपत्र वोर्डले गरेको नीतिगत व्यवस्थाको कारण प्रतिकित्ता मूल्य २ सय रुपैयाँ देखिएको हो ।

धितोपत्र वोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को नियम ३७ मा सूचिकृत संस्थाहरुले प्रिमियम मूल्यमा एफपीओ जारी गर्न चाहेमा पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियमसहितको मूल्य निर्धारण गर्नुपर्ने भनिएको छ ।

‘सूचिकृत संगठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न चाहेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको विवरण अनुसार प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियमसहितको मूल्य निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकाको नियम ३७ मा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन निर्देशन दिएको छ । यसो भएमा हिमालयन बैंकसँग २ विकल्प हुनेछन् । एउटा विकल्प भनेको १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भन्ने हो । दोस्रो विकल्पको रुपमा बैंकले थप निष्काशन (फर्दर पब्लिक अफरिङ–एफपीओ) जारी गर्न सक्छ ।

हिमालयनले एफपीओ जारी गरेमा २ अर्ब १ करोड बराबरको जारी गर्नुपर्ने हुन्छ । बैंकमा हाल सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । हाल बैंकले घोषणा गरेको १० प्रतिशत बोनस पछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।

सर्वसाधारणको हिस्सा ३० प्रतिशत पु¥याउन बैंकलाई थप २ अर्ब १ करोडको पुँजी आवश्यक पर्छ । बैंकले एफपीओ जारी गरेमा पुँजी ११ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार विदेशी लगानी वा संयुक्त लगानीका बैंकको पुँजी राष्ट्र बैंकले समय समयमा तोक्न सक्छ । एकिकृत निर्देशन २०७६ अनुसार बैंकहरुले कुनै कारणले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन छुट पाएको भए विदेशी लगानी बाहिरिएर नेपाली लगानीकर्ता वा संस्थाले त्यस्तो सेयर खरिद गरेमा सो स्वामित्व अनुपात पु¥याउनु पर्ने भन्ने उल्लेख छ ।

त्यस्तै, प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने भएमा बैंकले लेखा परीक्षण भएको वित्तीय विवरणमा उल्लेख भएको प्रतिसेयर नेटवर्थभन्दा बढि नहुने गरि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा भने अलग्गै विधि अपनाउन सकिने व्यवस्था छ । एफपीओ जारी गर्ने भएमा बैंकले करीब १ सय ७४ देखि १ सय ८८ रुपैयाँसम्म मूल्य कायम गर्नुपर्ने देखिन्छ । २०७४÷७५ को बार्षिक वित्तीय विवरण अनुसार बैंकको नेटवर्थ १ सय ७४ र गत आवको चौथो त्रैमाशको वित्तीय विवरण अनुसार १ सय ८८ रुपैयाँ नेटवर्थ छ । गत आवको लेखा परीक्षणसहितको वित्तीय विवरणले भने मूल्यमा समान्य परिवर्तन हुन सक्छ ।

हिजो (१४ पुस) सो बैंकको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.